त्रिवेणी ग्रुपका निर्देशक रामचन्द्र सांघाई तीन दशक लामो व्यावसायिक जीवनपछि उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष हुनका लागि चुनावी मैदानमा उत्रिएका छन्।
त्रिवेणी ग्रुपमा रहेर विभिन्न क्षेत्रमा काम गरेका सांघाई अहिले पनि उत्तिकै सक्रिय छन्। यसअघि महासंघको कार्यकारिणी सदस्य भइसकेका उनी यसपालि एसोसिएट तर्फबाट उपाध्यक्षका प्रत्यासी बनेका छन्।
लामो व्यावसायिक जीवनको अनुभव तथा दैनिक कार्यकारी भूमिकामा अल्झिनुपर्ने बाध्यता आफूसँग नभएकाले महासंघमा प्रभावकारी नेतृत्व दिनसक्ने उनको भनाइ छ।
प्रस्तुत छ सांघाईसँग सेतोपाटीका रवीन्द्र शाहीले लिएको अन्तर्वार्ता:
लामो व्यावसायिक अनुभव भए पनि नेपाल उद्योग वाणिज्य महासंघ जस्ता संघसंस्थाको फ्रन्टलाइनमा पहिलोपटक आउँदै हुनुहुन्छ। यो अवस्थामा आएर महासंघको नेतृत्वमा आउनका लागि के कुराले उत्प्रेरित गर्यो?
मेरो ३६ वर्षको व्यावसायिक अनुभव छ। हामीले विभिन्न उद्योग व्यवसायमा काम गरिरहेका छौं। १५/१६ हजारलाई रोजगारी पनि दिएका छौं। महासंघमा मेरो पहिलोपटक होइन। यसअघि पनि मैले कार्यकारिणी सदस्य भएर काम गरिसकेको छु। नेतृत्वमा भने पहिलोपटक प्रत्यासी भएको छु।
गएको चुनावमा मैले पनि उम्मेदवारी दिने तयारी गरेको थिएँ। त्यही क्रममा मलाई उम्मेदवारी फिर्ता लिन लगाइयो। त्यसमा गुनासो त छैन। तर मलाई यत्रो काम गरिरहेको छु तै पनि मलाई नेतृत्वका लागि अयोग्य ठानिएको जस्तो लाग्यो। महासंघमा एकपटक जानुपर्छ जस्तो भनेर मनैदेखि लाग्यो।
यो पटक मलाई चन्द्र ढकालजीले पनि तपाईं किन नआउने? उद्योग व्यवसायमा तपाईंहरुको यत्रो अनुभव छ महासंघमा आएर किन सेवा नगर्ने भन्नुभयो। उहाँले पनि मलाई प्रेरित गर्नुभयो। यसबाट पनि म एसोसिएटका लागि उपाध्यक्ष हुने इच्छा जाग्यो।
३६ वर्षसम्म तपाईं व्यवसायमा एकत्रित भएर लाग्नुभयो। यो बीचमा तपाईंले कस्ता कस्ता क्षेत्रमा काम गर्नुभयो?
हामीले चलाएको धागो उद्योग नेपालकै दोस्रो ठूलो हो। यसमा २ हजार मान्छे काम गरिरहेका छन्। गएको वर्षमात्र हामीले तेस्रो मुलुकमा धेरै निर्यात गरेकाले सरकारले सिआइपी सम्मान गरेको थियो।
त्यस्तै सिमेन्टमा पनि हाम्रो ठूलो उद्योग छ। चियाको कुरा गर्दा टोकला चिया कसले चिनेको छैन र? एनआइसी एसिया बैंक पनि नेपालको अग्रणी बैंकमध्ये पर्छ जसको सञ्चालक म आफैं हो। नेपाल लाइफ इन्स्योरेन्स पनि हाम्रो प्रवर्द्धन छ। यस्ता थुप्रै उद्योग तथा सेवा छन् घरायसी सामग्रीदेखि निर्माण सामग्रीसम्मको उत्पादन गरिरहेका छौं।
खाद्यान्न, कृषि र जलविद्युतमा पनि हाम्रो काम चलिरहेकै छ। धेरै प्रकारका व्यवसाय आफ्नै कालमा विस्तार गर्ने काम गरेको छु।
तपाईंसँग १५/१६ हजार मान्छेको नेतृत्व आफ्नै समूहमा पनि गरेको अनुभव छ। व्यावसायिक क्षेत्रको नेतृत्वको अनुभवले महासंघको नेतृत्वमा जाने र काम गर्ने आत्मविश्वास बढेको हो?
