प्राइम कमर्सियल बैंकले आज (मंगलबार) देखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।
बैंकले १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा '६.२५ प्रतिशत प्राइम बैंक डिबेन्चर २०९३' निष्कासन गरेको हो।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।
सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ।
सो ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको ऋणपत्रमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि असार ३० गतेसम्म लम्बिनेछ।
बैंकलाई केयर रेटिङ नेपालले 'केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ ए' प्रदान गरेको छ।
यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षित रहेको जनाउँछ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।