सेयर बजार बजार उकालो लाग्दा साना लगानीकर्ता उत्साहित भएर प्रवेश गर्छन्। तर केही समयमै बजार ओरालो लाग्न थाल्छ र उनीहरू 'टप' (उचाइ) मा फसेको अनुभूति गर्छन्।
के यो संयोग मात्र हो?
होइन, यस्तो हुनुमा बजारको संरचना, मनोविज्ञान र भीडको व्यवहारले काम गरिरहेको हुन्छ।
भीड मानसिकता
बजार बढ्न थालेपछि समाचार, सामाजिक सञ्जाल र वरपरको वातावरण सबै सकारात्मक बन्न थाल्छ। बजार अझै बढ्छ वा यो कम्पनी अझै बढ्छ, यो त सुरूआत मात्र हो भन्ने जस्ता धारणा फैलिन थाल्छ।
यस्तो अवस्थामा भीडले दिने प्रतिक्रिया अनुसारै मानिसहरूले आफ्नो लगानी रणनीति बनाउन थाल्छन्।
अरूले कमाइरहेका छन्, म छुट्छु कि भन्ने सोचले धेरैजसो मानिस जोखिम नहेरी बजार प्रवेश गर्छन्।
यतिखेर उनीहरूले प्रवेश गरेको समय नै ढिला भइसकेको हुन्छ। अनुभवी र ठूला लगानीकर्ता बजार घटेर अरू डराइरहेका समयमा किनिरहेका हुन्छन् भने साना लगानीकर्ता बजार बढिरहेको अन्तिम चरणमा मात्र प्रवेश गर्छन्।
बजारका अनुभवी र साना लगानीकर्ताको मनोविज्ञानमा पनि फरक हुन्छ।
बजारका अनुभवी लगानीकर्ताहरू बजारको खासै चर्चा नभइरहेको शान्त समयमा क्रमिक रूपमा सेयर किनिरहेका हुन्छन्। बजार सकारात्मक भएर उच्चले बढ्दै गर्दा पनि क्रमिक रूपमा सेयर बेच्दै जान्छन्। त्यो अवधिमा कुनै कम्पनी उच्चले बढिसकेको छैन र बढ्न सक्ने सम्भावना छ भने, नाफा भएको सेयर बेचेर त्यस्तो मूल्य बढ्न बाँकी कम्पनीमा प्रवेश गर्छन्।
साना लगानीकर्ता भने बजार सकारात्मक भएर उच्चले बढ्दै गर्दा बल्ल बजारमा प्रवेश गर्छन्।
यसरी बजार बढ्ने क्रममा ठूलाले सेयर बेच्ने प्रक्रियालाई 'डिस्ट्रिब्युसन' भनिन्छ।
यो यस्तो समय हो, जतिखेर बजार बाहिरबाट हेर्दा अझै माथि जाँदै गरेको देखिन्छ। कारोबार पनि सक्रिय हुन्छ। तर भित्रभित्रै ठूला लगानीकर्ताले आफ्नो लगानी घटाइरहेका हुन्छन्।
यो समय साना लगानीकर्ताले यसलाई नयाँ उचाइ वा ब्रेक–आउट भनेर बुझिरहेका हुन्छन्। यो समयमा अनुभवी लगानीकर्ता बजारको प्रवृत्ति पहिल्याउँदै क्रमिक रूपमा सेयर बेचिरहेका पनि हुन्छन्। तर सबै सेयर बेच्छन् भन्ने हुँदैन। केही सेयर बेच्दै, नाफा सुरक्षित गर्दै अगाडि बढ्छन्।
साना लगानीकर्ताहरूमा देखिने अर्को समस्या हो, जोखिम व्यवस्थापनको कमी।
धेरैजसो साना लगानीकर्ताले स्पष्ट योजना बिना लगानी गर्छन्। कहिले सेयर किन्ने वा बेच्ने भन्ने ठोस आधार उनीहरूसँग हुँदैन।
उनीहरू नाफा हुँदा अझै बढ्छ भनेर बस्छन्। घाटा हुँदा फर्किन्छ कि भनेर कुर्छन्। यसले गर्दा उनीहरू समयमै बजारबाट बाहिरिन सक्दैनन्।
नेपालको सेयर बजारमा अर्को समस्या पनि छ। त्यो हो संरचनात्मक समस्या। अर्थात् सूचनाको पहुँचमा असमानता।
ठूला लगानीकर्तासँग सूचना र पहुँच दुवै बढी हुन्छ। साना लगानीकर्ताले प्रायः ढिलो र संशोधित जानकारी पाउँछन्। यसले गर्दा उनीहरू बजारको अन्तिम चरणमा मात्र सक्रिय हुन थाल्छन्।
यसबाट बच्ने उपाय भनेकै भीडलाई पछ्याउने मात्रै होइन, आफ्नै विश्लेषण गरेर लगानी निर्णय लिनुपर्छ। बजारमा आधारभूत पक्षमा बलिया कम्पनीहरू छान्न सक्दा नै ढिलोचाँडो लाभ हुन्छ।