पछिल्लो समय सेयर बजार २७०० देखि २८०० विन्दुबीच रहेर तलमाथि गरिरहेको छ।
बजारले स्पष्ट दिशा समात्न नसके पनि केही समयदेखि २७०० विन्दु पार गरेर तल ओर्लिन चाहिरहेको छैन।
बजार घटेको यस्तो समयमा राम्रा कम्पनी छानेर लगानी गर्दा तुलनात्मक रूपमा लाभ बढी हुन सक्छ।
कम्पनीहरूले अहिले तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन्। यस्तो वित्तीय विवरण हेरेर र यसअघिका वर्षहरूमा दिँदै आएको लाभांश दर बुझेर सेयर किन्दा तुलनात्मक रूपमा लाभ हुन सक्छ।
पछिल्लो समय बजार सुधार भएर फर्किने क्रममा जलविद्युत क्षेत्रकै कम्पनीहरूमा सुधार देखिने गरेको छ।
त्यसैले आज हामीले यही क्षेत्रका केही कम्पनी हेरेका छौं।
पहिले कुरा गरौं माउन्टेन इनर्जी नेपालको।
माउन्टेन इनर्जीको सेयर प्रतिकित्ता ६०६ रूपैयाँमा कारोबार भइरहेको छ। यसको सेयर मूल्यले एक वर्षयता ७३१ रूपैयाँमा उच्च विन्दु बनाएको थियो।
लाभांशको इतिहास हेर्ने हो भने चार वर्षयता कम्पनीले वार्षिक औसत १५.७८ प्रतिशत लाभांश दिएको छ। आर्थिक वर्ष २०८१–८२ मा कम्पनीले २० प्रतिशत बोनस सहित कुल २१.०५ लाभांश दिएको छ।
चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा यसको नाफा १३ प्रतिशत बढेर ५२ करोड ६६ लाख रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यसको नाफा ४६ करोड ५० लाख रूपैयाँ थियो।
यसको सञ्चितिमा एक अर्ब ३१ करोड रूपैयाँ छ।
यसअघि विद्युत बिक्रीबाट ९२ करोड २७ लाख आम्दानी भएकोमा यो १७ प्रतिशत बढेर यस पटक एक अर्ब सात करोड ९७ लाख रूपैयाँ पुगेको छ।
माउन्टेन इनर्जीको वार्षिकीकरण नगरिएको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ४२ रूपैयाँ छ।
अहिले यसले ५ मेगावाटको टाँडी खोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट र ४२ मेगावाटको मिस्त्री खोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट सञ्चालन गरिरहेको छ।
केही समयअघि मिस्त्री खोलामा बाढीको कारण क्षति पुगेको थियो। माउन्टेनले यस्तो क्षतिबापत नाफामा परेको प्रभावका कारण बीमा कम्पनीबाट ९ लाख रूपैयाँ पाएको छ।
चालु आर्थिक वर्षको यो अवधिसम्म मिस्त्री खोलाबाट ९६ करोड र टाँडी खोलाबाट करिब १२ करोड रकम बराबरको विद्युत बिक्री गरेको हो।
पछिल्लो केही वर्षदेखि माउन्टेन र नेपाल विद्युत प्राधिकरणबीच मिस्त्री खोलाको विद्युत शुल्कमा विवाद चलिरहेको छ। करिब ८५ करोड रूपैयाँ पाउनुपर्ने भन्दै कम्पनीले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।
त्यस्तै, यसले थप १२ मेगावाटको मिस्त्री खोला–२ को सम्भाव्यता अध्ययनको काम पनि गरिरहेको छ।
अब कुरा गरौं साहस ऊर्जा लिमिटेडको।
साहसको सेयर प्रतिकित्ता ६६२ रूपैयाँमा कारोबार भइरहेको छ।
यसको लाभांश इतिहास हेर्ने हो भने दुई वर्षयता कम्पनीले वार्षिक औसत १५.२६ प्रतिशत लाभांश दिएको छ।
आर्थिक वर्ष २०८१–८२ का लागि कम्पनीले २१ प्रतिशत बोनस सेयर र १.१० प्रतिशत नगद लाभांश दिएको छ।
बोनसपछि हुने चुक्तापुँजीको आधारमा साहसले १ बराबर १ हकप्रद सेयर जारी गर्ने भएको छ। विद्युत नियमन आयोगबाट स्वीकृत भएको यो प्रस्तावपछि धितोपत्र बोर्डमा अनुमतिको प्रक्रियामा गएको छ।
चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा साहस उर्जाको नाफा ४१ प्रतिशतले बढेर एक अर्ब १८ करोड २७ लाख रूपैयाँ छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ८३ करोड ४१ लाख रूपैयाँ थियो।
साहसको विद्युत उत्पादनबाट भएको बिक्री दुई अर्ब ३३ करोड रूपैयाँ छ। यो अघिल्लो पटकको यही अवधिभन्दा करिब ९ प्रतिशत धेरै हो।
यसको सञ्चितिमा तीन अर्ब ५० करोड रूपैयाँ छ।
यसको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ३४ रूपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १७६ रूपैयाँ छ।
साहसले ८६ मेगावाटको सोलु खोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट सञ्चालन गरिरहेको छ।
कम्पनीले टाइम्स इनर्जीमा ५६.६७ प्रतिशत लगानी गरेको छ। टाइम्सले ३४१ मेगावाटको बुढिगण्डकी आयोजनामा लगानी गर्नेछ।
यसको प्रारम्भिक कामहरू अघि बढेको र डिजाइनको काम अन्तिम चरणमा रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।
यसको सेयर मूल्यले एक वर्षयता ७०५ रूपैयाँमा उच्च विन्दु बनाएको छ।
बजारमा लगानी गर्नुअघि लगानीकर्ता आफैले विश्लेषण गर्न भने जरूरी हुन्छ।