पश्चिम एसियाको स्ट्रेट अफ हर्मुज क्षेत्रबाट इरानले पक्राउ गरेको नेपाली युवा अमृत झा रिहा भएको खबर थाहा पाएपछि उनकी आमा प्रभावतीसहित परिवार तथा आफन्तजन हर्षित भएकी छन्।
रिहा भएको खबर फैलिनुअघि अमृत नेपालमा रहेका आफ्ना परिवारजनसँग इरानबाट निरन्तर संवादमा थिए।
गएको जनवरी १२ मा अमृतले चलाएको तेलवहाक पानीजहाज स्ट्रेट अफ हर्मुजको आफ्नो जलक्षेत्रमा अवैध रूपमा प्रवेश गरेको भन्दै इरानले चालकदलका सबै सदस्य सहित पानीजहाज नियन्त्रणमा लिएको थियो। पक्राउ परेका अन्य भने भारतीय नागरिक भएको बताइएको छ।
'हिजो मात्रै छोराले (ह्वाट्सएपमार्फत) मेरो ज्वाइँलाई फोन गरेको थियो, अब हप्ता दिन वा दस दिनपछि घर आइपुग्छु भन्दै थियो,' हर्षले गदगद हुँदै प्रभावतीले बिहीबार भनिन्, 'तर उसले आफू रिहा भइसकेको भनेर हामीलाई भनेको थिएन। पछि समाचारमा त ऊ रिहा भइसकेको खबर आयो।'
उनका अनुसार पक्राउ परिसके पनि अमृतले मौका मिल्ने बित्तिकै परिवारजनलाई फोन गरेर आफ्नो हालखबर सुनाउने गरेका थिए। त्यसका लागि उनले आफूलाई भेट्न आउने साथीहरूको फोन प्रयोग गरेका थिए।
'हिजो र अस्ति त दुई दिन लगातार कुरा भएको थियो। अब घर फर्किँदैछ भन्ने खबर पाएपछि हामी धेरै खुसी छौं,' उनले भनिन्।
उदयपुरको गाईघाट घर भएका ३२ वर्षीय झा विगत १० वर्षदेखि दुबईका कम्पनीहरूमा कार्यरत थिए। परिवारजनका अनुसार पछिल्लो पटक उनी दुई वर्षअघि घर आएर दुबई फर्किएका थिए। उनले इरानमा पक्राउ पर्नुअघि छिट्टै घर आउने योजना बनाएका थिए।
अब छिट्टै इरानबाट रिहा भएर घर आउन लागेको थाहा पाउने बित्तिकै अमृतकी आमा प्रभावती सँगै बाबा गोविन्द, दिदी पूजा, भिनाजु राजेश र बहिनी सुधाले अहिले सन्तोषको सास फेर्ने बतावरण बनेको छ।
कूटनीतिक पहल
उनको रिहाइबारे स्पष्ट विवरण आउन बाँकी छ। तर परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार उनलाई दक्षिणी इरानको स्ट्रेट अफ हर्मुज नजिकै रहेको केशम टापूमा हिरासतमा राखिएको थियो।
स्ट्रेट अफ हर्मुजको इरानको केशम टापू। सौजन्यः परराष्ट्र मन्त्रालय
त्यहाँको 'स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत अनौपचारिक रूपमा मन्त्रालयमा प्राप्त भएको छ,' मन्त्रालयले मिडियालाई पठाएको एक नोटमा भनिएको छ।
'सो आदेशको विस्तृत विवरण उपलब्ध गराउन र निज झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउन तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखिएको बेहोरा जानकारी गराइएको छ।'
अमृत पक्राउ मामिलाबारे जानकार एक कूटनैतिक अधिकारीका अनुसार उनलाई गत जनवरीको दोस्रो साता अवैध रूपमा इरानी जलक्षेत्रमा प्रवेश गर्दै तेल तस्करी गरेको अभियोग लगाइएको थियो।
गत फेब्रुअरी २८ मा इरानविरूद्ध इजरेल र अमेरिकाले हमला थाल्ने बित्तिकै अमृतको कर्मथलोका रूपमा रहेको खाडीको स्ट्रेट अफ हर्मुज क्षेत्रमा तनाव हुन थालेको हो, जुन अहिलेसम्म जारी नै छ। र, युद्ध विराम भए पनि त्यस क्षेत्रमा तेलवाहक जहाजहरू सहज रूपमा बहन सकिरहेका छैनन्।
त्यस क्षेत्रबाट विश्वको २० प्रतिशत तेल आपूर्ति हुन्छ। तर इरान युद्धका कारण आपूर्ति असहज बनेकाले विश्व बजारमा पेट्रोलियमको अभावसँगै चर्को मूल्यवृद्धि भइरहेको छ।
अमृत दुबईस्थित ब्ल्याक सि मरिन एलएलसी नामक कम्पनीमा कार्यरत रहेको बताइको छ।
अमृतकी आमा प्रभावतीका अनुसार अमृत पक्राउ परेपछि त्यो कम्पनीका मालिकसँग पनि आफ्नो परिवारको निरन्तर कुराकानी हुने गरेको छ। कम्पनीका मालिकले पनि अमृत छिट्टै रिहा भएर घर फर्किने वातावरण तयार भएको जानकारी दिएका छन्।
यो पनि पढ्नुस्- नयाँ सरकारले छोरालाई रिहा गराएर घर ल्याउँछ भन्ने आश छ
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal