नेकपा एमालेभित्र नयाँ ढंगले शक्ति संघर्ष सुरू हुँदा पूर्वउपाध्यक्ष विद्या भण्डारी 'पर्ख र हेर' को अवस्थामा छिन्।
निर्वाचनमा गम्भीर पराजय व्यहोरेपछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व स्वीकार्ने कि उनलाई हटाएर पार्टी पुनर्गठन गर्ने बहसले बिस्तारै आकार लिँदै छ।
जनसंगठनका केही अगुवा नेता–कार्यकर्ताले विशेष महाधिवेशनको बहस चलाउन थालेका छन्। एमाले विधानको धारा ७३ मा प्रदत्त अधिकार उपयोग गर्दै उनीहरू विशेष महाधिवेशन बोलाउन राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूको हस्ताक्षर जुटाउन लागेका छन्।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि अध्यक्ष ओलीलाई साथ दिन नसकिने भन्दै पार्टी पुनर्गठनको आधार बनाउन सुरू गरेको चर्चा अहिले एमालेभित्र छ। अध्यक्ष ओलीलाई हटाउने विषयमा उनीहरूको मतक्य भइसकेको पनि एमाले नेताहरू बताउँछन्।
यसरी एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको आवाज सघन बनिरहँदा महाधिवेशनअघि ओलीलाई चुनौती दिएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो धारणा सार्वजनिक गरेकी छैनन्।
पछिल्लो समय उनले कुनै राजनीतिक गतिविधि नगरेको भण्डारीको सचिवालयमा रहेका राजकुमार राईले बताए।
'पार्टी सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेपछि उहाँका हातखुट्टा बाँधिएजस्ता भएका छन्। त्यस कारण उहाँले राजनीतिक गतिविधि गर्ने कुरा भएन, भेटघाटहरू त नियमित गतिविधि भइहाले,' राईले भने।
एमालेले अहिले चलाखीपूर्वक चुनावी समीक्षा तलबाट गराइरहेको छ। जिल्ला कमिटीहरूले विस्तारित भेलामार्फत् चुनावी समीक्षा गरिरहेका छन्। तिनै समीक्षाका आधारमा प्रतिवेदन तयार पारी प्रदेश कमिटीमार्फत् केन्द्रसम्म आइपुगेको छ।
यसरी तलबाट समीक्षा थाल्नुको ध्येय सचिवालयमा उठ्नसक्ने आलोचना छल्नु रहेको पदाधिकारी तहकै नेताको बुझाइ छ।
'सचिवालय तहबाट समीक्षा सुरू हुँदा त्यहाँ नेतृत्वको आलोचना हुन्छ। त्यही आधारमा तल धारणा बन्छ। आलोचना फराकिलो बन्ने भयले नै त्यसलाई छल्न केही प्रश्नावलीहरू पठाएर तलबाट समीक्षा मागिएको हो। तर उनीहरूले चाहेजस्तो समीक्षा आएको छैन। तल पनि नेतृत्व र पार्टी दुवै पुनर्गठन हुनुपर्छ भन्ने आवाज बलियो बन्दै गएको छ,' एक पदाधिकारीले भने।
लामो प्रक्रिया बनाएकैले एमालेले चुनाव सकिएको ४२ दिनसम्म पनि समीक्षा गर्न सकेको छैन। यही वैशाख महिनाभित्रै केन्द्रीय कमिटी बोलाएर चुनावी समीक्षा गर्ने एमाले नेतृत्वको चाहना देखिन्छ।
यसबीच पार्टी अध्यक्ष अोली जेनजी आन्दोलनमा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा प्रहरी हिरासतमा पुगेपछि पार्टीका नियमित काम अवरूद्ध हुन पुगेको तर्क एमाले नेतृत्वले गर्ने गरेको छ।
इतर समूहले भने यसलाई 'नियत' का रूपमा बुझेका छन्।
पूर्वउपाध्यक्ष भण्डारीले अघिल्लो निर्वाचनमा लोकप्रिय मतका आधारमा प्रथम स्थान हासिल गरेको एमालेले यो निर्वाचनमा अपेक्षा अनुसार परिणाम प्राप्त गर्न नसक्नु गम्भीर समीक्षाको विषय भएको टिप्पणी गरेकी छन्।
नयाँ वर्षको सन्दर्भमा शुभकामना सन्देश दिँदै उनले निर्वाचन परिणामको गम्भीर एवं वस्तुनिष्ठ समीक्षा हुनुपर्ने माग गरेकी छन्।
