पश्चिम नेपालको हिमाली जिल्ला मुस्ताङका होटल व्यवसायीलाई हिजोआज देशी विदेशी पर्यटक र तीर्थारूलाई स्वागत–सत्कार गर्न भ्याइनभ्याइ छ।
नेपालको विभिन्न कुनाबाट मात्र होइन, दक्षिणी छिमेकी भारतका विभिन्न राज्य र विश्वका विभिन्न देशबाट हिमाली पदयात्रामा आइपुग्ने आगन्तुकको जम्काभेट यतिखेर मुस्ताङमै हुन थालेको छ।
मुस्ताङका अतिथि सत्कार व्यवसायीलाई भ्याइनभ्याइ हुनुको कारण यस्तो छ — मुस्ताङ आउने आगन्तुकको संख्या पोहोर भन्दा झन्डै दुई गुणा बढेको छ।
सन् २०२५ जनवरीदेखि अप्रिलसम्म झन्डै ५२ हजार विदेशी मुस्ताङ आइपुगेका थिए। यो साल त्यही अवधिमा झन्डै ८२ हजार विदेशी मुस्ताङ पुगिसकेका छन्।
अब त्यसमा नेपाली जोडौं जो पोखरा हुँदै बेनीको बाटो हुँदै यति बेला दैनिक हजारौंको संख्यामा मुस्ताङ पुग्ने गरेका छन्।
त्यसैले त जोमसोमदेखि थोरै दक्षिणतिर पर्ने मार्फास्थित मार्फा ओर्चड होटलका सञ्चालक शक्तिलाल जुहार्चनलाई केही दिनअघि भ्याइनभ्याइ थियो। उनीसँग छोटो कुराकानी गर्ने पनि फुर्सद थिएन।
'यो बेला होटल सधैंजस्तो भरिभराउ रहन्छ,' होटलको ढोकामा भर्खरै आइपुगेका पाहुनाको नयाँ हुललाई स्वागत गर्दा गर्दै उनले भने, 'बर्खा लागेको बेला केही कम होला, नत्र लगभग वर्षैभरि यस्तै भिड हुन थालिसकेको छ।'
हिन्दु पुराणमा सन् ३०० देखि नै उल्लेख गरिँदै आएको मुक्तिक्षेत्रमा हाल देखिने मन्दिर भने सन् रणबहादुर शाहकी रानी सुवर्ण प्रभादेवीले सन् १८१५ मा निर्माण गरेको उल्लेख छ। तस्बिर: सुरेन्द्र फुयाल
२०७६ सालमा ठेक्कापट्टाको काम छाडेर होटल व्यवसाय सुरू गरेका जुहार्चनले पछि फर्केर हेर्नु परेन। किनभने, उनको थकाली भान्साघर सहितको करिब २० कोठे होटलले उनलाई व्यस्त मात्र होइन, राम्रो आम्दानी पनि दिन सुरू गर्यो जुन अझै जारी छ।
उनको होटल बाहिरको दोबाटोमा बुटवलका आदित कुँवरले चियाकफीको सानो दोकान खोलेका छन्।
आदित भन्छन्, 'दैनिक केही नभए पनि ३० हजार रूपैयाँको कमाइ त भइहाल्छ।'
उनीहरू जस्ता व्यवसायी कालीगण्डकी किनारका सबै बस्तीमा फैलिएका बजारभरि भेटिन्छन्। तल म्याग्दीको बेनी तथा गलेश्वर धामदेखि माथि तातोपानी, अझै माथि लेते, अझै माथि मार्फा र मुस्ताङसम्मै भेटिन्छन्। जोमसोममा र कैयन आरामदायी तारे होटल तथा रिसोर्ट खुलिसकेका छन्।
उपल्लो मुस्ताङको लोमान्थाङमा पनि पर्यटन विस्तारसँगै त्यो क्रम सुरू भइसकेको छ।
हालैको एक बिहान मुस्ताङको मार्फाको प्राचीन गाउँ गुम्बा तथा स्याउबारी घुम्ने क्रममा त्यहाँका प्राचीन तिब्बती शैलीका घर र भित्री गल्लीमा मोबाइल फोनमा तस्बिर भिडिओ खिच्न व्यस्त नेपालीसँगै भारतीय तथा पश्चिमा आगन्तुकको भिड थियो।
पहिलो गल्लीमा धेरैले चालै नपाउने गरी बसेको थियो सन् १८९९ मा नेपाल हुँदै तिब्बती भिक्षुको भेषमा तिब्बत प्रवेश गरेका प्रसिद्ध जापानी जेन बौद्ध भिक्षु इकाइ कावागुचीले केही समय बिताएको घर।
यो संग्रहालयमा बदलिएको रहेछ।
सन् १८९९ मा नेपाल आएका जापानी भिक्षु कावागुची बसेको मार्फास्थित घर। तस्बिर: सुरेन्द्र फुयाल
कावागुची घर बाहिर राखिएको जानकारी। तस्बिर: सुरेन्द्र फुयाल
बाहिरपट्टि भने त्यो चाखलाग्दो इतिहासबारे बेखबर घुमन्ते नेपाली महिलाहरू तिब्बती वेशभूषामा फोटो र भिडिओ खिच्न व्यस्त!
म सात वर्षपछि मुस्ताङ फर्किएको एक मनुवा। पर्यटक र तीर्थारूको बाक्लो भिड देख्दा अर्कै मुस्ताङमा आइपुगेछु जस्तो भान भयो।
आखिर किन देश विदेशका पर्यटक र तीर्थारू यसरी किन मुस्ताङ पुगिरहेका छन्?
सन् १९९२ मा अमिताभ बच्चन अभिनीत बलिउड फिल्म 'खुदा गवाह' को छायांकन भएको मुस्ताङको चर्चा सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तीर्थाटनपछि झनै चुलियो।
सन् २०२६ मा पुग्दा मुस्ताङले धेरै काँचुली फेरिसकेको छ। त्यसका पाँच कारण यस्ता छन्।
पवित्र धाम मुक्तिक्षेत्र
मुक्तिनाथको मूलद्वार बाहिर पूजा सामग्री किन्न व्यस्त भारतीय तीर्थारू। तस्बिर: सुरेन्द्र फुयाल
मुक्तिक्षेत्र हिन्दु तथा बौद्ध धर्म मान्नेहरूका लागि जीवनमा एक पटक पुग्नैपर्ने तीर्थस्थलमा दरिएको छ। हिन्दुहरूको विश्वासमा भगवान विष्णु आफैले मुक्तिक्षेत्रमा मोक्ष प्राप्त गरेका थिए।
समुद्र सतहबाट ३७१० मिटर उचाइमा रहेको मुक्तिनाथको मन्दिर हिन्दु र बौद्धहरूको अगाध आस्थाको केन्द्र मात्र नभई सहिष्णुता र ओमकार परिवारबीचको भाइचाराको प्रतीक समेत मानिन्छ।
बौद्ध धर्म मान्नेहरू मुक्ति क्षेत्रलाई 'छुमिङ ग्यात्सा' (सय पानी) भन्छन्। उनीहरू यहाँ अवलोकितेश्वरको बास रहेको विश्वास गर्छन्।
मुक्तिनाथ मन्दिरदेखि पूर्वतिरका १०८ धारामा स्नान गर्नाले मानिस जन्म र मरणको चक्रबाट मुक्त हुने र पाप नासिने धेरैको विश्वास छ। मन्दिर क्षेत्रमा आगो, पानी, आकाश, पृथ्वी र वायुसहित पञ्चतत्वको सुमधुर संगम रहेको विश्वास गरिन्छ।
अन्नपूर्ण र धौलागिरि हिमाली शृंखलाबीच बहने कालीगण्डकी नदी उपत्यकामा फैलिएको यो क्षेत्रको प्राकृतिक सौन्दर्यको बयान गरी साध्य छैन।
कालीगण्डकी नदीमा पाइने पवित्र शालीग्राम ढुंगालाई हिन्दुहरूले विष्णु भगवानको अवतार मान्छन्। वैज्ञानिकहरू भने त्यो ढुंगालाई हिमालय उत्पत्ति हुने बेलाका जीवहरूको अवशेषको रूपमा चित्रण गर्छन्।
हिन्दु पुराणमा सन् ३०० देखि नै उल्लेख गरिँदै आएको मुक्तिक्षेत्रमा हाल देखिने मन्दिर भने सन् रणबहादुर शाहकी रानी सुवर्ण प्रभादेवीले सन् १८१५ मा निर्माण गरेको उल्लेख छ।
सदियौं अघिदेखि देश–देशावरका तीर्थारू आउने मुस्ताङ सन् १९९२ मा अफगानिस्तानको पठारको कथामा आधारित 'खुदा गवाह' चलचित्रको छायांकनपछि थप चर्चित हुन पुग्यो।
त्यसलाई सन् २०१८ मे १२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले थप बल दियो। हेलिकप्टरमा मुस्ताङ पुगेका मोदीको भव्य स्वागत भयो। त्यसपछि उनले मन्दिरमा झन्डै आधा घन्टा पूजा आराधना गरे। त्यो घमाइलो बिहानीको उल्लास मुस्ताङवासीको दिमागमा अझै ताजा छ।
मार्फाका व्यवसायी शक्तिलाल जुहार्चनले भने, 'मोदी आएपछि मुक्तिनाथ दर्शनका लागि आउने भारतीयको संख्या झनै बढ्न थाल्यो। मोदीपछि भारतका ठूला सैनिक अफिसरदेखि अरू कर्मचारी र नेता पनि आउन थाले। अहिले खासगरी दक्षिण भारतको आन्ध्र र तमिनाडु क्षेत्रबाट धेरै तीर्थारू आउने क्रम बढेको छ।'
लोमान्थाङ, कोराला नाका
तल्लो मुस्ताङको लेते नजिकै सडकबाट देखिएको पुरानो शैलीको बस्ती। तस्बिर: सुरेन्द्र फुयाल
सन् १९९२ मा 'खुदा गवाह' छायांकनका बेला कलाकारहरू विमान वा हेलिकप्टरमा मुस्ताङ पुगेका थिए। मनीषा कोइरालाले अभिनय गरेको अफगानीस्तानी महिलाको संघर्षको कथा झल्काउने त्यो चलचित्रमा मुस्ताङको बलौटे एवै पठारजस्तो भूमिलाई अफगानिस्तानको कुनै भूभागको रूपमा चित्रण गरिएको थियो।
हिजोआज विमानसँगै प्रायः शानदार र चिल्लो सडक मुस्ताङको नयाँ चिनारी बनिसकेको छ।
२५४ किलोमिटर लामो कालीगण्डकी कोरिडोर राजमार्गले तराईको समथरमा बसेको नवलपरासीको गैंडाकोटलाई उपल्लो मुस्ताङको सीमावर्ती ४६६० मिटर उचाइमा अवस्थित कोरलालाई जोड्छ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यो राजमार्गको अधिकांश हिस्सा बनिसकेको भए पनि ठाउँ ठाउँमा कच्ची भाग छिचोल्नुपर्छ।
समग्रमा पर्वतको मूलढुंगादेखि उपल्लो मुस्ताङसम्मको यात्रा हिजोआज सहज बनिसकेको छ। ८००० मिटरभन्दा अग्ला अन्नपूर्ण र धौलागिरि हिमालबीचबाट बहने कालीगण्डकीको किनारै किनार उकालो लाग्दा यात्रुहरूले हिमाली क्षेत्र र अझ तिब्बती पठारको झल्को दिने भूभाग पुगेको पत्तै पाउँदैनन्।
अन्नपूर्ण सर्किट पदयात्रा
कोरला राजमार्गबाट पूर्वतर्फ देखिएको अन्नपूर्ण हिमाल। तस्बिर: सुरेन्द्र फुयाल
मुस्ताङमा तीर्थारूका अतिरिक्त थुप्रै पदयात्रुहरू समेत पुग्ने अर्को कारण हो अन्नपूर्ण हिमाल क्षेत्रको फन्को लगाउने अन्नपूर्ण सर्किट पदयात्रा। यो यात्रा हिजोआज सडकको तीव्र विस्तारका कारण छोटिन पुगे पनि पूरै मासिइसकेको छैन।
२० वर्षअघिसम्म लमजुङको बेंसीसहरबाट सुरू भएर मनाङ पुग्दै मुस्ताङ झरेर म्याग्दी हुँदै कास्कीमा टुंगिने सो पदमार्गका केही हिस्सा हिजोआज मनाङ र मुस्ताङमा मात्र देख्न सकिन्छ। यहाँ नयाँ सडक बनिसकेको भए पनि पदयात्रीहरू राजमार्ग किनारै किनार हिँडिरहेको देख्न सकिन्छ।
केही वर्षअघि म आफै एक्लै मनाङको पदयात्रामा गएको थिएँ।
त्यसक्रममा मनाङसम्म जिपमा गएर पदयात्रा गर्दै केही दिनपछि करिब ५५०० मिटर अग्लो थोरांग्ला पास काटेर बडो मुस्किलले मुस्ताङको मुक्तिक्षेत्र पछाडि आइपुगेको थिएँ। त्यहाँ पुगेपछि मोटर सुविधा सुरू हुन्छ।
तपाईं हिजोआज मुक्तिक्षेत्र पुग्नुभएको छ भने, त्यहाँ त्यसैगरी थोरांग्ला पास काटेर आइपुगेका देशीविदेशी पदयात्रीहरू देख्न सक्नुहुन्छ।
