बुटवल, पाखापानीका पुरनसिंह अस्लामी मगरले पाल्पाका गाउँहरूमा सिद्रा माछा लगेर बेच्न थालेको १८ वर्ष भयो।
आठ–दस किलो सिद्रा टाउकामा बोकेर उनी त्यहाँ घरघरमा बेच्छन्।
६२ वर्षीय पुरनसिंहका लागि बुटवलबाट बिहानै सिद्राको बोरा बोकेर पाल्पाका गाउँ चहार्नु र साँझ घर फर्किनु जीवनकै अंग बनेको छ।
यो काममा उनकी ५८ वर्षीया श्रीमती विमलाले सघाइरहेकी छन्।
मगर दम्पती यसरी घरघर पुग्दा त्यहाँ पाएका तरकारी, काँक्रा, फलफूल तथा खसी–बोका र कुखुरा समेत लिएर बुटवल फर्किन्छन्।
केही दिन पहिले पुरानो बटौली बजारमा रहेका सिद्रा पसलमा भेटिएका पुरनसिंह र विमला पाल्पाका गाउँमा लैजाने सिद्रा छान्दै थिए।
उनीहरूले एउटा पसलबाट १५ किलो सिद्रा किनेर बोरामा राखे।
'सिद्रा लिएर भोलि बिहानै तानसेन जाने हो। बिहान ८/९ बजे यो पसल खुल्दैन। हामी त्यति बेलासम्म तानसेन पुगिसक्छौं। त्यही भएर आजै सिद्रा लैजान आएका हौं,' विमलाले भनिन्।
नवलपरासीको हुप्सेकोटबाट बुटवल झरेका विमला र पुरनसिंहको २०४१ सालमा बिहे भएको थियो। बिहेपछि रोजगारी खोज्दै भारतको देहरादुन गएका उनीहरूले जंगलमा जडीबुटी काट्ने काम गरे। कलिलो उमेरमै बिरानो मुलुकको जंगलमा बसेर काम गर्न अप्ठ्यारो भएपछि उनीहरू २०४४ सालतिर बुटवल फर्किए।
बुटवलको तिनाउ किनारमा त्यति बेला ढुंगा फोरेर गिटी कुटेर जीविका चलाउनेहरू धेरै थिए। पुरनसिंह र विमला पनि त्यही गर्न थाले।
पुरनसिंह बिहानैदेखि तिनाउ बगर पुग्थे। केही समयपछि खाना लिएर विमला पुग्थिन्।
दिन बित्दै गए। गिटी–बालुवा सोहोर्ने र चाल्ने गरेर राम्रै आम्दानी भइरहेको थियो।

'दुई जना मात्र हुँदा दिनमा दुई–तीन ट्र्याक्टरसम्म गिटी सोहोर्ने र कुट्ने गर्थ्यौं। पछि छोराहरू जन्मिएपछि म काममा जान सकिनँ, आम्दानी घट्दै गयो,' विमलाले भनिन्।
२०६४ सालतिर तिनाउ खोलामा गिटी–बालुवा उठाउन बन्द गरिएपछि भने उनीहरूको पेसा नै परिवर्तन भयो।
उनीहरूले सिद्रा बेच्न थाले।
हुम्ला, जुम्ला, मुस्ताङ लगायत उच्च पहाडी र हिमाली जिल्लाका व्यापारीले आफ्ना उत्पादन तराइ ल्याएर बेचेको देखेर आफूहरूलाई पनि तराईको सिद्रा पहाडका गाउँ गाउँमा लगेर बेच्ने प्रेरणा मिलेको उनले बताइन्।
'त्यति बेला मुस्ताङबाट आएका व्यापारीले ओखर, सिलाजित, जिम्बु, काम्लो, गलैंचा जस्ता सामान ल्याएर बेच्थे। हिमालतिरका मान्छेले त्यहाँका उत्पादन तराइ ल्याएर बेच्न सक्छन् भने हामी तराइका बासिन्दाले यहाँको सामान पहाड लगेर किन नबेच्ने भनेर सिद्रा व्यापार सुरू गरेका हौं,' विमलाले भनिन्।
सुरूका केही महिना घरघर डुलेर सिद्रा बेच्दा अप्ठ्यारो लागे पनि अहिले उनीहरू व्यापारबाट सन्तुष्ट छन्।
गाउँघरमा सीमित पसल र मोलमोलाइ कम हुने भएकाले नाफा पनि धेरै हुन्छ। हाटबजारमा दिनभरि ग्राहक पर्खिएर बेच्दा किलोमा सय–पचास रूपैयाँ मात्र नाफा निस्किन्छ। जबकि गाउँघरमा बेच्दा झन्डै दोब्बर नाफा निस्किने पुरनसिंहले बताए।
बुटवलबाट थोकमा प्रति किलो ६ सय रूपैयाँमा लगेको सिद्रा पाल्पाका गाउँमा पुर्याउँदा एक हजार रूपैयाँभन्दा बढीमा बिक्री हुन्छ।
'यताबाट लगेको सिद्रा बेचेर फर्किँदा गाउँमा फलेका तरकारी, फलफूल, खुर्सानी, कागती तथा खसी बोका र कुखुरा पनि ल्याउँछौं। ती बुटवलका व्यापारीलाई बेच्छौं। त्यसबाट पनि थोरै–थोरै नाफा हुन्छ। गाडी भाडा तिरेर, बाटोमा नास्ता, पानी र खाना खाएर एक पटकमा तीन–चार हजार बचत हुन्छ,' पुरनसिंहले भने।
सिद्राको व्यापार मगरहरूको बसोबास रहेको गाउँ र साना–साना पसलमा धेरै हुन्छ। उनीहरू त्यस्तै गाउँ र पसल खोज्दै सिद्रा बोकेर हिँड्छन्।
पुरनसिंह र विमला बुटवलबाट सिद्रासँगै विभिन्न उद्योगमा बनाएका अचार पनि बेच्छन्।

विमलाका अनुसार अचारको व्यापार भने पहिले जस्तो छैन। अहिले अचार बनाउने तालिम पाएपछि घरघरमै धेरै प्रकारका अचार बनाउन थालिएको छ।
जाडो महिनामा फस्टाउने सिद्राको व्यापार गर्मी समयमा भने ठप्प हुन्छ। फागुनदेखि साउन–भदौसम्मका ६ महिना सिद्राको व्यापारका लागि 'अफ सिजन' मानिन्छ। यो समयमा उनीहरू जंगलमा पलाउने जिब्रे साग, निहुरो, च्याउ तथा सालको पात टिपेर बेच्छन्।
अत्यन्त स्वादिलो मानिने जिब्रे साग बजारमा किलोको आठ सय रूपैयाँमा बिक्छ। गएको साउन र भदौ दुई महिनामा झन्डै २० हजार रूपैयाँको जिब्रे साग, निहुरो र च्याउ बेचेको विमलाले बताइन्।
'साग, निहुरो र च्याउ खोज्दै रूपन्देहीको सालझण्डी, फायर लाइन र कपिलवस्तुका जंगलमा समेत पुग्छौं। पहिले दाउरा पनि ल्याउँथ्यौं, अहिले दाउरा ल्याउने तागत हरायो,' उनले भनिन्।
गिटी कुटेर र सिद्रा बेचेर चार जना छोरा हुर्काउने र पढाउने गरेका विमला र पुरनसिंहले थोरै थोरै बचतबाट पाखापानीमा घर बनाएका छन्।
चार छोरा विभिन्न पेसा र रोजगारीमा लागे पनि आफूहरूले अहिलेसम्म कसैको कमाइ खान नपरेको विमला बताउँछिन्।
'घर खर्च चलाएर पनि महिनामा आठ/दस हजार बचत गरेका छौं। आफैले कमाउन सकेसम्म अरू कसैको कमाइ खाने होइन। अझै दुई–चार वर्ष मेहनत गर्न सकियो भने बुढेसकालका लागि केही बचत गरेर राख्ने योजना छ,' उनले भनिन्।