भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले भदौ २३ गते भएको दिनभरको घटनाक्रमलाई समयरेखामा उतारेको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते संसद भवनअगाडि प्रहरीको गोली लागि १९ जनाभन्दा बढीको मृत्यु भएको थियो।
उक्त दिन केके भएको थियो, प्रदर्शनकारी कसरी संसद भवनतर्फ अघि बढे, कहाँबाट गोली चल्यो र प्रदर्शनकारी मारिने अवस्था बन्यो भनेर आयोगले विस्तारमा चर्चा गरेको छ।
समयरेखा
– बिहान ८ः२३ बाटै विद्यार्थीहरू माइतीघर आसपास प्लेकार्डसहित भेला हुन थालेका थिए।
– बिहान ९ः१४ सम्म थोरै संख्यामा प्रदर्शनकारीहरू राष्ट्रिय झण्डासहित माइतीघर मण्डल क्षेत्रमा जम्मा भएका देखिन्छन्। उनीहरू भ्रष्टाचारविरूद्ध नारा लगाउँदै विद्यार्थी पोसाकमा थिए।
– बिहान १०ः०० सम्म माइतीघर क्षेत्रमा प्रदर्शनकारीको भीड बढ्दै गयो।
– १०ः२५ सम्म मण्डलको दक्षिण सडक लेनमा प्रदर्शनकारीहरू थिए भने अन्य लेनमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए।
– १०ः२७ बाट केही प्रदर्शनकारीहरू बिजुली बजारतर्फ लागेका देखिन्छन्। इओएन युटयुब च्यानलका अनुसार १०ः५२ मा नेपाल टेलिकमको कार्यालय नजिकको पोलमा रहेको तत्कालीन प्रधानमन्त्री केपी ओलीको तस्बिर देखेर प्रदर्शनकारीहरू आक्रोशित भई च्यातेका थिए, जुन बिजुली बजार पिटिजेड सिसिटिभीमा १०ः५२ मा कैद भएको छ।
– बिजुली बजार पिटिजेड र एभरेस्ट होटल पिटिजेड सिसिटिभीका अनुसार १०ः ५८ मा बिजुली बजार पुल हुँदै प्रदर्शनकारीहरूको पहिलो समूह निषेधित क्षेत्रतर्फ रहेको व्यारिकेटतर्फ बढेका थिए। ११ः०० मा उनीहरू व्यारिकेटमा सुरक्षाकर्मीसँग आमनेसामने भएका थिए।
– एभरेस्ट होटल पिटिजेड सिसिटिभीमा ११ः४० मा एभरेस्ट अस्पतालतर्फबाट केही प्रदर्शनकारीहरू प्रहरीको व्यारिकेटको पछाडितर्फ पुगेका देखिन्छन्, जसलाई सशस्त्र प्रहरीको टोलीले हटाएको थियो।
– ११ः४७ मा पुनः सोही दिशाबाट अघिल्लो पटकभन्दा धेरै संख्यामा प्रदर्शनकारीहरू आएका थिए। एउटा समूहले प्रहरीको व्यारिकेट तोड्न प्रयास गरेको थियो भने अर्को समूह नयाँ बानेश्वर चोकतर्फ अघि बढेको थियो। व्यारिकेटतर्फ लागेका प्रदर्शनकारीहरूले व्यारिकेट तोडी ठूलो समूह चोकतर्फ लागेका थिए।
– ११ः४९ मा बाइकसहितका प्रदर्शनकारीहरू नयाँ बानेश्वर चोकतर्फ बढेका थिए । ११ः५४ मा प्रहरीले भीडलाई रोक्न आफ्नो फर्मेसनमा रहन प्रयास गरेको थियो।
– एउटा सानो समूह नयाँ बानेश्वर ११ः५५ मा चोकमा पुगेको थियो, जहाँ सार्वजनिक तथा निजी सवारी साधनहरू सञ्चालन थिए।
– भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्यानन प्रयोग गरेको थियो। तर, भीडले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले वाटर क्यानन र अश्रुग्यास प्रयोग गर्दै बानेश्वर चोकतर्फ पछि हटेको थियो। भीडको मुख्य जमात संसद भवनतर्फ अघि बढेको थियो।
– बानेश्वर चोक २ सिसिटिभीमा ११ः५५ मा सवारी साधनहरू सुचारू रहँदै गर्दा प्रहरी अश्रुग्यास प्रहार गर्दै संसद भवनतर्फ पछि हटिरहेको देखिन्छ भने प्रदर्शनकारीहरू ‘युथ एगेन्ट्स करप्सन’ लेखिएको ब्यानरसहित संसद भवनतर्फ बढेका थिए।
– सिभिल अस्पताल पिटिजेड सिसिटिभीमा ११ः५१ मा बाइक सवारसहितको पहिलो समूह संसद भवन गेट अगाडि पुगेको देखिन्छ भने संसद भवनको मेन गेटमा रहेको क्यामेराका अनुसार ११ः४६ मा सो समूह पुगेको थियो। अनलाइनखबर डटकमका अनुसार ११ः४९ मा २० जना जतिको समूह पुगेको उल्लेख छ।
– बिआइसिसी अगाडि रहेको सिसिटिभीमा ११ः५४ मा प्रहरीद्वारा अश्रुग्यास प्रयोग गरी भीडलाई तितरवितर बनाएको थियो।
– ११ः५७ मा वाटर क्यानन पछ्याउँदै प्रदर्शनकारीहरू मेन गेट अगाडि पुगेका थिए।
– १२ः०१ मा सुरूमा दुई जना प्रदर्शनकारीहरू गेटमाथि चढेका देखिन्छन् भने सिभिल अस्पताल नजिक रहेको सिसिटिभीमा १२ः०५ मा पर्खाल चढी गेटमाथि चढेको देखिन्छ। नयाँ बानेश्वर चोकबाट ठूलो संख्यामा आएको भीड संसद भवन गेट नजिक जम्मा भएपछि सडकपेटीमा रहेको रेलिङ तोडेर त्यही रेलिङको सहारामा प्रदर्शनकारीहरू गेटमाथि चढेका थिए।
– १२ः०५ मा बिआइसिसी पिटिजेड सिसिटिभीमा ठूलो मात्रामा प्रदर्शनकारीहरू बिआइसिसी मेन गेट अगाडि जम्मा भइसकेका थिए। बिआइसिसी गेटमाथि रहेका प्रदर्शनकारीहरूलाई लक्षित गरी अश्रुग्यास प्रहार भएको थियो भने प्रदर्शनकारीहरूले अश्रुग्यास सेल प्रहरीतर्फ नै प्रहार गरेका थिए।
– सोही घटना सिभिल अस्पताल पिटिजेडमा १२ः१० मा देखिएको छ। अनलाइनखबर र इओएन युट्युब च्यानलबाट समेत यस सम्बन्धी घटनाक्रम उल्लेख गरिएको छ।
– सिभिल अस्पताल इमर्जेन्सी सिसिटिभी फुटेजमा १२ः०७ मा आँखाको तल्लो भागमा चोट लागेको विद्यार्थी पोसाकमा रहेको पहिलो घाइते इमर्जेन्सी कक्षमा प्रवेश गरेको देखिन्छ।
– १२ः१७ बाट घाइतेहरू उपचारार्थ आउने संख्यामा वृद्धि भएको थियो भने १२ः४१ मा शरीरका विभिन्न अंगहरूबाट रगत आएको देखिने घाइते प्रदर्शनकारीहरू इमर्जेन्सी कक्षमा आउने क्रम सुरू भएको थियो।
– जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १२ः३० बाट लागु हुने गरी कर्फ्यू आदेश जारी गरेको थियो।
– बिआइसिसी पिटिजेड सिसिटिभीमा १२ः२९ मा बाइक सवारको आगमन देखिन्छ भने एक जना मेट गेटतर्फबाट १२ः३३ मा पेट समात्दै आएको (सम्भावित गोली प्रहारबाट) र सिभिल अस्पतालको इमर्जेन्सी क्यामेराबाट १२ः५४ मा पेटबाट रगत बगिरहेको अवस्थामा उपचारार्थ आएको देखिन्छ।
– बिआइसिसी पिटिजेड सिसिटिभीमा १२ः३४ मा बिआइसिसीको गेट नजिक आगजनी भएको थियो भने अनलाइनखबरको समाचार अनुसार १२ः३७ मा प्रदर्शनकारी ताक्दै गोली प्रहार भएको थियो।
– नेपाल कमर्स क्याम्पसको सिसिटिभी अनुसार १२ः४१ मा दुई एम्बुलेन्स सिभिल अस्पतालतर्फ गएका थिए।
– करिब १३ः१५ बाट संसद भवनको पश्चिम गेटमा प्रदर्शनकारीहरूले सुरक्षाकर्मीलाई लक्षित गरी ढुंगामुढा गरेका थिए भने गेट समेत तोडफोड गर्ने प्रयास गरेका थिए । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो।
– बिआइसिसी पिटिजेडमा १२ः३५ मा प्रहरीद्वारा मेन गेट वरपर जम्मा भएका प्रदर्शनकारीहरूलाई लक्षित गरी टियर ग्यास प्रहार भएको थियो।
– १२ः४० मा संसद भवन परिसरबाट गेट भित्रबाट पानीको फोहोरा प्रहार गरिएको थियो।
– १२ः५५ मा गोली प्रहारबाट घाइतेलाई उद्धार गर्दै गरेको देखिन्छ। १२ः५५ पछि गोली प्रहारबाट घाइते प्रदर्शनकारीको संख्यामा व्यापक वृद्धि भएको थियो।
– १३ः०१ मा प्रदर्शनकारीद्वारा प्रहरी लक्षित गरी मोलोटोभ प्रहार भएको थियो भने १३ः०५ मा प्रहरीद्वारा मेन गेट अगाडि प्रदर्शनकारीको टाउकोमा गोली प्रहार गरेको देखिन्छ, जुन घटना युट्युब च्यानल जीसीएस ब्लगले राखेको भिडियोमा समेत प्रष्ट देखिन्छ।
–बिआइसिसी पिटिजेडमा मेन गेट अगाडिको भीडको माहोल शान्त अवस्थामा रहेकोमा १३ः१९ मा ३५–४० को संख्यामा बाइक सवार समूहको मेन गेट अगाडि प्रवेश भएको थियो।
– १३ः३२ मा प्रदर्शनकारीहरूले मेन गेट अगाडि ढलेका व्यारिकेट सडकमा राखी व्यारिकेट पछाडि पम्पलेटसहित प्रदर्शन गरिरहेका थिए। यसै क्रममा १३:३४ मा नगर प्रहरी (सिटी पुलिस) को टोली गाडीबाट निस्केर शान्त प्रदर्शनकारीतर्फ बल प्रयोग गर्दै बढेको थियो भने अन्य स्थानबाट प्रहरीद्वारा व्यापक रूपमा अश्रुग्यास प्रयोग गरी भीडलाई तितरबितर गरेको देखिन्छ। केही घाइतेहरूलाई एम्बुलेन्सले उद्धार गरेको थियो।
– १३ः३८ मा प्रदर्शनकारीको आक्रोशित भीड एकीकृत भई प्रहरीमाथि ढुंगामुढा गरेको देखिन्छ भने १३ः४३ मा घाइते प्रदर्शनकारीको उद्धारका लागि दुई एम्बुलेन्स आएका थिए। संसद भवनको सामुन्ने रहेको लुम्बिनी तन्दुरी भोजनालय अगाडि एक जना घाइतेलाई सीपीआर दिइँदै गरेको देखिन्छ।
– बानेश्वर चोक १ सिसिटिभीमा १२ः१५ मा प्रदर्शनकारीको एउटा समूह बानेश्वर चोकबाट पश्चिम गेटतर्फ लागेको थियो।
– १२ः४२ मा प्रदर्शनकारीद्वारा प्रहरी लक्षित ढुंगा प्रहार भएको थियो भने १२ः५३ मा पर्खाल चढेर रेलिङ भाँच्न सुरू भएको थियो।
– १३ः०९ मा आन्दोलनकारीद्वारा बानेश्वर चोकमा राखिएको ट्राफिक संकेत रहेको फलामे पोलको प्रयोग गरी बिआइसीसीको बानेश्वर चोक पश्चिमतर्फको हाइपोइन्टतर्फको पर्खाल फुटाउन सुरू गरेको थियो र केही प्रदर्शनकारी संसद परिसरमा प्रवेश गरेका थिए।
– १३ः१५ मा संसद भवन परिसरमा रहेको प्रहरी लक्षित गर्दै ढुंगा प्रहार गर्दै गर्दा एक प्रदर्शनकारीलाई गोली लागी हातले बोकेर लगिएको थियो।
– १३ः३३ मा गोली प्रहारद्वारा घाइतेलाई ह्विलचेयरमा राखेर उद्धार गरेको देखिन्छ।
– १३ः०० बाट लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौले राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यू क्षेत्र विस्तार गरेको थियो।
– १३ः२० बाट अनलाइन मिडियामा पत्रकारहरू समेत घाइते भएको समाचार आएका थिए। अनलाइनखबर डटकमले १३ः४० मा सिभिल अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको उल्लेख गरेको थियो भने रातोपाटी डटकमले १३ः५४ मा एक जनाको मृत्यु र ७० जना घाइते भएको समाचार प्रकाशित गरेको थियो।
– सिभिल अस्पताल इमर्जेन्सी सिसिटिभी अनुसार १३ः०० बजे आसपासमा गम्भीर प्रकृतिका घाइतेहरूको चाप बढेको थियो भने १३ः२४ मा एक जना घाइते पत्रकार इमर्जेन्सी कक्षमा उपचारार्थ आएको देखिन्छ।
– अरेबिका कफी शपको सिसिटिभी अनुसार १३ः२० मा गोलीले त्यहाँको अगाडिको सिसा फुटेको देखिन्छ भने बिआइसिसी पिटिजेड (अन्य सिसिटिभी क्यामेराभन्दा ४ः३० सेकेन्ड ढिलो) अनुसार १३ः१७ मा एक जना प्रदर्शनकारी खुट्टामा चोट लागेर भागिरहेको देखिन्छ।
– त्यसपछि एउटा प्रदर्शनकारीको समूह मेन गेट नजिक रहेका प्रहरीमाथि आक्रामक शैलीमा प्रस्तुत भएका थिए।
– सिभिल अस्पताल पिटिजेडमा १३ः२१ मा प्रदर्शनकारी मेन गेटतर्फबाट घाइतेलाई उचालेर अरेबिका कफी शपतर्फ भाग्दै गरेको देखिन्छ। रोलेक्स मोटो युट्युब च्यानलमा समेत अरेबिया कफी अगाडि प्रदर्शनकारीहरू गोली प्रहारबाट घाइते भएको देखिन्छ।
– सिभिल अस्पताल पिटिजेड र नेपाल कमर्स क्याम्पस सिसिटिभीमा १३ः ५६ मा युनिग्लोब पोलिक्लिनिक रहेको भवनतर्फ प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए।
– बिआइसिसी पिटिजेडमा १४ः२२ मा सशस्त्र प्रहरीको एम्बुलेन्स मेन गेट अगाडि आइपुगेको थियो र त्यसमा सवार सशस्त्र प्रहरीहरूलाई संसद परिसर भित्र पठाई प्रदर्शनकारीहरूले एम्बुलेन्समा आगो लगाइदिएका थिए। गेट अगाडि सडकमा राखिएको मृतकलाई अर्को एम्बुलेन्समा राखेर लगेको देखिन्छ।
– इओएन युट्युब च्यानल अनुसार बानेश्वर चोकमा १४ः१५– १४ः३० मा एक जना विद्यार्थीलाई टाउकोमा गोली लागेको उल्लेख छ।
– एभरेस्ट होटल बानेश्वर पिटिजेडबाट १४ः१४ मा केहीलाई एम्बुलेन्सले बानेश्वर चोकबाट उद्धार गर्दै गरेको देखिन्छ भने सिभिल अस्पताल पिटिजेडबाट १४ः२६ मा एक जनालाई प्रदर्शनकारीद्वारा उद्धार गर्दै गरेको देखिन्छ।
– इओएन युट्युब च्यानलमा विद्यार्थीलाई टाउकोमा गोली लागेको देखिन्छ भने प्रहरी संसद भवनको पश्चिम ढोका र पानी ट्याङ्कीबीच रहेको सडकबाट सुरक्षाकर्मीले गोली प्रहार गरेको वेब खबर युट्युब च्यानलबाट देखिन्छ। नयाँ बानेश्वर चोक नजिक दक्षिण–पश्चिममा रहेको भवनको चौथो तल्लामा रहेको हार्डफोर्ड कन्सल्टेन्सीमा १४ः१८ः १७ मा झ्यालको सिसामा गोली लागेको देखिन्छ भने नयाँ बानेश्वर चोक नजिक हार्वर्डको पूर्वी दिशामा भने संसद भवनको दक्षिण दिशामा रहेको हिमालयन जाभामा रहेका त्यसका सञ्चालकको घाँटीमा गोली लागेको पाइन्छ।
– बानेश्वर चोक पिटिजेडमा १४ः१६ मा भीडहरू संसद भवनको पश्चिमतर्फ नयाँ बानेश्वर चोकबाट भागेको र १४ः१७ मा केही घाइतेहरूलाई बोकेर लगेको देखिन्छ।
– १४ः५० मा प्रदर्शनकारीहरू संसद भवनको दक्षिण गेटबाट हटिसकेका थिए र नयाँ बानेश्वर चोकमा केन्द्रित रही प्रदर्शन गरिरहेका थिए। नेपाल प्रहरी एवं सशस्त्र प्रहरीले संयुक्त रूपमा नयाँ बानेश्वरतर्फ रहेका प्रदर्शनकारीलाई लक्षित गरी फर्मेसनमा ड्युटी लिएको देखिन्छ र स्थिति नियन्त्रणमा देखिन्छ।
–बिआइसिसी पिटिजेडमा १५ः०५ मा थाहा खबर अरेबिका कफी अगाडि रहेका केही प्रदर्शनकारी मेन गेट अगाडि बढे सँगै नयाँ बानेश्वर चोकमा ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरू समेत संसद गेटमा आइपुगेका थिए र सुरक्षाकर्मीले अश्रुग्यास लगायत प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर बनाएका थिए।
– १५:१२ मा खुट्टामा गोलीद्वारा घाइते प्रदर्शनकारी देखिन्छन् भने १५ः१३ मा केही घाइते प्रदर्शनकारीहरूलाई दुई वटा एम्बुलेन्सले उद्धार गरेको देखिन्छ।
–बिआइसिसी पिटिजेडमा १५ः५४ मा नेपाली सेनाको टोली गाडीसहित संसद भवनको मेन गेटमा आइपुगेपछि नयाँ बानेश्वर चोकमा रहेका प्रदर्शनकारी सुरक्षाकर्मीहरूको सुरक्षा फर्मेसन तोड्दै मेन गेटमा आइपुगेका थिए।
– गेटमा प्रदर्शनकारी चढ्ने तथा तोड्ने प्रयास गरेपछि १५ः५९ मा सुरक्षाकर्मीले त्यहाँ जम्मा भएको भीडलाई तितरबितर बनाएका थिए।
– १६ः०९ मा एक जना घाइते महिला प्रदर्शनकारीलाई प्रदर्शनकारीहरूले बोकी सिभिल अस्पतालतर्फ लग्दै गरेको देखिन्छ।
– १६ः०५ सम्ममा सुरक्षाकर्मीले संसद परिसर नजिकबाट प्रदर्शनकारीहरूलाई हटाइसकेको अवस्था देखिन्छ भने प्रदर्शनकारीको समूह पनि पातलो भइसकेको थियो । केही प्रदर्शनकारीहरू सिभिल अस्पताल तथा नेपाल कमर्स क्याम्पस गेट नजिक रहेका देखिन्छन् भने अर्को प्रदर्शनकारीको समूह भने एभरेस्ट होटल अगाडि देखिन्छन्।
– १६ः३४ मा नेपाली सेनाको टोली गाडीसहित एभरेस्ट होटेल अगाडि आएपछि त्यहाँ रहेका प्रदर्शनकारीहरूलाई प्रहरीले बिजुलीबजारतिर लखेटेको थियो।
– १७ः३० मा प्रहरी सिभिल अस्पताल गेटतिर गई त्यहाँ रहेका प्रदर्शनकारीहरूलाई हटाएको थियो। १८ः१५ मा नयाँ बानेश्वर संसद परिसर क्षेत्रको अवस्था सामान्य देखिन्छ।