प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा बुधबार शपथ लिएका नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र उनलाई शपथ खुवाएका राष्ट्रपति रामचन्द्र पौडेलबीच ५६ वर्ष लामो राजनीतिक सम्बन्ध छ।
नवनिर्वाचित अन्य सांसदहरूलाई बिहीबार शपथ खुवाउने र नयाँ सभामुख चयन नहुँदासम्म संसद बैठकको अध्यक्षता गर्ने गरी ७८ वर्षीय केसीले राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन्।
लामो राजनीतिक यात्राका क्रममा शपथ खाने र खुवाउने पदमा पुगेका केसी र पौडेलले आजभन्दा ५६ वर्षअघि एउटै समितिमा रहेर काम गरेका थिए।
पौडेल राष्ट्रपति हुनुअघि नेपाली कांग्रेसका वरिष्ठ नेता थिए। उनी २०७९ फागुन २५ गते राष्ट्रपति बनेका थिए। पौडेल र केसी दुवै विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएका नेता हुन्। यसका सुरूआत २०२६ सालमा भएको थियो।
त्यस वर्ष बिपी कोइरालाको निर्देशनमा विद्यार्थी प्रदर्शन परिचालन समिति गठन गरिएको थियो, जसमा अर्जुननरसिंह केसी संयोजक र रामचन्द्र पौडेल तथा शेरबहादुर देउवा सदस्य थिए।
यी तीन जनाको राजनीतिक सुरूआत पञ्चायती व्यवस्थाको त्यही प्रतिबन्धित कालखण्डमा विद्यार्थी नेताका रूपमा भएको थियो। राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएको निरंकुश पञ्चायती व्यवस्थाविरूद्ध उनीहरूले विद्यार्थी जीवनदेखि नै आवाज उठाएका थिए।
अर्जुननरसिंह र रामचन्द्र त्यसबेला क्याम्पसमा राजनीति गर्थे। अर्जुनरसिंह शंकरदेव क्याम्पसमा विद्यार्थी अध्यक्ष थिए भने रामचन्द्र सरस्वती क्याम्पसमा विद्यार्थी युनियन अध्यक्ष थिए।
विद्यार्थी आन्दोलनमा जोडिएका केसी, पौडेल लगायतलाई समावेश गरेर नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति बनाइयो। यसका संस्थापक सभापति विपिन कोइराला हुन् भने ११ सदस्यीय केन्द्रीय समितिमा केसीसहित रामचन्द्र पौडेल र शेरबहादुर देउवा लगायत थिए।
पछि २०२७ वैशाख ६ गते नेविसंघ स्थापना भएको थियो। केही समयपछि शेरबहादुर देउवा नेविसंघ अध्यक्ष बनेका थिए।
त्यति बेला रामचन्द्र र शेरबहादुरसहित अर्जुननरसिंहले पनि युवा विद्यार्थीहरूलाई राजनीतिमा ल्याउन भूमिका खेलेका थिए। अर्जुननरसिंहले त्रिवि क्याम्पस कीर्तिपुरको महासचिव र राजनीतिशास्त्र संघको अध्यक्ष भएर काम गरेका थिए।
राजनीतिक दलहरू प्रतिबन्धित रहेको ३० वर्षे पञ्चायती व्यवस्थामा नेविसंघ लगायतका विद्यार्थी संगठनहरूले नै लोकतन्त्रको आवाज जीवित राख्ने काम गरेको थियो।
केसी सन् १९७३ मा भारतको वाराणसीमा डेमोक्रेटिक सोसलिस्ट युथ लिगमा समेत सामेल भएका थिए। उनी र रामचन्द्र पञ्चायती व्यवस्थाको विरोध गर्दा नख्खु लगायत जेलमा सँगसँगै बसेका पनि थिए।
केसी २००४ असोज ११ गते नुवाकोटमा जन्मिएका हुन्। उनी ६ वर्षभन्दा लामो समय जेल बसेका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट बिएल गरेका थिए।
उनी सर्वोच्च बारका अधिवक्ता र त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक पनि भए। उनले करिब दुई वर्ष वकालत पनि गरेका थिए।
त्यसपछि राजनीतिमा धेरै उतारचढाव आयो।
२०३७ सालपछि अर्जुननरसिंह पञ्चायत प्रवेश गरे र राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए। उनी २०३८ सालमा चुनाव जितेर राष्ट्रिय पञ्चायत पुगे र स्वास्थ्य राज्यमन्त्री बनेका थिए।
२०४६ सालको जनआन्दोलन बेला कतिपयले पञ्चायतको समर्थनमा वक्तव्य निकाल्दा केसीले बहुदलको पक्षमा सहयोगी भूमिका खेलेका थिए। केसीले त्यस बेला बहुदलको पक्षमा निकालिएका पर्चाहरू जिल्ला-जिल्ला पुर्याउन सहयोग गरेका थिए।
२०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था पुनर्स्थापना गरेपछि उनी फेरि नेपाली कांग्रेस प्रवेश गरेका थिए।
त्यसयता २०४८, २०५१, २०७० र २०७९ को चुनावबाट उनी प्रतिनिधिसभा सांसद बनेका थिए।
उनी २०५२ मा स्वास्थ्य मन्त्री, २०५६ मा भौतिक पूर्वाधार मन्त्री, २०५६ मा शिक्षामन्त्री र २०६३ मा सहरी विकास मन्त्री बनेका थिए।
यसपालि उनी नेपाली कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य भएका हुन्।
संयोग यस्तो रह्यो, पहिले केसीको नेतृत्वमा रहेको विद्यार्थी समितिमा काम गरेका पौडेलले आज राष्ट्रपतिका रूपमा केसीलाई ज्येष्ठ सांसदका रूपमा शपथ खुवाएका छन्।
'नेपाली कांग्रेसको संक्षिप्त इतिहास' पुस्तकका लेखक समेत रहेका केसीले कांग्रेस सहमहामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य र विदेश विभाग प्रमुख रहेर काम गरेका थिए।