पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको कसुर नगरेको बयान दिएका छन्।
बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरूद्ध विशेष अदालतमा २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ। उक्त मुद्दामा पौडेललाई मुख्य प्रतिवादी दिपक भट्टको मतियारको रूपमा प्रस्तुत गरिएको विशेष अदालतले जनाएको छ।
पौडेलमाथि श्रीराम टोबाको कम्पनीको २० प्रतिशत सेयर अर्का प्रतिवादी दिपक भट्टको हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिलाई सस्तोमा दिलाएको आरोप छ।
पौडेलले आफूमाथि लगाइएका आरोपहरू तथ्य र प्रमाणमा आधारित नभएको बताएका हुन्।
यस मुद्दामा ६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ। कम्पनीहरू सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका छन्।
पौडेलले विभागसमक्ष गरेको बयानमा आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको बताएका छन्।
‘हिमालन रिइन्स्योरेन्स र अन्य बीमाहरूको इजाजत दिने वा नदिने भन्ने अधिकार नेपाल बीमा प्राधीकरणमा निहित रहेको विषय हो। हिमालयन रिइन्स्योरेन्स र अन्य लघु बीमाहरूलाई इजाजत दिने र एपिआई पोलिसी, ब्रोकर लाइसेन्स देखि नयाँ स्टक एक्सचेन्जसँग सम्बन्धित विषयमा मेरो कोही कसैसँग कुनै प्रकारको संलग्नता छैन,’ उनले बयानमा भनेका छन्।
उनले आफूले श्रीराम टोबाकोको २० प्रतिशत सेयर दिलाउनू भनेको र सञ्चालक भेटेको भन्ने आरोप पनि झुटो रहेको बताएका छन्।
‘म विरूद्ध लगाइएका सबै आरोपहरू आधारहीन र सरासर झुटा हुन्। मैले श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर दिपक भट्टको कम्पनीलाई दिनु भनी उक्त कम्पनीका सञ्चालकहरूलाई भनेको र भेट गराएको भन्ने आरोप सरासर झुटा हो,’ उनले बयानमा भनेका छन्, ‘दिपक भट्ट र श्रीराम टोवाको उद्योगबीचको आपसी सम्बन्धमा मेरो कहीँ कतै र कुनै हिसाबले संलग्न छैन।’
त्यस्तै आफू संलग्न नै नभएको व्यवसाय र कारोबारको जिम्मा लिन पर्छ भन्न नमिल्ने पनि उनले बयानको क्रममा भनेका छन्।
‘आफूलाई जानकारी नभएको वा आफू संलग्न नभएको कुनै व्यक्ति वा व्यावसायीहरू बीचको आपसी कारोबारको जिम्मा मैले लिनुपर्छ भन्ने हुन सक्दैन,’ उनले भने, ‘मैले म अर्थमन्त्री हुँदा पद र प्रभावको दुरूपयोग गरी उच्च मुल्यको श्रीराम टोवाकोको सेयर न्यून मुल्यमा प्रतिवादी दिपक भट्टको नियन्त्रणमा रहेको हिमालयन एसेष्टलाई दिलाउने व्यवस्था मिलाएको भन्ने आरोप सरासर झुटो हो,’ उनले भने।
भट्टलाई सेयर दिलाएर विभिन्न कसुरबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोतलाई लुकाउन एवं छल्न वातावरण दिलाएको पौडेलमाथि आरोप छ। यसरी उनले मतियारको रूपमा कार्य गरेको विभागको आरोप छ।
हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले श्रीराम टोबाकोको ३ लाख ७५ हजार कित्ता सेयर किनेको थियो। जसको किताबी मुल्य अनुसार प्रतिकित्ता ८१६ पर्थ्यो। यो मूल्यअनुसार सबै सेयरको वास्तविक किताबी मूल्य करिब ३० करोड ६२ लाख ६६ हजार २५० रुपैयाँ पर्छ।
तर सेयर प्रति कित्ता १०० रुपैयाँका दरले किनेको देखिएको हो। त्यही अनुसार ३ करोड ७५ लाख रुपैयाँ भुक्तानी गरेको विभाग स्रोतले बतायो।
स्रोतका अनुसार बाँकी रहेको २० करोड ९० लाख रुपैयाँ लाभांश र भविष्यमा आउने लाभांशबाट हिसाब मिलाउने सहमतिमा राखेको देखिएको हो।
यसरी दिपक भट्ट र उनको कम्पनीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको आरोप छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार पौडेललाई मुख्य कसुरदार भट्टलाई भन्दा आधा सजाय माग गरिएको छ।
मुख्य कसुर गर्नेलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्य हेरी दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय माग गरेको छ। अर्थात, भट्टको हकमा यो सजाय माग गरिएको छ।
पौडेलको हकमा भने यसको आधा सजाय माग गरेको हो।
पौडेललाई पूर्व अर्थमन्त्रीको हैसियतमा रहँदा अपराध गरेको भन्दै थप सजाय समेत माग गरेको छ। यसरी राष्ट्रसेवकको रूपमा कसुर गरेको भन्दै उनलाई माथि उल्लेख गरेकै सजायमा थप १० प्रतिशत सजाय माग गरेको छ।
श्रीराम टोबाकोका सञ्चालक चुन्नप्रसाद पौडेलको बयानले अनुसन्धानमा तानिएका थिए विष्णु पौडेल
चुन्नप्रसाद पौडेल र विष्णु पौडेल हालै सम्पन्न भएको निर्वाचनमा रूपन्देही-२का प्रतिस्पर्धी हुन्। चुन्नप्रसाद नेपाली कांग्रेस र विष्णु नेकपा एमालेबाट चुनावी प्रतिस्पर्धी थिए। तर दुवै पराजित भएका थिए।
चुन्नप्रसाद टोबाको कम्पनीका संस्थापक सञ्चालक एवं सेयरधनी हुन्। दिपक भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेपछि बयानका लागि चुन्नप्रसादलाई पनि बोलाएर बयान कागज गराइएको थियो।
बयान कागजको क्रममा श्रीराम टोबाकोको २० प्रतिशत सेयर दिपक भट्टले कसरी पाए भन्ने विषयमा खुलाउँदा विष्णु पौडेललाई मुछेको देखिन्छ।
चुन्नप्रसादले दिपक भट्टसँग भेटघाट नै विष्णु पौडेलले गराइदिएको विभागसमक्ष बताएका छन्।
‘मलाई भट्टसँग तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नै चिनजान गराएका हुन्। हाम्रो व्यवसायमा सबै सरकारी निकायहरूमा कारोबारका लागि उनैले सहजीकरण गर्छन्। भट्टलाई साझेदारको रूपमा भित्र्याउँदा हाम्रो व्यवसाय देश बाहिर पनि विस्तार गर्न सहज हुन्छ। कम्पनीलाई अझै विकास गर्न सकिन्छ भने बमोजिम सेयर बिक्री गरिएको हो,’ चुन्नप्रसादले भनेका थिए।
पौडेलले भट्ट नभई नहुने र चिनजान गर्नै पर्छ भनेर जबरजस्ती भेटाइदिएको पनि उल्लेख गरेका थिए।
भट्टलाई पौडेलको भनाइ अनुसार व्यवसायिक साझेदार बनाइसकेपछि सुपारी आयात गर्न पनि सहज भएको उनले बयानमा भनेका थिए।
‘भट्टलाई व्यावसायिक साझेदारको रूपमा भित्र्याएपछि उद्योगले सुपारी आयात गर्न पाउने कोटा निर्धारण भई सुपारी आयात गर्न पाएपछि व्यवसाय गर्न पनि सहज भयो। भट्ट र पौडेलले नै सहजीकरण गरिदिएका हुन्। यी कारणले हिमालयन एसेय्टलाई सेयर दिन बाध्य पारिएको हो,’ उनले बयानमा भनेका छन्।