बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार १० अर्ब ५३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ९ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४२ वटा धितोपत्रको दुई करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २३६ वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।
यसदिन पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
रिज लाइफ इनर्जी, सूर्यकुन्ड हाइड्रोको मूल्य १० प्रतिशत, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा सिन्धु विकास बैंकरहेको छ।
उक्त कम्पनीको मूल्य ९.४७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७५५ रूपैयाँमा झरेको छ।
यसैगरी, भूगोल इनर्जीको मूल्य ७.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४३८ रूपैयाँमा सीमित भएको छ।
बिहीबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको चार हजार ३६६ रूपैयाँमा ६१ करोड ८० लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६२ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेसनल हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ३१८ रूपैयाँ ९० पैसामा ५५ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले घटेको छ।