नेपालमा उत्पादित फ्रोजन फ्रेञ्च फ्राइज (जमाएको आलु चिप्स) पहिलो पटक संयुक्त राज्य अमेरिका निर्यात भएको छ।
रुपन्देही जिल्लामा रहेको फर्स्ट च्वाइस फुड्स प्रालिले उत्पादन गरेको फ्रोजन फ्रेञ्च फ्राइज मंगलबार अमेरिकाको जेन्ट कम्पनीलाई पठाएको कम्पनीले जनाएको छ।
भैरहवा भन्सार कार्यालयका अनुसार दुईवटा कन्टेनरमा फ्रेञ्च फ्राइज लोड गरिएको हो।
जम्मा ४३ हजार ५२० किलोग्राम फ्रेञ्च फ्राइज निर्यात भएको छ।
भन्सार कार्यालयले यो निर्यातलाई ऐतिहासिक उपलब्धि भनेको छ।
नेपाली उत्पादनले अमेरिका जस्तो ठूलो र प्रतिस्पर्धी बजारमा प्रवेश पाएको हो। यसले नेपालमा नयाँ उद्योगहरू विकास हुने भनसारले उल्लेख गरेको छ।
अमेरिकी बजारमा नेपाली फ्रेञ्च फ्राइज पुग्नुले भविष्यमा अरू नेपाली उत्पादनको लागि पनि बाटो खुल्नेछ। भैरहवा भन्सार कार्यालयले निर्यात बढाउन सबै प्रकारका सेवामा सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
यो निर्यात गर्ने फर्स्ट च्वाइस फुड्स प्रालि नेपालको पहिलो फ्रेञ्च फ्राइज उत्पादन गर्ने उद्योग हो।
यो उद्योग रुपन्देहीको शुद्धोधन गाउँपालिकामा स्थापना भएको छ। उद्योगले गत फागुन महिनादेखि व्यावसायिक रूपमा उत्पादन सुरु गरेको थियो। उद्योग सुरु भएपछि नै यसले निर्यात गर्न थालेको थियो। सुरुमा भारतीय बजारमा निर्यात गरिएको थियो। उद्योगका सञ्चालक तथा अध्यक्ष कृष्णप्रसाद पौडेल हुन्।
यो उद्योग युरोपेली प्रविधिमा आधारित छ।
यो नेपालकै पहिलो खाद्य प्रशोधन उद्योग हो। उद्योग करिब पाँच बिगाहा जमिनमा फैलिएको छ। यसको भवन ६० हजार वर्ग फिटको छ। पूर्ण क्षमतामा सञ्चालन गर्न २ अर्बभन्दा बढी लगानी आवश्यक छ।
हालसम्म यसमा डेढ अर्ब रुपैयाँ लगानी भएको छ। यो लगानीमध्ये ७० प्रतिशत बैंक ऋण हो। बाँकी ३० प्रतिशत स्वपुँजी रहेको छ। अहिले यो उद्योगमा २ सय जनाले रोजगारी पाएका छन्।
उद्योगले फ्रेञ्च फ्राइज मात्र उत्पादन गर्दैन। यसले आलु टिक्की, स्माइलीज र ह्यास ब्राउन पनि उत्पादन गर्छ। यो उद्योगले खाद्य सुरक्षा र गुणस्तरको विश्वव्यापी मानकको प्रमाणपत्र पनि प्राप्त गरेको छ।
पौडेल मध्यमवर्गीय परिवारका व्यक्ति हुन्।
उनले ११ वर्ष भारतमा वैदेशिक रोजगारीमा समय बिताएका थिए। त्यसपछि उनले स्वदेश फर्केर मासु पसल खोले।
पछि मासु प्रशोधन उद्योग पनि चलाए। अहिले उनले करिब २ अर्बको लगानीमा यो फ्रेञ्च फ्राइज उद्योग स्थापना गरेका छन्।
यो उद्योग किसानहरूसँग जोडिएको छ। यसले १९ जिल्लाका किसानसँग मिलेर काम गर्ने गरेको जनाएको छ।
उद्योग सञ्चालक पौडेलले केही सस्तो र गुणस्तरहीन आयातले समस्या थपेको बताएका छन्। नीतिगत अस्पष्टता र अवैध आयात पनि चुनौती हुन्।
उनले भनेका छन्, `हामी गुणस्तर र ‘नेपालमा बनेको’ सपनामा सम्झौता गर्दैनौं।´ उद्योगले किसानलाई बीउ, प्राविधिक सल्लाह र खेतमै आलु खरिदको सुविधा दिन्छ। उद्योगले पाँच वर्षसम्म बीउ उत्पादन र आलु अनुसन्धानमा समय खर्चिएको थियो।
उद्योगले टिस्स्यु कल्चर प्रविधिबाट बीऊ उत्पादन गर्छ। अहिले तीन जिल्लामा व्यावसायिक किसानसँग मिलेर बीउ उत्पादनमा काम गरिरहेको उद्योगले जनाएको छ। उद्योगले किसानलाई प्रतिकिलो २३ रुपैयाँ आधार मूल्यको ज्ञारेन्टी गरेको छ।