नेपाली कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला लगायतले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक नगर्न नेता-कार्यकर्ताहरूलाई आह्वान गरिरहेका बेला सभापति गगन थापाले सार्वजनिक रूपमै एक सर्त र तीन प्रस्ताव अघि सारेका छन्।
उनको सर्त हो — असोजमा तोकिएको १५औं महाधिवेशनमा भाग लिन अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने।
सभापति थापाले 'म कांग्रेसको सदस्य हुँ र निरन्तर रहन चाहन्छु' भन्ने सुनिश्चितता अद्यावधिक अभियानमार्फत् खोजेका छन्। विगतमा कुनै कुनै वडामा क्रियाशील सदस्य जति मत पनि रूख चिह्नमा नआएको अवस्थामा उनले वडा सभापतिले क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने सर्त राखेका हुन्।
संस्थापन इतर पक्षका नेताहरूले भने क्रियाशील अद्यावधिकप्रति शंका व्यक्त गरेका छन्। विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिले क्रियाशील अद्यावधिक गरेर 'एकलौटी सदस्य' बनाउने भय उनीहरूमा देखिन्छ।
अर्कातिर, सभापति गगनले अघि सारेका तीन प्रस्तावमा विशेष महाधिवेशनमा भाग नलिएकाहरूबाट वरिष्ठ नेता बनाउने, १४औं महाधिवेशनबाट निर्वाचित भएर आएकाहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा ठाउँ दिने निर्वाचन, सदस्यता वा अनुशासन समितिहरूमा सबै पक्षको सहभागिता गराउने भनिएको छ।
यही प्रस्ताव अनुरूप सभापति थापाले विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र शशांक कोइराला निकट १९ जना नेतालाई वैशाख २८ गते केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
पूर्णबहादुर र शेखरले सभापति थापाको यो कदमबाट पार्टीको बृहत्तर एकतामा ठेस पुगेको भने पनि मनोनीत केन्द्रीय सदस्य कसैले पनि अस्वीकार गरेनन्।
सभापति थापाले संस्थापन इतर समूहका नेतासँग नाम मागेर भन्दा पनि व्यक्तिगत कुराकानीका आधारमा केन्द्रीय सदस्य मनोनीत गरेको संस्थापन पक्षका नेताहरू बताउँछन्।
यो कदमलाई पनि नेता पूर्णबहादुर र शेखरले निको मानेका छैनन्। सभापतिले आफूहरूसँग परामर्शबिनै केन्द्रीय सदस्यहरू मनोनीत गरेको उनीहरूको गुनासो छ।
अहिले नेता पूर्णबहादुर खड्का कर्णाली प्रदेशस्तरीय भेलामा व्यस्त छन्। शनिबार आयोजित कार्यक्रममा उनले गगन थापा सिंगो पार्टीको सभापति बन्न नसकेको बताएका थिए।
उनी यतिमै रोकिएनन्, अगाडि भने, 'पार्टी विभाजनको डिलमा छ, त्यो बाटोमा जान हुन्न भनेको छु। पार्टी मिलाउने कि फुटाउने तपाईंहरूको जिम्मामा छ भनेको छु।'
उनले विगतका केही उदाहरण पनि दिए।
तत्कालीन समय गिरिजाप्रसाद कोइरालाका कारण पार्टी फुटेको र उनकै कारण पार्टी एकीकरण भएको खड्काको भनाइ थियो।
'अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग छ,' खड्काले भनेका थिए।
शेखर भने अहिले खड्कासँग छैनन्। सर्वोच्च अदालतले गगन थापा नेतृत्वको समितिलाई मान्यता दिँदै देउवा र खड्काको रिट खारेज गरिदिएपछि कोइराला आफ्नै समूहमा क्रियाशील छन्। अदालतमा मुद्दा विचाराधीन रहँदा भने देउवा-शेखर पक्षले सँगसँगै कार्यक्रम गर्ने गरेका थिए।
