मंगलबार सेयर बजारमा कारोबारमा आएका सबै समूहगत परिसूचकमा सुधार भयो।
गत चैत २५ गतेयता पाँच दिन खुलेको बजारमा धेरै जसो दिन कारोबारमा आइरहेका सबै समूहगत परिसूचकमा सुधार भएको देखिन्छ। लगानीकर्ताहरूमा बजार प्रति फेरि पनि उत्साह बढ्दै गएको यसले देखाइरहेको छ।
सेयर बजारमा चैत मसान्तको प्रभाव देखिएको छ। वैशाख लागेसँगै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण प्रकाशन गर्छन्।
तेस्रो त्रैमासको वित्तीय विवरणको आधारमा चौथो त्रैमासमा कम्पनीहरूले गर्न सक्ने आम्दानीको थोरबहुत अनुमान लगाउन सकिने भएकाले पनि यो अवधिलाई महत्वपूर्ण मानिन्छ।
यस आधारमा धेरै वर्षदेखि नै सेयर बजारमा चैत मसान्तको प्रभाव देखिएको छ।
त्यस्तै, सेयर बजारमा जलविद्युत समूहले ब्रेक–आउट गरेको छ। अन्तिम विन्दु (क्लोज इन्डेक्स) को आधारमा यो समूह अहिलसम्मकै उच्च, ४१२९ विन्दुमा आएको छ।
यसअघिको अन्तरदिनको उच्च विन्दु ४१०४ लाई पनि पार गर्न यो समूह सफल भएको छ।
एउटा मात्र समूहको भरमा समग्र बजारको वृद्धि टिकाउ हुने अपेक्षा गर्न नसकिने भए पनि मंगलबार बजारका सबै समूहमा सुधार देखिएकाले बजार प्रति लगानीकर्ता थप सकारात्मक बन्न थालेका छन्।
अहिले बैंकहरूले वैशाखका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। धेरै बैंकले अधिकतम पाँच प्रतिशतभन्दा कम ब्याजदर दिइरहेका छन्।
निक्षेपमा निरूसाहित भएसँगै यसले बजारमा थप लगानीको वातावरण बनाइरहेको छ।
कर्जाको ब्याजदर पनि थप केही घट्ने देखिन्छ। यस्तो लाभ जलविद्युत कम्पनीहरूलाई थप हुने देखिएको छ।
अहिले इसरायल सहित अमेरिका र इरानबीचको द्वन्द्व निष्कर्षमा पुग्ने संकेत देखिदै गएको छ। यसले नेपाल सहित विश्वभरका अर्थतन्त्र, जनजीवन सामान्य अवस्थामा फर्किँदै जाने अपेक्षा गर्न सकिन्छ।
यति हुँदा हुँदै पनि बजारमा नयाँ सरकार प्रतिको त्रास पूर्ण रूपमा हट्न सकेको छैन।
यसअघि राजनीतिक दल र व्यवसायी पक्राउका घटनाले त्रसित भएको सेयर बजारलाई भविष्यमा आउन सक्ने सम्भावित घटनाले प्रभाव पार्ने देखिएको छ।
सरकारी निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही समयअघि सार्वजनिक गरेको 'भ्रष्टाचारविरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना' मा सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने उल्लेख छ। यो खबर बाहिरिएसँगै बजारमा केहीले चिन्ता व्यक्त गर्न थालेका छन्।
सेयर विश्लेषक अजित खनाल भन्छन्, 'सरकार कहिले कुन बहानामा कहिले कुन बहानामा व्यापारी र उद्योगपति तर्साउँछ। धरपकड गर्छ। यस्तै हो भने सरकारले न पुजीँ पलायन रोक्न सक्छ न कर्मचारीलाई तलब दिन सक्छ।'
यसको प्रभाव बजारमा अहिल्यै नदेखिने सेयर ब्रोकरहरू बताउँछन्।
'यसको प्रभाव अहिल्यै देखिने होइन। किनभने यो विषय अहिले मात्रै उठेको होइन,' एक ब्रोकरले भने, 'नयाँ सरकारले निर्णय गरिसकेको पनि होइन। संसदमा यससम्बन्धि ऐन पुग्छ, छलफल हुन्छ। अहिले भने जसरी कारबाहीको दायरामा निजी क्षेत्र नहाइहाल्न पनि सक्छ।'
यस्ता विषयले निजी क्षेत्रलाई आतंकित बनाउने उनको भनाइ छ। विशेषगरी धेरै अनौपचारिक अर्थतन्त्रको बढ्दो प्रभावका कारण यस्ता विषयले बजारमा प्रभाव पर्छ।
'अहिले नै लगानीकर्ताहरूले यस विषयलाई गम्भीर भएर लिएका छैनन्। भविष्मा प्रभाव देखिने वा नदेखिने भन्ने कुरा यस विषयमा विकास हुँदै जाने घटना क्रममा निर्भर हुन्छ,' ती ब्रोकर भन्छन्।