मंगलबार सेयर बजार परिसूचक नेप्सेमा २३.८३ अंकको सुधार भयो। नेप्से २९६० विन्दुमा पुग्यो।
बजार अन्तिम समयमा भने सिधा रेखाले वृद्धि भयो। २९४७ विन्दुबाट एकै पटक २९६० सम्म पुग्यो।
यसरी नेप्से एकोहोरो सिधा बढ्नुमा केले काम गर्यो त?
सेयर विश्लेषक अजित खनालका अनुसार मंगलबार अन्तिम मिनेटमा १३४३ कित्ता बिबिसी (विशाल बजार कम्पनी) को कारोबारसँगै सर्किट लागेर बजार बन्द हुँदा बिबिसीले मात्र बजारका लागि १२ अकंको योगदान गरेको थियो।
'२३.८३ अंकले बजार बढ्दा विशाल बजारले मात्रै नेप्से बढाउन १२ अंकको योगदा गरेको हो,' उनले भने।
बिबिसी एउटै कम्पनीको सेयरले के बजारमा यति धेरै प्रभाव पार्छ?
अहिले बजारमा रहेको सबैभन्दा ठूलो कम्पनी नै विशाल बजार हो। बजार पुँजीकरणका आधारमा यो सबभन्दा ठूलो कम्पनी हो।
कम्पनीको बजार पुँजीकरण भनेको कम्पनीको सो दिनको मूल्यको आधारमा कम्पनीका सूचीकृत सेयरको कुल मूल्य हो।
नेप्सेको बजार पुँजीकरण भनेको नेप्सेमा सूचीकृत सबै कम्पनीहरूको सेयरको कुल मूल्य हो।
नेप्सेले प्रकाशन गरेको फागुनको तथ्यांक अनुसार विशाल बजारको बजार पुँजीकरण सबभन्दा धेरै, एक खर्ब ८९ अर्ब रूपैयाँको थियो।
दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी थियो। पुनर्बीमा कम्पनीको एक खर्ब ६७ अर्ब र तेस्रो रहेको नेपाल टेलिकमको एक खर्ब ५९ अर्ब रूपैयाँको थियो।
मंगलबार विशाल बजारको २ खर्ब १२ अर्ब, नेपाल पुनर्बीमाको एक खर्ब ७२ अर्ब र नेपाल टेलिकमको एक खर्ब ६४ अर्ब रूपैयाँ छ।
अहिले पनि बजारमा रहेको सबैभन्दा ठूलो कम्पनी विशाल बजार नै भएकामा दुई मत रहेन। तर फेरि पनि प्रश्न उठ्छ — के एउटै कम्पनीको प्रभाव बजारमा रहन्छ त?
एक पटक इतिहासमा फर्किऔं।
केही वर्षअघिसम्म पनि बजार बढाउन एउटै कम्पनीको प्रभाव हुन्थ्यो। उदाहरणका लागि, बजार सामान्य अवस्थामा रहँदा नेपाल टेलिकमको सेयर मूल्यमा हुने तीन रूपैयाँको वृद्धिले बजार एक अंकसम्म बढाउन सक्थ्यो।
त्यसैले बजार लगभग स्थिर अवस्थामा बन्द हुन लाग्दा टेलिकमको मूल्य केही बढाएर पनि बजार हरियो देखाउने प्रयास टाठाबाठा लगानीकर्ताहरूबाट हुन्थ्यो।
पछि बजारमा धेरै कम्पनी थपिँदै गर्दा नेपाल टेलिकमको यस्तो प्रभाव कम हुन थाल्यो। वाणिज्य बैंकहरूको चुक्ता पुँजीमा भएको वृद्धिले पनि यो प्रभाव क्रमशः कम हुँदै गयो।
अहिले भने धेरै पुँजी भए पनि वाणिज्य बैंकहरूको मूल्य निकै कम छ। मूल्य कम हुँदा वाणिज्य बैंकहरूको बजार पुँजीकरण पनि कम नै भएको छ।
सबभन्दा ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण ९९ अर्ब रूपैयाँ छ। ग्लोबल आइएमई बैंकको सेयर मूल्य दुई सय ६० रूपैयाँ छ।
वाणिज्य बैंकहरूमा सबभन्दा धेरै मूल्य हुनेमा एभरेस्ट बैंक छ। यसको मूल्य ७१५ रूपैयाँ र बजार पुँजीकरण ९८ अर्ब रूपैयाँ छ।
बजारमा प्रभाव पार्न मूल्य उच्च हुनुपर्छ भने सूचीकृत सेयर पनि धेरै हुनुपर्छ।
उदाहरणका लागि युनिलिभर कम्पनीलाई हेरौं।
यसको सेयर मूल्य बजारमा सबभन्दा धेरै छ। प्रतिकित्ता ४६ हजार ३११ रूपैयाँ रहेको यसको ९ लाख २० हजार कित्ता सेयर सूचीकृत छ। यही कारण यसको बजार पुँजीकरण ४२ अर्ब रूपैयाँ मात्र छ।
विशाल बजारको भने सेयर मूल्य र सूचीकृत सेयर धेरै छ। मंगलबार विशाल बजारको सेयर मूल्य कित्ताको पाँच हजार २९९ रूपैयाँ रह्यो। चार करोड एक लाख कित्ता सेयर रहेको यसको बजार पुँजीकरण २ खर्ब १२ अर्ब रूपैयाँ छ।
एकै दिन यसको सेयर मूल्य प्रतिकित्ता ४७८ रूपैयाँ बढ्दा चार करोड एक लाख कित्ता सेयर रहेको यसको बजार पुँजीकरण एकै दिन १९ अर्ब १७ करोड रूपैयाँले बढेको हो।
विशाल बजारको एकै दिनमा बढेको बजार पुँजीकरण समग्र नेप्सेको पुँजीकरणको ०.३८ प्रतिशत हो।
सोमबार नेप्से परिसूचक २९३६ थियो। नेप्से परिसूचक गणना समग्र बजार पुँजीकरणको आधारमा गरिन्छ। यसमा विशाल बजारको बढेको ०.३८ प्रतिशत (०.००३८) ले कुल बजार पुँजीकरणमा योगदान गरेको छ।
यस आधारमा नेप्से बढाउन पनि विशाल बजारले ११ अंकभन्दा बढी योगदान गरेको देखिन्छ।
मंगलबार कुल बजार २३ अंकले बढेको थियो। त्यसैले मंगलबारको बजार वृद्धि अवास्तविक होइन। तर एकाध ठूला कम्पनीले बजार प्रभावित पार्ने देखिएकाले लगानीकर्ताहरू बुधबारको बजार प्रति केही चिन्तित पनि देखिएका छन्।