निर्वाचनपछि खुलेको सेयर बजार उच्चले बढे पनि त्यसपछिका दुई दिन लगातार घट्यो।
तेस्रो दिन बिहीबार पुनः सुधार देखियो। बिहीबार नेप्से २३.८७ अंकले बढेर २८२० मा आइपुग्यो। सो दिन नेप्से घटेर २७९३ को न्यून विन्दुसम्म पुगेपछि बढ्न थालेको हो।
यसरी हेर्दा नेप्सेले ३८ प्रतिशतमा 'रिट्रेस' गरेर बढ्ने प्रयास गरेको देखिन्छ।
अब बुझौं, रिट्रेस (फिबोनाची रिट्रेसमेन्ट) भनेको के हो?
यो भारत र अरेबियन मुलुकमा प्राचीन समयमा गरिने फिबोनाची शृंखला एक गणितीय अवधारणा हो। तर पश्चिम युरोपको पिसाका लियोनार्दो बोनाचीले १३ औं शताब्दीमा 'लाइबर आबाकाइ' भन्ने पुस्तकमा यसलाई लोकप्रिय बनाएका हुन्।
त्यही करण यसलाई लियोनार्दो बोनाचीको थर समेत जोडेर 'फिबोनाची' भन्न थालियो। आधुनिक प्राविधिक विश्लेषणमा फिबोनाची रिट्रेसमेन्ट भन्न थालिएको हो।
फिबोनाची रिट्रेसमेन्टले बजार वा सेयर मूल्यले कुन विन्दुमा टेवा पाएर बढ्न सक्छ वा कुन विन्दुमा प्रतिरोध पाएर घट्न सक्छ भनेर देखाउँछ।
यसका महत्त्वपूर्ण विन्दुहरूमा ३८ प्रतिशत, ५० प्रतिशत र ६१ प्रतिशत मानिन्छन्।
अहिले नेप्सेले ३८ प्रतिशतको रिट्रेस पाएर बढ्ने प्रयास गरेको देखिन्छ।
माघ १२ गते नेप्से २७८८ विन्दुमा थियो। त्यसपछि नेप्से घट्न थाल्यो र फागुन ११ गतेपछि २६०८ मा आएर घट्न रोकियो। त्यसपछि फेरि बढ्न थाल्यो।
यसरी नेप्से बढ्दो प्रवृत्तिमा २६०८ विन्दुबाट देखिन थाल्यो। त्यहाँबाट नेप्सेले ३०३ अंकसम्म जोड्यो र २९११ विन्दुसम्म पुग्यो। यो यस पटकको उच्च विन्दु साबित भयो। त्यसपछि नेप्से घट्न थाल्यो र बिहीबार २७९३ मा अडियो। यो बीचमा नेप्सेले ११८ अंक गुमायो।
यो ११८ अंक भनेको ३०३ अंकको ३८.९४ प्रतिशत हो। नेप्सेले २७९३ मा ३८ प्रतिशतको रिट्रेसमेन्ट परीक्षण गर्यो। र, अन्ततः बिहीबार बजार बन्द हुँदा भने नेप्से त्यो दिनको न्यून विन्दु २७९३ बाट बढेर २८२० मा आइपुग्यो।
फिबोनाची रिट्रेसमेन्टको फाइदा भनेको यसले बजारको महत्त्वपूर्ण टेवा वा प्रतिरोध विन्दु पत्ता लगाउँछ। तर, यस विश्लेषणको माध्यममा मात्रै पूर्ण भर गर्न मिल्दैन।
किनकी विश्लेषकहरूले बजारको प्रवृत्तिमा आउने फरक फरक उच्च र न्यून विन्दु लिन सक्ने भएकाले यसले कहिलेकाहीँ अन्योल पनि बढाउँछ।
हामीले भने अहिले बजार बढ्नुअघिको न्यून र बजारले त्यसपछि बनाएको उच्च विन्दु लिएका छौं। अहिले बजार घट्न रोकिएको जस्तो देखिएकाले यसलाई न्यून विन्दु मानेका हौं।
यसलाई अन्य प्राविधिक विश्लेषणका औजारहरूसँग पनि तुलना गरेर हेर्न सकिन्छ। यहाँ मनबत्ती चित्र विश्लेषणलाई पनि एउटा आधारको रूपमा हेरेका छौं।
नेप्सेमा बुधबार र बिहीबारको कारोबारमा 'हरामी बुलिस' आकृति बनेको छ। जापानी भाषाको शब्द हरामीले गर्भवती भन्ने बुझाउँछ।
बुधबार लामो रातो मैनबत्ती आकृति बनेको छ। बिहीबार दुवैतर्फ धागो भएको सानो हरियो मैनबत्ती आकृति बनेको छ। बुधबार २८५२ बाट सुरू भएर नेप्से २७९६ मा पुगेपछि बजार बन्द भयो।
बिहीबार भने बुधबारको बन्दभन्दा माथिबाटै नेप्से सुरू भयो। बुधबार २८०० बाट सुरू भयो र बजार बन्द हुँदा बुधबारको सुरू विन्दु २८५२ भन्दा तलै रहेर बन्द भयो। बिहीबार बजार बन्द हुँदा नेप्से २८२० मा थियो।
यसरी हेर्दा, हरामी बुलिस आकृति बनेको छ।
नेप्सेमा बुधबार बनेको रातो मैनबत्तीको शरीरले बिहीबार बनेको हरियो मैनवत्तिको सानो शरीरलाई पूरै ढाकेको छ। यो संकेतले बजार बढ्न सक्ने देखाउँछ। तर यो दरिलो संकेत होइन।
आइतबार बजार बढेर बन्द भएमा केही दिन थप बढ्ने विश्लेषण गरिन्छ। मैनबत्ती चित्र विश्लेषण तुलनात्मक रूपमा कम अवधिको बजार प्रक्षेपणका लागि प्रयोग गरिन्छ। दीर्घकालीन अवधिको प्रवृत्ति देखाउने ५० दिने र २ सय दिने मुभिङ एभरेज रेखाले बजारमा अझै बुलिस प्रवृत्ति रहेको संकेत गरिरहेको छ।