भदौ १२ गते शुक्रबार परेको जनै–पूर्णिमा पर्व नजिकिँदै गर्दा नेपालका हिन्दु र बौद्ध धर्म मान्ने हजारौं तीर्थारू यतिखेर लाङटाङ निकुञ्जमा रहेको गोसाइँकुण्ड वा पाँच पोखरीजस्ता सुन्दर हिमाली तीर्थस्थल यात्रामा वा त्यसको तयारीमा व्यस्त छन्।
देशको सुदूरपश्चिमदेखि पूर्वैसम्म यो बेला हिमाली तालमा गएर स्नान गर्ने चलन छ।
तर मैले शनिबार मात्र सकेको वार्षिक गोसाइँकुण्ड पदयात्राको क्रममा अधिकांश पदयात्री वा तीर्थारू हिमाली ताल यात्राको क्रममा हुन सक्ने जोखिम र त्यसलाई कम गर्न अपनाउनुपर्ने सावधानीबारे बेखबर वा लापर्बाह पाएँ।
उत्तरी नेपालको सुन्दर हिमाली क्षेत्रमा गरिने यात्रा प्रायः रमणीय र स्मरणीय हुन्छ नै। तर त्यस्तो यात्राको क्रममा भेटिएका अधिकांश पदयात्री र तीर्थारू बाढीपहिरोको खतराबारे सावधान रहे पनि मौसम पूर्वानुमानबारे सुसूचित रहेको पाइनँ। त्यस्तै एक्कासि उच्च भूभागमा पुग्दा हुन सक्ने घातक लेक बिमारीको रोकथाम र उपचारबारे निकै कम यात्री मात्रै सचेत पाइए।
अझै महत्त्वपूर्ण कुरा– हिमाली क्षेत्रका कुण्ड वा तालमा स्नान गर्ने क्रममा डुबेर मृत्यु हुने जोखिमबारे प्रायः यात्री सावधान रहे पनि केही युवाले लापर्बाही गर्दै आफ्नो जीउज्यान जोखिममा पारेको देखेँ।
अब यी तीन विषयबारे थप चर्चा गर्दैछु।
बाढीपहिरोको खतरा
धुन्चेदेखि पूर्वतर्को खेन्दी देउराली क्षेत्रको पदमार्गमा वर्षापछि पहिरो र ढुंगा झर्ने जोखिम कायमै छ। तस्बिर: विनोद दाहाल फेसबुक
पहिलो, जनै–पूर्णिमा मध्य वर्षाको बेला पर्छ। यो बेला राजमार्गदेखि पदमार्गसम्मै जताततै बाढी पहिरो वा पहाडबाट चट्टान वा ढुंगा खस्ने जोखिम उच्च हुन्छ। यसपालि पनि अवस्था त्यस्तै छ।
गोसाइँकुण्ड रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार पासाङ ल्हामू राजमार्गको बेत्रावतीदेखि रसुवागढीसम्म कम्तीमा ७ ठाउँमा पहिरो गएपछि आइतबार दिनभर पन्छाउने काम जारी रह्यो। भारीदेखि अति भारी वर्षाको क्रम चलिरहेकाले जुनसुकै बेला पहिरो वा चट्टान खस्ने खतरा कायमै छ।
प्रजिअ परियारले भने, 'धुन्चेबाट गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने खेन्दी–देउराली खण्डमा पनि पहिरोले हिँड्ने बाटो नै बगाइदिएपछि हामीले सेना लगाएर बाटो खोलेका छौं। साँझ अबेर हिँड्ने बेला सबैले विशेष सावधानी अपनाउन आग्रह गर्छौं।'
त्यहाँ पुग्न पार गर्नुपर्ने घट्टे खोलामा समेत बाढी उर्लिएर पदमार्गसम्मै आउने जोखिम उत्तिकै देखिन्छ।
पूर्वी लाङटाङको पाँच पोखरी जाने सिन्धुपाल्चोकका सडकमा बाढी पहिरोको जोखिम कायमै छ। अन्यत्रको अवस्था पनि फरक छैन।
मौसम विज्ञान विभागको पूर्वानुमान भन्छ — आगामी तीन दिन पूरै नेपालको 'पहाडी भूभागमा 'गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ।
त्यसैले विभागले सबैलाई निरन्तर सूचित र अद्यावधिक हुन अनुरोध गरेको छ।
घातक लेक बिमारीको जोखिम
नाग पञ्चमीको बिहान चार युवा डुब्न लागेको ताल किनार देखाउँदै विजय बाबा। तस्बिर: सुरेन्द्र फुयाल
गोसाइँकुण्डको पश्चिमी किनार नजिकै बनेको नयाँ शिवलिंगम् नजिकै भक्तजन। शुक्रबारसम्म रबरको ट्युब नभएको यस क्षेत्रमा गत साता डुब्न लागेका चार युवालाई विजय बाबाले आफूले लौरीको सहाराले उद्धार गरेको बताए। तस्बिर: सुरेन्द्र फुयाल
