सानो छँदा लोकनाथ भट्टको सपना डाक्टर बन्ने थियो। उनी पढ्नमा पनि तगडा थिए।
मान्छेको शरीरभित्र के हुन्छ भन्ने उनलाई उत्सुकता हुन्थ्यो। यही उत्सुकता मेटाउन उनी भ्यागुता, छेपारा समात्थे र चिरेर समेत हेर्थे।
उनको पुर्ख्यौली घर गोरखाको घ्याम्पेसाल हो। २०४२ सालमा परिवारै बसाइ सरेर नवलपरासीको देवचुली आयो। उनी देवचुली माविमा पढ्न थाले, सपना देख्दै।
केही वर्षपछि उनकी आमाको स्वास्थ्य बिग्रिँदै गयो। बाबुले जोडेको सम्पत्ति आमाको उपचारमै सकियो। उनको डाक्टर बन्ने सपना पूरा हुन सकेन।
घरको आर्थिक अवस्था नाजुक हुँदै उनले पनि काम गर्नुपर्ने भयो।
उनले नारायणगढको भेटघाट रेस्टुरेन्टमा तास (खाजाको परिकार) को प्लेट उठाउने काम पाए।
'मेरो मामा त्यो रेस्टुरेन्टमा कुक काम गर्नुहुन्थ्यो। उहाँले नै काम लगाइदिनुभयो,' कृष्ण नामले चिनिने लोकनाथले भने।
यो २८ वर्ष अगाडिको कुरा हो।
अहिले उनी आफैं 'जमघट रेस्टुरेन्ट' चलाउँछन्। यो रेस्टुरेन्ट तास पारखीका लागि उत्कृष्ट भनेर परिचित छ।
'प्लेट उठाउने कामबाट सुरू गरेको म वेटर भएँ। साहु नभएका बेला रेस्टुरेन्ट पनि सम्हालेँ। यसरी काम गरेको दस वर्षपछि आफ्नै रेस्टुरेन्टको साहु भएँ,' कृष्णले भने।
भेटघाटमा काम गरेको पहिलो महिना उनले पाँच सय रूपैयाँ तलब बुझेका थिए। दोस्रो महिना छ सय भयो, अनि तेस्रो महिना एक हजार। उनको मेहनत देखेर सञ्चालक गोविन्द तिवारी खुसी थिए।
![krishna-jamghat-(2)-1713370744.JPG](https://www.setopati.com/uploads/posts/krishna-jamghat-(2)-1713370744.JPG)
दस वर्षपछि कृष्णको तलब ८ हजार रूपैयाँ पुग्यो। तर उनमा अझै धेरै कमाउन वैदेशिक रोजगारीमा जाने इच्छा बढ्दै गएको थियो। यही मेसोमा उनले बेलायत जाने सोचे र दलाललाई ५ लाख रूपैयाँ बुझाए।
'बेलायत जाने भनेपछि बिहे पनि गरिहाल्ने भन्ने भयो। टीका लगाउन जाँदा बिहे नै गरेर ल्याइयो,' कृष्णले भने, 'भिसा लाग्नुभन्दा पहिले बिहे गरिहाल्नुपर्छ भनेर हतार गरेका थियौं तर भिसै लागेन।'
त्यसपछि उनले नेपालै बस्ने र आफ्नै व्यवसाय सुरू गर्ने निधो गरे।
त्यही बेला कृष्णले काम गरिरहेको भेटघाट रेस्टुरेन्ट नजिकै अर्को एउटा रेस्टुरेन्ट नचलेकाले बिक्रीमा थियो। कृष्णले त्यो रेस्टुरेन्ट किने, तीन लाख २५ हजार रूपैयाँ लगानी गरे। महिनाको १३ हजार रूपैयाँ भाडा बुझाउनुपर्थ्यो।
भेटघाटमा काम गर्दा पाएको 'टिप्स' रकम जम्मा गरेर उनले भरतपुरमै एउटा घडेरी किनेका थिए। त्यही जमिन बेचेर र बाँकी पैसा सापटी खोजेर लगानी जुटाए।
रेस्टुरेन्ट आफूले लिएको पहिलो दिन नै उनले तास बनाएर बेचे।
पहिलो दिनमै ११ हजार रूपैयाँ कमाइ भयो।
'दस वर्षसम्म काम गर्दा चिनेका ग्राहकले मलाई साथ दिनुभयो। सोचेभन्दा राम्रो व्यापार भयो,' कृष्णले सम्झिए, 'यसले मलाई व्यवसाय अघि बढाउन हौसला थप्यो।'
दुई साता राम्ररी बितेको मात्र के थियो, व्यवसायमा संकट आइलाग्यो। २०६२/०६३ को जनआन्दोलनका कारण १९ दिन रेस्टुरेन्ट बन्द भयो। भर्खरै सुरू गरेको व्यवसाय लामो समय बन्द हुँदा उनी निराश पनि भए। गाउँ फर्किने योजना बुन्न थालिसकेका थिए।
'धन्न १९ दिनपछि बन्द खुल्यो। व्यवसाय पुनः सुरू भयो। बिस्तारै व्यापार बढ्दै गयो,' उनले भने।
त्यसपछि कृष्णले फेरि व्यवसायकै कारण निराश हुनुपर्ने अवस्था आएन। कमाइ बढ्दै गयो। उनले भरतपुरमा शाखा विस्तार गर्ने सोचेर दुई कट्ठा ३ धुर जमिन किने। अनि २०७२ चैतमा जमघटको शाखा खोले। नारायणगढमा रेस्टुरेन्ट मात्रै थियो, भरतपुरमा बस्ने सुविधा पनि थपेर होटल बनाए।
भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै छ जमघट होटल। यसमा उनले करिब १२ करोड रूपैयाँ लगानी गरेका छन्। यसमध्ये आठ करोड रूपैयाँ बैंकबाट ऋण लिएको उनले बताए। नारायणगढ र भरतपुरमा गरी अहिले २८ जनाले रोजगारी पाएका छन्।
'राजमार्गको छेउमा, बसपार्क नजिक भएकाले बाहिरका ग्राहक बढी आउँछन्,' ४३ वर्षीय कृष्णले भने, 'स्थानीय पनि उत्तिकै आउँछन्।'
कृष्णका अनुसार उनी व्यवसायबाट हुने नाफाको ४० प्रतिशत रकम कर्मचारीलाई बाँड्छन्। नियमित काम गर्नेलाई पाँच/पाँच वर्षमा पाँच/पाँच प्रतिशतका दरले नाफा बाँड्छन्। अहिले यो सुविधा पाउन योग्य ८ जना छन्। दुई जनाले पाउनै थालिसके।
'व्यवसायमा फलेको बाँडेर खाने हो। यसले काम गर्नेलाई प्रोत्साहन गर्छ। मेहनत गर्छन्। विदेश जाने सोच आउँदैन,' कृष्णले भने।
![krishna-jamghat-(4)-1713370744.JPG](https://www.setopati.com/uploads/posts/krishna-jamghat-(4)-1713370744.JPG)
अब उनको योजना नवलपुरको कावासोती र पूर्वी चितवनको पर्सामा नयाँ शाखा खोल्ने हो। नयाँ शाखाहरूमा आफ्ना कर्मचारीमध्येबाटै म्यानेजर बनाएर पठाउने उनी बताउँछन्।
कृष्णका दुई सन्तान छन्। छोरी कक्षा १२ मा पढ्छिन्, छोरा ८ कक्षामा। छोरालाई होटल म्यानेजमेन्ट पढाएर व्यवसायको उत्तराधिकारी बनाउने चाहना उनको छ।
उनी गत साउनमा चितवन होटल व्यवसायी संघको अध्यक्ष पनि बने। संघमा जिल्लाका १२ सय ३१ जना होटल व्यवसायी आबद्ध छन्।
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतम कृष्णको प्रशंसा गर्छन्। अथक मेहनतकै कारण कृष्ण रेस्टुरेन्टमा प्लेट उठाउने कामबाट रेस्टुरेन्ट मालिकसम्म बन्न सकेको उनी बताउँछन्।
'भेटघाट रेस्टुरेन्टमा हामी जाँदा उनी तास लिएर आउँथे। पछि आफैंले रेस्टुरेन्ट खोले। नयाँ व्यवसायीलाई ऊर्जा मिल्छ भनेर म पनि बेला–बेलामा गइरहन्थेँ,' राजनले सम्झिए, 'हेर्दाहेर्दै व्यवसायमा सफल भएर उनी जिल्लाभरकै व्यवसायीको नेतृत्व गर्ने ठाउँमा पुगे, खुसी लाग्छ।'
कृष्ण आफू यहाँसम्म आइपुग्नुलाई 'कर्मको खेल' मान्छन्। भेटघाट रेस्टुरेन्टका गोविन्द तिवारीलाई उनी कर्म बाबु भन्छन्।
'उहाँले मलाई कर्म दिनुभयो, मैले पनि आफ्नै ठानेर दस वर्ष काम गरेँ। त्यहीँबाट व्यवसायी बनेँ,' कृष्णले भने, 'लगनशील र इमानदार भएर काम गरेका कारण भएको उपलब्धि हो यो। जिन्दगीमा खुसी हुन आफूभन्दा तल हेर्नुपर्छ, काम गर्न माथि हेर्नुपर्छ भन्ने सिद्धान्त अनुशरण गरेर यहाँसम्म आइपुगेको छु।'
कृष्णसँगै पढेका साथीहरू कोही उच्च तहका सरकारी कर्मचारी बनेका छन्, त कोही डाक्टर। केही साथी विदेशमा छन्।
उनको बेला बेलामा ती साथीहरूसँग भेट हुन्छ। उनीहरूले पनि आफ्नो तारिफ गर्ने कृष्णले बताए।
'राम्रो गरेको रहेछ भन्छन्, खुसी लाग्छ। राम्ररी पढ्न नपाए पनि व्यवसायमा राम्रै गरेँ। धन्न विदेश गइनछु जस्तो लाग्छ,' उनले भने।
![krishna-jamghat-(3)-1713370744.jpg](https://www.setopati.com/uploads/posts/krishna-jamghat-(3)-1713370744.jpg)