प्रायः उच्चले बढिरहेको समयमा सेयर बजारमा लगानीकर्ताहरूले तुलनात्मक रूपमा कमजोर कम्पनीहरू फाल्ने गर्छन्।
मूल्य उच्चले बढ्दा लगानीकर्तालाई यस्ता कम्पनीमा लाभ भइसकेको हुन्छ। तर वृद्धिपछि बजार घट्ने क्रममा पनि सबभन्दा पहिला यस्तै कम्पनीहरू हुन्छन्।
अहिले केही कम्पनीहरूको मूल्य अहिले एक वर्षयताकै कम भएको छ। पछिल्लो समय कम्पनीहरूको वित्तीय विवरण प्रकाशित भएसँगै यसको पनि प्रभाव मूल्यमा देखिएको हो।
यसरी मूल्य एक वर्षयताकै न्यूनमा आएकामध्ये पाँच कम्पनी हुन् — जानकी फाइनान्स, हाथवे इन्भेस्टमेन्ट, नेपाल रिपब्लिक मिडिया, सिटी होटल र उन्नति सहकार्य लघुवित्त।
के अवस्था कमजोर भएकै कारण यिनको मूल्य न्यून विन्दुमा आएको हो?
बुझौं, यी कम्पनीको मूल्य न्यून विन्दुमा आउनुको कारण।
जानकी फाइनान्स चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा दुई करोड ९० लाख रूपैयाँ नोक्सानमा छ। यसको सञ्चिति एक अर्ब १६ करोड रूपैयाँ छ। त्यसैले यसले लाभांश दिन सक्ने देखिँदैन। यसको खराब कर्जा ४४ प्रतिशतबाट बढेर फेरि ५९ प्रतिशत पुगेको छ।
जानकीमा देखिएको सकारात्मक पक्ष भनेको यसको नोक्सान दर घट्न थालेको छ। आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासमा यसको नोक्सान १२ करोड रूपैयाँ थियो।
यसको एक वर्षयताको न्यून मूल्य ३९५ रूपैयाँ हो। सोमबार अन्तिम कारोबार ४०८ रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य एक वर्षयताकै न्यून विन्दुमा आएको छ। सोमबार ७८१ रूपैयाँमा यसको सेयर कारोबार भइरहेको छ। सोमबार पनि मूल्य घटेको हो।
चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा यो दुई करोड २६ करोड रूपैयाँ नाफामा छ। यसअघि तीन करोड ९२ लाख रूपैयाँ नाफामा थियो।
यसको नाफा ४२ प्रतिशत घटेको हो। खर्च बढेपछि यसको प्रभाव नाफामा परेको हो। एक अर्ब ५८ करोड चुक्ता पुँजी रहेको हाथवेको करिब १२ प्रतिशत हाराहारी लाभांश दिन सक्ने क्षमता भने छ।
नेपाल रिपब्लिक मिडियाको अहिले प्रतिकित्ता सेयर मूल्य ३५१ रूपैयाँ छ। यो एक वर्षयताकै न्यून मूल्य हो।
यो कम्पनी दुई करोड ९३ लाख रूपैयाँ नोक्सानमा छ। गत वर्ष यही अवधिमा यो ४६ लाख रूपैयाँ नाफामा थियो।
लकिङ अवधि खुलेका कारण कम्पनीका सञ्चालकहरूले राजीनामा दिइरहेका छन्। पदमै रहँदा सेयर बिक्री गर्न पाइँदैन। लकिङ अवधि खुलेसँगै संस्थापक सेयर पनि कारोबारमा आउन पाउँछ र सेयरको आपूर्ति बढाउँछ। यो कारण पनि मूल्य ओरालो लागिरहेको छ।
यसको सञ्चिति ५३ करोड रूपैयाँले ऋणात्मक छ।
सिटी होटलको सेयर मूल्य पनि वर्षकै न्यून विन्दु नजिक छ। सोमबार यसको सेयर ३९५ रूपैयाँमा कारोबार भइरहेको छ। यसको एक वर्षको न्यून मूल्य ३८२ रूपैयाँ छ।
यो होटल १३ करोड रूपैयाँ नोक्सानमा छ। यसअघि १७ करोड रूपैयाँ नोक्सान थियो। नोक्सान घट्दै गइरहेको छ, जुन राम्रो पक्ष हो।
उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य पनि वर्षकै न्यून विन्दु नजिक छ। सोमबार यसको सेयर १२५० रूपैयाँमा कारोबार भइरहेको छ।
यसको एक वर्षको न्यून मूल्य १२३६ रूपैयाँ छ। सोमबार नै मूल्य १२२६ रूपैयाँसम्म पुगेर अन्तिममा १३ रूपैयाँले बढेको हो।
यसको खराब कर्जा ५.६६ प्रतिशत रहेकामा बढेर ११.१२ प्रतिशत पुगेको छ।
तर यसको यसको नाफा तीन करोड ७९ लाख रूपैयाँबाट बढेर चार करोड ४३ लाख रूपैयाँ पुगेको छ। लाभांश क्षमता पनि १२.५ प्रतिशत हाराहारी छ। २४ करोड चुक्ता पुँजी रहेको उन्नतिले तीन करोड रूपैयाँ लाभांश वितरण गर्न सक्ने क्षमता देखाएको छ।
लाभांश क्षमता नदेखिएको, नोक्सानमा रहेको, खराब कर्जा बढेको लगायत कारण पनि यी कतिपय कम्पनीको मूल्य न्यून विन्दुमा आएको देखिन्छ।
हामीकहाँ समग्र बजार बढ्दा सबैजसो कम्पनीको मूल्य बढ्ने प्रवृत्ति भएकाले धेरैले न्यून मूल्य भएका बेला सेयर किन्ने प्रवृत्ति पनि छ।
तर नोक्सानमै रहे पनि नोक्सान दर घटिरहेको छ कि छैन, समग्र बजार बढ्दा मूल्य पनि बढ्ने सम्भावना छ कि छैन — यस्ता कुरा पनि याद गरेर लगानीकर्ताले रणनीति बनाउनुपर्छ।
लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता पनि हेर्नुपर्छ।