गोसाइँकुण्ड समुद्र सतहबाट करिब ४४०० मिटर उचाइमा छ। त्यही ताल किनारमा करिब ४०० मिटर उचाइमा रहेको चितवनबाट आएका तीन तीर्थारू शुक्रबार बिहान 'फुट्ला जस्तो गरी टाउको दुखिरहेको' गुनासो गर्दै थिए।
विज्ञहरूका अनुसार हेस भनिने एक प्रकारको लेक बिमारीले छोप्दा ठीक त्यस्तै लक्षण देखिन्छ।
उनीहरू भरतपुरबाट धुन्चे (२००० मिटर) पुगेर एक रात बिताएलगत्तै छिटोछिटो माथि माथि पुगेका थिए। त्यसको अर्थ उनीहरू तीन दिनमा ४ हजार मिटर माथि पुगिसकेका थिए। तालमा स्नान र पूजालगत्तै तल झर्न थाल्दा पनि उनीहरू पीडामा देखिन्थे।
रसुवाका प्रजिअ नरेन्द्र परियारका अनुसार पदमार्गमा ठाउँ ठाउँमा तैनाथ सुरक्षाकर्मीका टोलीले दिनैपिच्छे लेक लागेका तीर्थारूको उद्धार गरिरहेको छ। आउने साता त्यो क्रम अझै तीव्र हुने डर छ। किनभने, शुक्रबारसम्म करिब १२ हजार तीर्थारू मेला भर्न गोसाइँकुण्ड पुग्ने अनुमान छ।
विज्ञहरूका अनुसार समुद्र सतह नजिकै बस्ने मानिसलाई काठमाडौंको १३०० मिटरदेखि नै हल्का लेक लाग्न सक्छ। करिब २५०० मिटर उचाइदेखि माथि पुग्दा लेक लाग्ने समस्या गम्भीर हुन सक्छ।
त्यस्तै उच्च भूभागमा जाँदा २७०० मिटर (करिब शिवपुरी शिखरको उचाइ) देखि माथि पुगेपछि दिनमा करिब ५०० मिटरभन्दा माथि गएर सुत्नु हुँदैन।
तर गोसाइँकुण्ड र अन्य कुण्ड जाने धेरै यात्रीले त्यो सीमा मिचेर निकै माथि पुगेर जोखिम मोल्ने पाइन्छ। मेलाको बेला त बियर र झ्वाइँखट्टे भनिने तताइएको रक्सी पिउनेहरू पनि भेटिइन्छन्। विज्ञहरू उच्च भूभागमा मदिरा वा एनर्जी ड्रिंकको सट्टा पानी वा जीवनजल पिउने सुझाव दिन्छन्।
समुद्र सतहबाट ३००० मिटरदेखि माथि मानिसको फोक्सोले अक्सिजन तान्ने क्षमता कम हुँदै जान्छ। शरीरको पानी धेरै सुक्ने, निद्रा पातलो हुने र टाउको दुख्ने समस्या देखा पर्छन्।
त्यसैले विज्ञहरू आरामले सास फेर्दै र पर्याप्त पानी पिउँदै अघि बढ्ने सुझाव दिन्छन्।
अन्यथा असह्य टाउको दुख्ने एएमएस, गिदीमा पानी जम्ने हेस वा फोक्सोमा पानी वा रगत जम्ने हेप जस्ता गम्भीर लेक बिमारी भएर मानिसको ज्यानै जोखिममा पर्न जान्छ।
डुबेर मृत्यु हुने जोखिम
गोसाइँकुण्ड महादेवको मन्दिर नजिकै पूजा र स्नान गर्न व्यस्त भक्तजन। यहाँ उद्धारका निम्ति डोरी जडित रबरको ट्युब राख्न थालिएको छ। तस्बिर: सुरेन्द्र फुयाल
गोसाइँकुण्डमा व्यवसाय गर्ने स्थानीयवासी, पुजारी र संन्यासीले गत वर्ष साउन ११ गते तालमा भएको दुःखद घटना अझै बिर्सिएका छैनन्।
त्यस दिन मोरङ घर भएका दुई युवा, २६ वर्षीय सुजन ढकाल र २८ वर्षीय मनोज न्यौपाने गोसाइँकुण्डमा सधैंका लागि बिलाएका थिए। गोसाइँकुण्ड महादेवको मन्दिर अगाडिपट्टि नुहाउने र पौडी खेल्ने क्रममा एक जना डुबेपछि उनलाई बचाउन अर्का युवा तालभित्र गएका थिए।
कसैले उनीहरूको उद्धार गर्न सकेनन्। उनीहरू जीवित फर्किन सकेनन्।
रसुवाका पुराना पत्रकार ज्ञानेन्द्र न्यौपानेका अनुसार २०४२ सालदेखि अहिलेसम्म गोसाइँकुण्डमा डुबेर कम्तीमा ७ जनाको ज्यान गइसकेको छ। डुबेर मृत्यु हुने समस्या नेपालका विकराल छ किनभने देशभर बर्सेनि करिब १,५०० जनाको डुबेर मृत्यु हुने गरेको बताइन्छ।
मोरङका युवाको ज्यान गएपछि गोसाइँकुण्डमा लाइफ–ब्वाइ भनिने डोरी जडित ट्युबका तीन वटा रिङ किनारमा राख्न थालिएको छ।
तैपनि केही दिनअघि पोहोरको साउन ११ को जस्तो दुःखान्त दोहोरिने अवस्था 'झन्डै आइसकेको' बताउँछन् आफ्नो नाम 'गोसाइँकुण्ड विजय बाबा' बताउने हिन्दु साधु।
उनी गोसाइँकुण्डको किनारमा पूजाआजामा समय बिताउँछन्। गत शुक्रबार उनी तालको पश्चिमी डिलमा रहेको हेलिप्याड नजिकै किनारमा बनाइएको नयाँ शिवलिंगम् छेउछाउमा भेटिए।
विजय बाबाका अनुसार एक साताअघि गएको नागपञ्चमीको बिहानको हो।
'यहीँ (नयाँ शिवलिंगम्) तल एक जना पौडी खेल्न पसेका थिए, साथीहरूले भिडिओ खिच्दै थिए। उनी डुब्न थालेपछि अर्का युवा गए,' विजय बाबाले अगाडितिर तालको गहिरो किनारतर्फ औंलाले देखाउँदै भने, 'उनीहरूलाई तान्न फेरि अरू दुई जना पानीमा गए। तर कोही पनि आउन नसकेपछि म आफै पूरै खुट्टा डुब्ने गरी भित्र गएर आफ्नो लौरी समात्न दिएँ। त्यसपछि उनीहरू बाहिर निस्किए। नत्र ठूलो दुर्घटना हुने थियो।'
उनका अनुसार हेलिकप्टरमा गोसाइँकुण्ड आउने तीर्थारूहरू पश्चिम किनारमा पूजा गरेर छिटोछिटो स्नान गरेर जान्छन्। तर तालको यो भागमा कुनै डोरी जडित ट्युबका रिङ राखिएको छैन, त्यसैले उद्धार गर्न सजिलो छैन।
मेलाको बेला ताल किनारमा पूजा सामग्री व्यापार गर्नछन् स्थानीय युवा सुरेश तामाङ।
उनी भन्छन्, 'गोसाइँकुण्डको त्यो किनारमा उद्धार गर्ने कुनै ट्युब छैन। त्यसैले त्यहाँ मानिस डुब्ने जोखिम कायमै छ। त्यहाँ पनि दुई–तीन वटा डोरी भएको ट्युब राख्नुपर्छ।'
विजय बाबा र सुरेश तामाङको भनाइमा तीर्थारूको सुरक्षाका लागि सरकारी निकायले नगरी नहुने अर्को काम पनि छ— ताल किनारमा बिजुली वा सोलारको बत्ती पनि आवश्यक छ। मानिसहरू बिहान १ बजे नै अँध्यारोमा उठेर तालमा स्नान गर्न जान्छन्। उनीहरूको सुरक्षाका लागि बत्ती जडान अनिवार्य भइसकेको छ।
नजिकै अन्य ताल र कुण्डहरू समेत रहेको गोसाइँकुण्ड क्षेत्र विश्वका विशिष्ट विशेषता बोकेको सिमसार क्षेत्र समेट्ने रामसार क्षेत्रमा समेटिएको छ।
लाङटाङ निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार तालको स्नान थप सुरक्षित बनाउन किनारमा 'रामसारको मर्म सम्मान गर्ने गरी पर्यावरणमैत्री किसिमको बार वा कुनै संरचना' बनाउनेबारे स्थानीय पालिका र विभिन्न सरकारी निकायसँग छलफल भइरहेको छ।
काठमाडौंदेखि मात्र १०० किलोमिटर मोटर यात्रापछि पुग्न सकिने गोसाइँकुण्डमा बाह्रै महिना पदयात्री र तीर्थारूको आवतजावत हुन थालेपछि स्थानीय व्यवसायीसँगै निकुञ्ज अधिकारीसमेत उत्साहित बनेका छन्।
मेलाको बेलाको हतारो बेग्लै हुने नै भयो।
प्रजिअ नरेन्द्र परियारको भनाइमा मेला अवधिमा उद्धार, प्राथमिक उपचार र सुरक्षा बन्दोबस्तीका लागि सरकारले गर्न सक्नेजति सबै काम गर्दैछ।
'सुरक्षा टोली ताल किनारमा पुगिसकेका छन्, बिरामीको उपचारका लागि डाक्टरको टोली पनि गइसकेको छ,' उनले भने।
गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङका अनुसार मेलाको बेला सुरक्षा बन्दोबस्ती थप गर्न १० वटा रबरको ट्युब ताल किनारमा लगिँदैछ।
'साथै पहिरो पन्छाउने तथा प्राथमिक उपचारको बन्दोबस्त गर्न हामीले सुरक्षा निकायसँग समन्वय गरेर काम गरिरहेका छौं,' उनले भने।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal