के तपाईंलाई थाहा छ, वसन्तपुरको झोछेँ क्षेत्रमा पसल बाहिर गोलो आकारका नयाँ बोर्ड देखिन थालेका छन्।
ती बोर्डमा पसलको नाम आकर्षक ढंगले रञ्जना लिपिमा लेखिएको छ।
पहिलो नजरमा हेर्दा यो केवल सजावट जस्तो लाग्न सक्छ। वास्तवमा यसको उद्देश्य झोछेँ क्षेत्रको सांस्कृतिक पहिचान जोगाउनु र पुरानो सहरको सौन्दर्य अझ आकर्षक बनाउनु हो।
काठमाडौं महानगरपालिका वडा नम्बर २३ ले वडाभित्रका व्यवसायलाई यस्तो बोर्ड निःशुल्क वितरण गर्न सुरू गरेको हो। तर यो सुविधा सबै व्यवसायीले पाउने होइन। वडा कार्यालयमा व्यवसाय दर्ता गरेका र नियमित रूपले कर तिर्ने व्यवसायीलाई मात्रै यी बोर्ड उपलब्ध गराइँदैछ।
यी गोलो आकारका बोर्डमा तीनवटा भाषा प्रयोग गरिएको छ।
माथिल्लो भागमा सानो अक्षरमा अंग्रेजी भाषा, बीचको मुख्य भागमा ठूलो अक्षरको रञ्जना लिपि र तल्लो भागमा देवनागरी लिपिमा ठेगाना लेखिएको छ।
यसले एकातिर स्थानीय संस्कृति झल्काउँछ भने अर्कातर्फ विदेशी पर्यटकलाई पनि व्यवसाय पहिचान गर्न सहज बनाउँछ।
कार्यक्रमको पहिलो चरणमा जुद्ध शालिकदेखि वसन्तपुरतर्फ र नौतले दरबारदेखि झोछेँ हुँदै ओमबहालतर्फ रहेका व्यवसायमा यस्तो गोलो साइनबोर्ड जडान गरिएको छ।
वडाध्यक्ष मचाराजा महर्जनका अनुसार वडाभित्र करिब ७०० व्यवसाय सञ्चालनमा छन्। तीमध्ये व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने करदातालाई चरणबद्ध रूपमा यस्ता बोर्ड वितरण गरिँदै लगिनेछ।
झोछेँ र वसन्तपुर क्षेत्र काठमाडौंको प्रमुख पर्यटकीय केन्द्रमध्ये एक मानिन्छ। यहाँ दैनिक रूपमा धेरै आन्तरिक तथा विदेशी पर्यटक आउँछन्। पुराना घर, साँघुरा गल्ली, मन्दिर र नेवारी संस्कृतिको बीचमा यस्ता बोर्डले अब यो क्षेत्रलाई झन् व्यवस्थित र आकर्षक बनाउने वडाध्यक्ष महर्जन बताउँछन्।
वडाका अनुसार, हालसम्म ५० जना नियमित करदातालाई उपहारस्वरूप बत्तीजडित बोर्ड जडान गरिसकिएको छ।
रातको समय बल्ने यी बोर्डले झोछेँको गल्लीलाई थप जीवन्त बनाउने उनी बताउँछन्।
यो परियोजनाका लागि करिब ६ लाख रूपैयाँ बजेट छुट्याइएको वडा कार्यालयले जनाएको छ। बोर्डको डिजाइन तयार गर्न क्यालीजात्रा फाउन्डेसनले सहयोग गरेको छ।
वडाका अनुसार यो अभियान व्यवसाय चिनाउने उद्देश्यका लागि मात्र होइन। यसले नेपालकै पुरानो र ऐतिहासिक लिपिमध्ये एक मानिने रञ्जना लिपिको संरक्षण र प्रवर्द्धनमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
साथै, व्यवसाय दर्ता गर्न र नियमित रूपमा कर तिर्न व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्य पनि यो अभियानसँग जोडिएको छ।
सबै तस्बिर स्रोत: काठमाडौं महानगरपालिकाको फेसबुक