'अघिल्लो निर्वाचनमा लोकप्रिय मतका आधारमा प्रथम स्थान हासिल गरेको नेकपा एमालेले यस निर्वाचनमा अपेक्षा अनुसारको परिणाम प्राप्त गर्न नसक्नु गम्भीर समीक्षाको विषय हो। निर्वाचनको परिणामका कारणहरू खोज्ने क्रममा गरिने समीक्षासँगै पार्टीभित्रको एकता, अनुशासन र आपसी विश्वासलाई अझ सुदृढ बनाउनु अत्यन्त आवश्यक छ। नेकपा एमाले लगायत जनमतमा पछि परेका राजनीतिक दलहरूले निर्वाचन परिणामको गम्भीर एवं वस्तुनिष्ठ समीक्षा गरी प्राप्त निष्कर्षहरूलाई आत्मसात गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरू संयम, अनुशासन र दृढ आत्मविश्वासका साथ अघि बढ्नु आवश्यक छ,' उनले शुभकामना सन्देशमा भनेकी छन्।
यस पटकको निर्वाचन परिणामले मुलुकमा लोकतन्त्र स्थापनाका लागि दशकौं लडेका पुराना दलहरूलाई आफ्नो संगठन, कार्यशैली र जनतासँगको सम्बन्धमा सुधार गर्नुपर्ने स्पष्ट सन्देश दिएको उनको बुझाइ छ।
'तसर्थ, जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात गर्दै जनमुखी कार्यक्रम एवं कार्यशैलीलाई प्राथमिकतामा राख्नु अहिलेको अपरिहार्य आवश्यकता हो। साथै, नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई समयानुकूल रूपान्तरण गर्नु पनि उत्तिकै जरुरी छ,' भण्डारीको शुभकामना सन्देशमा छ।
भण्डारीले सम्पादकहरूसँग भेटघाट गरी चुनावी परिणाम, नयाँ सरकार गठन, पुराना पार्टीहरूको अवस्था लगायत समग्र राजनीतिक परिस्थितिबारे सार्वजनिक वृत्तको धारणा पनि बुझेकी थिइन्।
भण्डारीले गत शुक्रबार तीर्थ कोइराला, शिव गाउँले, भूषण दाहाल, जीवराम भण्डारी, देवप्रकाश त्रिपाठी लगायत सम्पादकसँग भेटघाट गरेर धारणा बुझेकी थिइन्। त्यसको अघिल्लो दिन शम्भु श्रेष्ठ, बसन्त बस्नेतसँग पनि छुट्टाछुट्टै भेटघाट गरेको उनीनिकट नेताले बताए।
त्यसबाहेक एमालेका युवा, विद्यार्थी, पार्टीकै केन्द्रीय नेतासँग पनि नियमित छलफल, भेटघाट गरिरहेकी छन्। पार्टीभित्र गुम्सिँदै गएको निराशा र हतासासमेत बुझिरहेकी छन्।
तथापि उनले खुलेर धारणा नराख्दा भण्डारी समूहमै असन्तुष्टि र छटपटी देखिएको एक नेताले बताए।
'अब पनि पर्खिएर बस्ने सुविधा छैन। पार्टी आन्दोलन कमजोर बन्दै गएको छ। कार्यकर्ता लाखापाखा लाग्न थालिसके। जनतामा नेतृत्व आकर्षणशून्य भएको निर्वाचन परिणामले नै देखाइसक्यो। अब पनि पहल नलिने हो भने हाम्रै पनि भविष्य सोत्तर हुन्छ भनेर हामीले भनिसकेका छौं,' भण्डारी निकट एक नेताले भने।
यसबीच बिरामी परेर त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीलाई भेट्न भण्डारी गएकी थिइन्। त्यहाँ भण्डारीले झन्डै साढे दुई घन्टा बिताएकी थिइन्।
भेट क्रममा अध्यक्ष ओलीबाट नेतृत्व छाड्ने कुनै संकेत नपाएको भण्डारीले बिफ्रिङ गरेकी थिइन्।
'घेराबन्दीमा परेको, आफू र पार्टीविरूद्ध ठूलो षड्यन्त्र भएको' जस्तो आसय प्रकट गरेको भन्दै 'ओली सुध्रने र नेतृत्व छाड्ने संकेत आफूले नपाएको पनि भण्डारीले निकट नेताहरूलाई सुनाएकी थिइन्।
भण्डारी निकट अर्का नेताले पार्टीभित्र 'अब ओलीबाट पार्टी, आन्दोलन चल्दैन भन्ने मत बलियो' भन्दै गएको भन्दै केही दिनमै नतिजा आउने बताए।
'यो बीचमा हामीलाई अप्ठ्यारो पर्यो। अध्यक्षज्यूको बुबाको निधन भयो। शोकमा परेका बेला धेरै भन्ने कुरा आएन। त्यसपछि उहाँ पक्राउ पर्नुभयो। पक्राउ पनि प्रतिशोध साध्ने मात्रै प्रकृतिको भएकाले प्रतिवादमा लाग्नुपर्यो,' ती नेताले भने, 'पूर्वउपाध्यक्षको स्वभाव पनि राजनीतिक ढंगले प्रश्न, प्रतिवाद गरौं, पहलकदमी लिऔं भन्ने भएकैले केही मौनजस्तो सुनिएको हो। अब परिदृश्य बदलिन्छ।'
यो पनि–
विष्णु पौडेल र शंकर पोखरेल केपी ओली हटाउने समझदारीमा पुगेका हुन्?