सन् २०२६ लागेपछि मात्रै करिब एक लाख पदयात्री अन्नपूर्ण क्षेत्र पुगिसकेका छन्। तीमध्ये धेरैले अन्नपूर्णको फन्को समेत लगाइसकेका छन्।
आवास र होटलको विस्तार
मार्फाको व्यस्त बजार नजिकै देखिएको स्याउबारी। तस्बिर: सुरेन्द्र फुयाल
मुस्ताङ छाडेर फर्किने क्रममा कोबाङबाट म्याग्दीतर्फ झर्दै गरेको एक पर्यटक बस। तस्बिर: सुरेन्द्र फुयाल
मुस्ताङमा तीर्थारू र पर्यटकको घुइँचो बढ्न थालेसँगै तिनका लागि थरीथरी होटल तथा आवास सुविधाको निर्माण क्रम केही वर्षयता तीव्र हुन थालेको छ।
यस कारण मुस्ताङको मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रमा धनाढ्यदेखि मध्यम वर्गका आगन्तुकका आवश्यकतालाई ध्यानमा दिई होटल तथा पाहुनाघर खुलिसकेका छन्।
जिल्लाभर जोड्दा ठूला र साना गरी करिब ४०० होटल बनिसकेका छन्।
चीनको तिब्बत सीमा नजिकैबाट बढ्न सक्ने अन्तरदेशीय व्यापार र पर्यटक आउजाउलाई ध्यानमा राखी उपल्लो मुस्ताङको लोमान्थाङमा पनि सुविधासम्पन्न होटल निर्माण क्रम सुरू भइसकेको छ।
तीमध्ये शिन्तामनि मुस्ताङ, मोक्ष मुस्ताङ, होटल ओम्स होम र रोयल मुस्ताङ रिसोर्टले विलासी र आरामदायी सेवा खोज्ने पर्यटकलाई सुविधा दिन थालिसकेका छन्।
उपल्लो मुस्ताङमा बनेको मुस्ताङ रिसोर्टले पनि धनाढ्य पर्यटकलाई सुविधा दिन थालिसकेको छ।
जोमसोम र आसपासका गाउँ समेटिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङमा गएको दशकमा पर्यटनसँगै सडक पूर्वाधार विकास भएकाले जिल्लाको कायापलट हुन थालेको बताए।
फस्टाउँदो पर्यटनका कारण स्थानीय बासिन्दाका साथै पालिकाको आम्दानी समेत बढेको भन्दै उनले भने, 'होटल व्यवसाय तथा घर बहाल करका कारण हाम्रो वार्षिक आम्दानी ७ लाख नाघिसकेको छ।'
यो वर्ष मुस्ताङमा ८० करोड रूपैयाँ बराबरको स्याउ बिक्री भएकोमा खुसी व्यक्त गर्दै उनले थपे, 'पर्यटक गाउँ गाउँमा आउन थालेकाले स्याउ जस्ता हाम्रा कृषि उत्पादनलाई बजारको चिन्ता नै छैन।'
तैपनि मुस्ताङबासीको अर्को चाहना यस्तो रहेछ — कोरला जोड्ने राजमार्ग कतै कतै अझै कच्ची र साँघुरो छ। यो सडक पूरै पक्की र अझै चौडा हुन सके जिल्लामा बाह्रै महिना पर्यटक आउन सक्थे र हाम्रो अर्थतन्त्र अझै राम्रो हुने थियो।
लालचनले भने, 'अब यो सडक तातोपानी र केरूङको भरपर्दो विकल्प भइसकेको छ। पोहोर ती नाका बन्द हुँदा कोरलाबाटै थुप्रै इभी समेत नेपाल भित्रिए। यहाँबाट मानसरोवर अझै नजिक पर्छ, करिब ६ घन्टामा त्यहाँ पुग्न सकिन्छ। कोरला राजमार्ग जति राम्रो भयो मुस्ताङलाई त्यति नै फाइदा। यो बाटो जति चल्यो नेपाललाई त्यति नै फाइदा।'
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal