चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनासम्म मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम पाँच खर्ब एक अर्ब रूपैयाँले धेरै भएको छ।
यसलाई भुक्तानी सन्तुलन तथा शोधानान्तर बचत समेत भनिन्छ।
२०८१-८२ को ६ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ४९ अर्ब रूपैयाँले धेरै थियो।
मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो।
आर्थिक वर्ष २०७८-७९ को असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा आउन थालेको हो।
रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ।
यसको अनुपातमा आयातमा सामान्य मात्रै सुधार देखिएको कारण पनि भुक्तानी सन्तुलन देखिएको हो।
आयात बढेपनि चालु खाता चार खर्ब २९ अर्ब रूपैयाँ नाफामै रहेको छ।
गत आर्थिक वर्षको यो अवधिमा भने नाफा एक खर्ब ६५ अर्ब रूपैयाँ थियो।
वार्षिक आधारमा सात वर्षपछि आर्थिक वर्ष २०७९-८० बाट मुलुकको चालु खाता नाफामा देखिन थालेको हो।
यस्तो खाता आर्थिक वर्ष २०७३-७४ देखि नोक्सानमा रहँदै आएको थियो।
चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ।