सेयर बजारमा एउटा भनाइ प्रचलित छ — लगानीकर्ताहरूको उत्साह, मान्यता, आवेग, अपेक्षाको सूचक नै बजार सूचक हो। यसको चाल लगानीकर्ताहरूको मनोविज्ञानको आधारमा नै चल्छ। त्यसैले, लगानीकर्ताको मनोविज्ञानमा हुने उतारचढाव अनुसार नै सेयर बजारको प्रवृत्ति बनिरहेको हुन्छ।
यही मनोविज्ञान कै कारण सेयर बजारमा समय समयमा दुई महत्वपूर्ण विन्दुहरू बनिरहेका हुन्छन्।
यी विन्दु हुन् — टेको (टेवा) र खड्को (प्रतिरोध)।
बजारको उतारचढाव क्रममा कुन विन्दु टेवा हुन सक्छ र कुन विन्दु प्रतिरोध भनेर हेर्न फिवोनाची रिट्रेसमेन्ट वा एक्सटेन्सन, पीभट विन्दु केही उदाहरण हुन्।
आज भने हामी प्राविधिक विश्लेषणको राम्रो ज्ञान नहुँदा पनि सामान्य लगानीकर्ताले समेत हेर्न सक्ने टेवा र प्रतिरोधको कुरा गर्छौं।
यी विन्दुहरू कहिलेकाहीँ निश्चित जस्तै नै हुन जान्छ। अर्थात् कालान्तरसम्म पनि यस्ता विन्दुहरूमा सेयर बजार परिसूचकले प्रतिक्रिया जनाइरहन्छ।
र, एउटै विन्दु कहिले टेवा बनेर बजारलाई घट्नबाट रोक्ने दरिलो टेवा बनिरहेको हुन्छ। कहिले त्यही तह बजारले पार गर्नै मुस्किल पर्ने खड्को बनिरहेको हुन्छ।
पछिल्लो केही समय यता नेप्सेको यस्तो विन्दु बनेको छ, २६०० को विन्दु।
असार १२ गतेयता नेप्सेको गिरावट रोक्न २६०० को विन्दुले करिब करिब एक महिनासम्म टेवा विन्दुका रूपमा काम गर्यो। यो विन्दुमा नेप्सेले तीन पटकसम्म टेवा परीक्षण गर्यो। केही समयअघि भने नेप्से यो विन्दुमुनि आयो।
अहिले केही दिनयता नेप्सेमा यही विन्दु प्रतिरोध वा खड्को बनिरहेको छ। जसलाई नेप्सेले पटक पटक पार गर्न खोजिरहे पनि सम्भव भइरहेको छैन।
त्यसबाहेक पनि सयको अंकलाई लगानीकर्ताले गम्भीरताका साथ हेर्छन्। त्यसैले यस्तो सय अंकका तह मनोवैज्ञानिक तह पनि भनिन्छ।
तर यस्ता टेवा र प्रतिरोध विन्दु त्यति खेर मात्रै दरिलो टेको वा दरिलो खड्को बन्छन्, जतिखेर अवस्था सामान्य हुन्छ। असामान्य अवस्थामा यस्ता तह बजारले सहजै पार गर्छन्।
चरम उत्साहमा यस्तो खड्को झिनोमसिनो भएर आइदिन्छ भने चरम निराशामा पनि झिनोमसिनो नै सावित हुन्छ।
अब प्रश्न उठ्छ — अहिले यो प्रतिरोध तोड्ने शक्ति बजारसँग छ?
पछिल्ला दुई दिन बुधबार र बिहीबारमा भएका केही निर्णयले त्यसको सम्भावना बढाएका छन्।
राष्ट्र बैंकले बुधबार राति सार्वजनिक गरेको परिपत्रका मुख्य दुइटा प्रावधानले सेयर बजारलाई प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पार्न सक्छ।
राष्ट्र बैंकले फेरि पनि बैंक तथा वित्तीय संस्थाहरूलाई साउन १५ गतेसम्म उठेको ब्याज वित्तीय विवरणमा देखाउन पाउने सुविधा दिएको छ। यसले बैंकहरूलाई पाकेको ब्याज उठाउने थप समय मिलेको छ। यसबाट बैंकहरूको आम्दानी बढ्न र नाफामा सुधार आउन सक्छ।
राष्ट्र बैंकले राम्रा कम्पनीहरूको सेयर धितो राखेर बैंकहरूबाट अन्य कम्पनीहरूमा भन्दा १० प्रतिशत बढी कर्जा पाउने व्यवस्था गरिदिएको छ। १८० कार्य दिनको अन्तिमको औसतको आधारमा वा बजार मूल्यमध्ये जुन कम छ, त्यही दरमा ८० प्रतिशतसम्म कर्जा पाइने भएको हो। अन्यमा भने ७० प्रतिशतसम्म मात्रै कर्जा पाइन्छ।
बुधबार साँझ नै नेपाल धितोपत्र बोर्डले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र आगामी १० वर्षको मार्गचित्र जारी गरेको छ। यसले पनि बजार सुधारका प्रतिबद्धता जनाएको छ।
बिहीबार मात्रै गभर्नर डा. विश्व पौडेल र प्रधानमन्त्री बालेन शाहबीच बैंकिङ क्षेत्र, पुँजी बजारका विषयमा छलफल भएको बताइएको छ। दुईबीच के कस्ता कुराकानी भए भन्ने जानकारी बाहिर आइसकेको छैन।
तर सडकदेखि संसदसम्म सरकार बनेयता सेयर बजार उच्चले घटेको र लगानीकर्ताको पाँच खर्ब बराबरको सम्पत्ति ह्रास भएको विषयमा सरकारको आलोचना हुँदै आएको थियो। यही सन्दर्भमा भएको यो भेटलाई खास मानिएको छ।
बिहीबार बजारलाई सकारात्मक प्रभाव पर्न सक्ने थप एक कारण थपिएको छ।
केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर थप घटाएका छन्। यसले ब्याजदर औसतमा घटेको छ। निक्षेपको ब्याजदर घट्दा पुँजी सेयर बजारमा आउने भएकाले सकारात्मक प्रभाव मानिने विश्वास गरिन्छ।
यद्यपी लामो समयदेखि ब्याजदर न्यून विन्दुमा आएको छ। बजार बियरिस प्रवृत्तिमै आइनसके पनि यसको धेरै लाभ लिन सकेको जस्तो देखिँदैन।
बजारलाई नकारात्मक प्रभाव पर्न सक्ने कारण पनि देखिएका छन्।
जेठ १५ गते सरकारले ल्याएको बजेटमा उल्लेख पुँजीगत लाभकर यही साउन १ गतेबाट लागू हुने भएको छ। ५ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म रहेको पुँजीगत लाभकर बजेटले बढाएर ७.५ प्रतिशतदेखि १० प्रतिशत बनाएको छ।
पछिल्लो समय प्रधानमन्त्री बालेनले व्यवसायीहरूसँग भेटघाट र छलफल बढाएका छन्। तर केही समयअघि प्रधानमन्त्री भेटेका केही व्यवसायीले भने निराशा व्यक्त गरेका खबर आएका छन्। यसले पनि सकारात्मक प्रभाव कम गर्न सक्छ।