फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि अहिले फेरि कम्युनिस्ट एकताको बहस चल्न थालेको छ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि गत चैत ९ गते झापाका केही कम्युनिस्ट अगुवाले वामपन्थी शक्तिहरूबीच एकताको खाँचो औंल्याउँदै विज्ञप्ति निकालेका थिए।
यसरी कम्युनिस्ट एकताको बहस थालनी गर्नेमा एमालेका पूर्व केन्द्रीय सदस्य रविन कोइराला र गणेश पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका झलकसिंह दर्लामी, पुष्प पोखेल, ज्योतिसिंह दर्लामी र रञ्जित तामाङ, नेकपा संयुक्तका नीलमणि बराल, नेकपा (माओवादी) का अर्जुन पाण्डे, प्रगतिशील लोकतान्त्रिक पार्टीकी लक्ष्मीदेवी न्यौपाने लगायत थिए।
'जनताले ठूलो सुधारको अपेक्षा गरेका थिए तर नेतृत्व फेरिएन, शैली पनि फेरिएन,' उनीहरूले चुनावी हारको कारण र समाधानको सुझाव दिँदै भनेका छन्, 'अब एकीकृत पहलबिना आन्दोलन बचाउन सकिँदैन।'
झापाबाट सुरू कम्युनिस्ट एकताको यो पहलबारे हामीले एमाले र नेकपा नेताहरू के भन्छन् भनेर सोधेका छौं।
एमाले नेता गोकुल बास्कोटाले एकताको राग चल्न थालेको भन्दै यो बहस 'फोहर गरेपछि दैलो देखे' जस्तै भएको टिप्पणी गरेका छन्।
'फेरि वाम एकताको राग चल्न थालेछ। यो पनि जनताले मत हालेर सरकार गठन हुन लाग्दा केही मान्छले मसीको प्रमाण खोज्न हिँडेझैं फोहर गरेपछि दैलो देखे जस्तै हो,' उनले भने।
उनले कम्युनिस्ट आन्दोलनको पुनर्जागरणभित्र संगठन पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु उत्तम रहेको बताए।
एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन नसक्ने बास्कोटाको भनाइ छ।
नेकपाका नेता बेदुराम भुसालले पनि चुनावपछि चलेको कम्युनिस्ट एकताको बहसले कुनै परिणाममा नपुर्याउने टिप्पणी गरे। संस्थागत रूपमा एकता बहस नचलेको उनले बताए।
'झापाका केही साथीहरूले निकालेको विज्ञप्ति मैले पनि पढेँ। ती साथीहरू सक्रिय अनुहार होइनन्,' उनले भने, '२०७८ सालमा हामीले विद्रोह गरेर फरक अभियान सुरू गर्दा त्यतिखेर तयार नदेखिएका केही साथीहरू पनि विज्ञप्ति निकाल्नेमा हुनुहुँदो रहेछ। उहाँहरूको पहलले मात्र सार्थकता पाउने म देख्दिनँ।'
उनले नेकपा आफैले एकता अभियान चलाइरहेको उल्लेख गर्दै भने, 'चुनाव अगाडिबाटै सुरू भएको हाम्रो एकता अभियानले पनि जनतामा सकारात्मक प्रभाव पारेन। कम्युनिस्ट एकताले मात्र आकर्षण पैदा गर्न सक्छ भन्ने देखिएको छैन।'
'अहिलेकै मत परिणाम हेर्ने हो भने २७ वटा निर्वाचन क्षेत्रमा नेकपा र एमालेको मत जोड्दा पहिलो बन्ने देखिएको छ। तर यस्तो स्थिति दुइटा पार्टीको मत जोड्दा देखिएको हो। चुनावमा सहकार्य गरेर गएको भए ठ्याक्कै यस्तै परिणाम आउँथ्यो कि आउँदैनथ्यो? उम्मेदवार को हुन्थ्यो? यी सबै कोणबाट पनि हेर्नुपर्छ।'
विगतका घटनाक्रम हेर्दा नेकपा एमाले र नेकपा लगायत शक्तिबीच तत्काल एकता वा सहकार्यको सम्भावना नदेखेको उनले बताए।
यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादीले तालमेल गरेर उम्मेदवारी दिएका थिए। त्यति बेला वाम एकताको नारासहित चुनावी मैदानमा होमिएका यी दुई दलले संयुक्त रूपमा १७४ सिट जितेका थिए।
चुनावलगत्तै २०७५ जेठमा यी दुई पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो, जसमा केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' दुवै अध्यक्ष थिए। सरकारको नेतृत्व भने ओलीले गरेका थिए।
तर उनीहरूको एकता लामो समय टिकेन। २०७७ फागुनमा नेकपा विघटन भई दुवै अलग अलग पार्टीमा फर्किए।
यसपालिको निर्वाचनमा यी दुवै पार्टीले नराम्रो पराजय भोग्नुपरेपछि अब फेरि एकता गरेर जानुपर्ने बहस सुरू गरिएको हो।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले २५ सिटमा खुम्चिएको छ। उसले प्रत्यक्षतर्फ ९ सिट मात्र जितेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित ११ पदाधिकारी प्रत्यक्षतर्फ उम्मेदवार थिए। तर कसैले पनि चुनाव जितेनन्।
अध्यक्ष ओलीसहित उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ, सचिव शेरधन राई, राजन भट्टराई, भानुभक्त ढकाल र महेश बस्नेत उम्मेदवार थिए। यी सबै पराजित भए। पूर्वपदाधिकारी ईश्वर पोखरेल र प्रदीप ज्ञवालीले पनि चुनाव जित्न सकेनन्।
नेकपाले पनि प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट मात्र जितेको छ। संयोजक प्रचण्ड, नेता वर्षमान पुन विजयी भएका छन् भने सहसंयोजक माधवकुमार नेपालसहित शीर्षस्थ नेताहरू पराजित भएका छन्।