अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकको 'कनेक्सन' नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग देखिएको छ।
हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रकाश पाठकको बयानबाट प्रदीप अधिकारीसँग उनको कनेक्सन देखिएको परिसरका एसएसपी रमेश थापाले जानकारी दिए।
उनका अनुसार पाठकमाथि संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।
'पाठकले संगठित रूपमै उच्चपदस्थ व्यक्तिहरूलाई धम्क्याएको देखिन्छ। त्यसबारे अनुसन्धान भइरहेको छ,' एसएसपी थापाले भने, 'उनले आफ्नो बयानमा अख्तियार प्रमुख राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको र त्यसका लागि प्रदीप अधिकारीसँग दुई करोड रूपैयाँ सुपारी लिएको भनेका छन्।'
पाठकको यो बयान पुष्टि गर्न प्रहरीले प्रमाण जुटाइरहेको उनले बताए।
नलिञ्चोक हेलिप्याड निर्माण प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका प्रदीप अधिकारीलाई यही घटनामा सोधपुछ गर्न प्रहरी परिसर ल्याइएको थियो। उनीविरूद्ध यो कसुरमा पक्राउ पुर्जी भने लिइएको छैन।
प्रदीपले भने प्रकाश पाठकसँग आफ्नो चिनजान नभएको र आफूले कसैलाई सुपारी नदिएको बयान दिएका छन्। उनको यो बयान साँचो हो कि होइन पुष्टि हुन बाँकी रहेको पनि एसएसपी थापाले बताए।
अधिकारीले आफूविरूद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएपछि पाठकलाई प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
पाठकले मंसिरमा 'एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल' भन्ने नामबाट अख्तियार प्रमुख राईसहित १० जनालाई इमेलमार्फत ज्यान मार्ने धम्की दिएका थिए। तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायतलाई इमेलमार्फत ज्यान मार्ने धम्की दिइएको थियो।
उनले अख्तियार प्रमुख राईलाई पठाएको पत्रमा १० दिनभित्र राजीनामा नदिए ज्यान लिने धम्की दिएका थिए। भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी लगाएर आक्रमण गर्ने उनको चेतावनी थियो।
पाठकले त्यति बेला आफू भारतमा रहेको पनि बताएका थिए। तर प्रहरी अनुसन्धान क्रममा उनी फिलिपिन्समा भेटिए।
डिसेम्बर ३१ मा फिलिपिन्सको मालोलस सिटीमा स्थानीय अध्यागमन ब्युरोको टोलीले प्रहरीसँग संयुक्त अपरेसन गरी उनलाई पक्राउ गरेको थियो। त्यसपछि माघ २८ गते काठमाडौं ल्याइएको थियो।
पाठकविरूद्ध संगठित अपराध अनुसन्धान क्रममै प्रदीप अधिकारीसमेत तानिएका हुन्।
पाठकविरूद्ध यसअघि पनि विभिन्न ठाउँमा चारवटा मुद्दा रहेको प्रहरी रेकर्डमा देखिएको थियो। उनले ६ जना व्यक्तिबाट ६५ लाख रूपैयाँ ठगेको प्रहरीले जनाएको छ।