मैले उपाध्यक्ष जितेमा रोजगारदाता परिषदको नेतृत्व गर्ने हो। त्यसमा मेरो राम्रो अनुभव छ। किनभने मेरो एउटै उद्योगमा २ हजार मान्छे काम गर्छन्। त्यहाँ कस्ता श्रम समस्या आउछन्। त्यसमा कसले कस्तो सहयोग गर्नसक्छ? सरकारसँग कस्तो सहकार्य आवश्यक हुन्छ? भन्ने कुरा मैले लामो समयदेखि आफैं अनुभव गरेको छु। त्यो अनुभव मेरो रोजगारदाता परिषदमा काम लाग्छ।
अर्को कुरा म महासंघलाई राम्रो र गुणस्तरीय समय दिनसक्छु जस्तो लाग्छ। पछिल्लो पुस्ता व्यवसायमा आइसकेको छ। काम त हामीले पनि गर्ने हो। तर नयाँ पुस्ताले बढी जिम्मेवारी लिइसकेको छ। अब मैले पूर्ण समय दिन सक्छु।
नयाँ पुस्ता आएपछि महासंघजस्ता प्ल्याटफर्ममा जान पारिवारिक उत्प्रेरणा पनि छ त्यस भए?
हो। काममा हामी उनीहरुलाई सहयोग गर्छौं। यस्ता सामाजिक संस्था तथा सामाजिक काममा हामीलाई उत्प्रेरित गर्छन्। उनीहरू आफैं पनि यस्ता संस्थामा सहभागी छन्।
चुनावी दौडमा लागिरहँदा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
कहीँबाट निरास हुने खालको प्रतिक्रिया पाएको छैन। अघि बढिरहेको छु। निश्चित रुपमा जित्नेमा ढुक्क छु। समयले बाँकी कुरा देखाउला।
राजनीतिक खिचातानी गर्नु हुँदैन भन्ने क्षेत्रमै योपालि अलि बढी राजनीति भयो भन्ने छ। चुनावमा स्वभाविक हो कि साँच्चिकै बढी भएको हो?
म अहिले एसोसिएटमा उठेको छु। यो क्षेत्रमा खासै राजनीति भेटेको छैन। अरु क्षेत्रमा केही धेरथोर भयो पनि होला। तर मेरो क्षेत्रमा बढी केन्द्रित भएकाले अरु थाहा छैन। तर म के भन्छु भने यो क्षेत्रमा त्यस्तो राजनीति छैन।
चुनावमा उठेपछि जित्छु जस्तो सबैलाई लाग्छ। तपाईंलाई चाहिँ आफूले यसकारणले चुनाव जित्छु भन्ने के छ?
अहिले जति पनि सदस्य छन् उहाँहरूसँग कुरा गर्दा आत्मविश्वास पलाएको छ। अर्को कुरा हाम्रो समूहको प्रकृति अनुसार सबैले चिन्छन् पनि। फेरि आजसम्म कसैसँग पनि हाम्रो समस्या पनि भएको छैन। हाम्रो मिलनसार स्वभावले पनि सहयोग पाउँछु भन्ने लाग्छ।
अर्को कुरा हामी आफैं पनि समस्या भोगेका छौं। विवाद उत्पन्न भएका छन्। त्यसको समाधान गरेका छौं। यो कोणबाट पनि साथीहरूले सोच्नुहुन्छ जस्तो लाग्छ। यस्तो नभोगेको मान्छेले समस्या सही पहिचान गर्न सक्दैन भन्ने कुरा त व्यवसायीहरूलाई लागिहाल्छ नि।
एउटा उद्योग भनेको तीन शब्दको संरचना मात्र होइन। यसभित्र धेरै ठूलो संरचना हुन्छ। यसमा प्रत्येक दिन समस्या आइरहेका हुन्छन्। जुन कुरा मैले भोगेर आएको छु। भोलि कसैकोमा समस्या आउनेवित्तिकै म त्यसको पहिचान गर्न सक्छु र समाधानको उपाय पनि छिटो पहिल्याउन सक्छु। यो कुरा व्यवसायी साथीहरूलाई पक्कै पनि थाहा छ। यी र यस्तै कारणले गर्दा मेरो जितको विश्वास हो।
आफू समस्यामा पर्दा उसले महासंघबाट आश गर्ने भनेकै अभिभावकत्व हो। जसका लागि मैले दिन सक्छु भन्ने साथीहरूलाई थाहा छ।
महासंघजस्ता संस्था किन चाहिन्छ जस्तो लाग्छ तपाईंलाई?
आज कुनै एउटा उद्योगी छ भने उसको संस्था छैन भने उसको आवाज हराउन सक्छ। तर संस्थागत रुपमा आवाज गयो भने सरकार पनि सोच्न बाध्य हुन्छ। नीति निर्माणदेखि दैनिक समस्याका कुरा उठाउन संस्थागत पहल आवश्य हुन्छ।
खर्बौं लगानी तथा रोजगारी दिइरहेको क्षेत्रमा दैनिक रुपमा ठूला-ठूला समस्या आइरहन्छन्। त्यस्ता समस्या समाधान गर्न व्यक्तिगत रुपमा एउटा उद्योगीले सरकारसँग धाएर त सम्भव हुन्न। त्यसका लागि पनि यस्ता संस्था आवश्यक हुन्छन्। त्यसैले गर्दा पनि यस्ता संस्थाको नेतृत्वमा सही मान्छे आउन आवश्यक छ भनेर हामीले नेतृत्वका लागि दावी गरेका हौं।