गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँचै कारोबार दिन घट्यो।
साताभरमा नेप्से ५२ अंकले ओरालो लाग्दै २६४९ विन्दुमा बन्द भएको छ। यो गत चैत १० गते २९६० विन्दुसम्म पुगेयताकै न्यून स्तर हो।
लगातारको गिरावटले बजारमा निराशा बढाएको देखिए पनि पछिल्ला कारोबारको सुक्ष्म अवस्था हेर्दा बिक्री दबाब बिस्तारै कम हुँदै गएको संकेत देखिन थालेको छ।
केही सातादेखि नेप्सेले २७०० विन्दुलाई आधार बनाएर टिक्ने प्रयास गरिरहेको थियो। तर सो तहमा टिक्न नसकेपछि परिसूचक अहिले २६३३ देखि २६४० विन्दुको क्षेत्रमा नयाँ टेवा खोजिरहेको देखिन्छ।
बजारले आगामी प्रवृत्ति तय गर्नुअघि यो तहमा रहँदा केही समय सीमित दायराभित्र उतारचढाव गर्नसक्छ। त्यसैले लगानीकर्ताले हाल यो टेवालाई नजिकबाट नियालिरहेका छन्।
गत सातामध्ये दोस्रो कारोबार दिन बजार सबैभन्दा धेरै २६ अंकले घटेको थियो। त्यही दिनलाई आधार मानेर त्यसयताको मूल्य परिवर्तन विश्लेषण गर्दा पनि बजारमा बिक्री दबाब घट्दै गएको संकेत गर्छ।
कारोबारमा रहेका २७६ कम्पनीमध्ये ३० कम्पनीको सेयर मूल्य अन्तिम कारोबार दिनसम्म आइपुग्दा या त स्थिर रह्यो वा केही वृद्धि भयो। बाँकी करिब २४६ कम्पनीको मूल्य भने घटेको छ।
३० कम्पनीको मात्रै मूल्य टिक्नुले बजार सकारात्मक नै रहेको संकेत गर्दैन। तर यो अवधिमा २४६ कम्पनीमध्ये २३३ कम्पनीको मूल्य चार प्रतिशतभन्दा कमले मात्रै घटेको छ।
अर्थात् अधिकांश कम्पनीमा गिरावट कायम रहे पनि बिक्री दर पहिलाको तुलनामा कम देखिएको छ।
अझै आत्तिएर बिक्री गर्ने अवस्था रहेको भए बजारका धेरै कम्पनीको मूल्य ठूलो दरले घट्ने सम्भावना रहन्थ्यो। अहिले त्यस्तो अवस्था देखिएको छैन।
धेरै मूल्य घट्नेमा पछिल्ला समय सूचीकृत भएर छोटो अवधिमै उच्च मूल्यमा पुगेका कम्पनीहरू छन्।
सुरूआती बजारमा १० कित्ताको दरमा पाएकाहरूबाटै यस्ता कम्पनीको सेयर आपूर्ति हुने भएकाले नयाँ कम्पनीहरूको मूल्य उच्चले बढ्छ। यो क्रममा मूल्य उच्चले बढिसकेका कम्पनीमा अहिले नाफा सुरक्षित गर्ने प्रवृत्ति बलियो हुने भएको हो।
यही कारण बजार कमजोर हुँदा मूल्यमा तुलनात्मक रूपमा बढी दबाब देखिनु स्वाभाविक मानिन्छ। त्यसैले समग्र बजारको प्रवृत्ति बुझ्न यस्ता कम्पनीको प्रभाव अलग्गै हेर्नुपर्ने आवश्यकता पनि हुन्छ।
बजारमा अर्को महत्त्वपूर्ण संकेत मूल्य घट्ने कम्पनीको संख्या होइन, मूल्य घट्ने गति हो। पछिल्ला कारोबार दिनमा अधिकांश कम्पनीको मूल्य घट्ने दर क्रमशः कम हुँदै गएको देखिन्छ।
यसले बजारमा आक्रामक बिक्रीको दबाब बिस्तारै कमजोर बन्दै गएको संकेत गर्छ। यसको अर्थ बजारमा बलियो खरिद लहर सुरू भइसकेको भन्ने होइन। किनभने बिक्री दबाब घटे पनि खरिदकर्ता बढेको देखिएको छैन।
लगानीकर्ताहरू अझै ठूलो निर्णय लिनुभन्दा बजारको दिशा स्पष्ट हुने प्रतीक्षामा रहेको देखिन्छ।
प्राविधिक सूचकहरूले पनि यही अवस्था देखाइरहेको छ।
नेप्सेको १४ दिने आरएसआई बुधबार २.४६ को अत्यन्त न्यून तहमा पुगेको थियो। शुक्रबार यो सूचक बढेर ३.७५ मा पुग्यो।
यो अझै पनि अत्यधिक बिक्री भएको क्षेत्रमै रहे पनि न्यूनतम बिन्दुबाट माथि उक्लिन थालेको संकेत हो। सामान्यतया यस्तो अवस्थामा बजारमा तत्काल ठूलो उछालभन्दा पनि सानो सुधार वा सीमित दायराभित्रको उतारचढाव देखिन सक्छ।
अहिलेकै अवस्थालाई दीर्घकालीन सुधारको सुरूआत भन्ने पर्याप्त आधार भने देखिँदैन। बजारको दिगो सुधारका लागि परिसूचक मात्रै होइन, मूल्य बढ्ने कम्पनीको संख्या पनि उल्लेखनीय रूपमा बढ्नुपर्छ। हाल सीमित कम्पनीमा मात्रै मूल्य टिकिरहेको अवस्था छ भने अधिकांशमा अझै बिक्री दबाब छ।
आर्थिक वर्षको अन्तिम चरण नजिकिएकाले बजारमा अहिले नै बिक्री वा खरिद चाप देखिने सम्भावना छैन।
साथै, आगामी मौद्रिक नीति सार्वजनिक हुने समय नजिकिँदै गएकाले त्यसबाट आउने व्यवस्थाप्रति लगानीकर्ताको चासो बढेको छ।
यही कारण धेरै लगानीकर्ता तत्काल आक्रामक खरिदमा जानुभन्दा 'पर्ख र हेर' को रणनीतिमा नै देखिन्छन्।
यसबीच बिक्रीको दबाब केही कमजोर हुँदै जानु सकारात्मक संकेत भए पनि बजारले स्पष्ट सुधारको संकेत दिइसकेको छैन।
आगामी कारोबारमा मूल्य बढ्ने कम्पनीको संख्या बढ्छ कि बढ्दैन र नेप्सेले २६३०–२६४० विन्दुमा बलियो टेवा बनाउन सक्छ कि सक्दैन भन्ने कुराले नै बजारको आगामी दिशा निर्धारण गर्नेछ।