यति हुँदाहुँदै पूर्णबहादुर र शेखरको एउटा कुरा भने मिलेको छ — अहिले क्रियाशील सदस्यता अद्यावधिक गरिराख्नु जरूरी छैन।
गगन थापा महामन्त्री र क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक हुँदा गत पुससम्म ६ लाख क्रियाशीलको नवीकरण र ३ लाख नयाँ क्रियाशील सदस्यता वितरण भइसकेकाले १५औं महाधिवेशनका लागि क्रियाशील अद्यावधिक गरिराख्न जरूरी नभएको संस्थापन इतर पक्षका नेताहरूको बुझाइ छ। त्यसैले उनीहरू आफ्ना भेलामा क्रियाशील अद्यावधिक नगर्न अपिल गर्छन्।
संस्थापन पक्षको कुरा बेग्लै छ।
सभापति थापाका अनुसार ८/९ लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा ८० हजार हाराहारीको मात्र मोबाइल नम्बर लगायत विवरण पार्टीसँग छ, बाँकीको छैन। त्यसैले क्रियाशील सदस्यता व्यवस्थित र प्रविधिमैत्री बनाउन अद्यावधिक अभियान चलाइएको सभापति थापा बताउँछन्।
'म कांग्रेस सदस्यता निरन्तर गर्न चाहन्छु, यत्ति भनिदिनुस् भन्दा पनि ल त भन्लास् त, कांग्रेसको सदस्य हुँ भनेर भन्लास् त, कांग्रेस पार्टी सक्काउने? भन्ने नेताहरूको अभिव्यक्ति सुनिरहेको छु,' खड्का र कोइरालालाई लक्ष्य गर्दै सभापति थापाले आइतबार एक कार्यक्रममा भने, 'अद्यावधिक नगर्न आह्वान गर्ने लहर चलेको छ, के भनेको त्यो? अहिले सदस्य रहेकाले म निरन्तर सदस्य हुन चाहन्छु भनिदिनुस् भनेको हो।'
सभापति थापाले ३० वर्ष मुनिकालाई खोजी खोजी क्रियाशील सदस्यता दिनुपर्नेमा जोड दिए।
'नयाँ विधान अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जनाका दरले ३० वर्षमुनिकाहरू आउने व्यवस्था छ। त्यसका लागि खोजी खोजी क्रियाशील वितरण गर्नुपर्छ, त्यता लागौं न,' उनले भने।
सभापति थापाले विशेष महाधिवेशनमा सहभागी भयो वा भएन भन्ने आधारमा पार्टीभित्र एउटा पनि निर्णय नगरिने भन्दै संस्थापन इतरलाई आश्वस्त पार्न खोजेका छन्।
'विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा प्रादेशिक सरकार, संसदीय दल, स्थानीय सरकार वा भ्रातृ संस्थाबारे एउटा पनि निर्णय हुँदैन,' उनले भने।
उनले पार्टीलाई एकताबद्ध बनाउन केही प्रस्ताव पनि अघि सारेका छन्।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४औं महाधिवेशनबाट आएका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई गत पुसको विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिमा अवसर र जिम्मेवारी दिन आफू तयार रहेको सभापति थापाको भनाइ छ।
यस अनुसार सभापति थापाले वरिष्ठ नेता बनाउनेदेखि केन्द्रीय समिति सदस्य र विभिन्न समितिहरूमा बस्न नाम दिन आग्रह गरेका छन्।
विधानमा वरिष्ठ नेता रहने व्यवस्था छैन। तर कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक मिलेपछि शेरबहादुर देउवालाई विगतमा वरिष्ठ नेता बनाइएको अभ्यास छ। त्यसपछि सभापतिमा चुनाव हार्नेलाई वरिष्ठ नेता बनाउने गरिएको थियो। तर शेखरलाई बनाइएको थिएन।
सभापति थापाले हालै नेता पूर्णबहादुर र शेखरसँग पनि भेटेका थिए। ती भेटमा गरिएका कुरातर्फ लक्ष्य गर्दै उनले सार्वजनिक मञ्च र बन्द कोठामा पनि आफूले पार्टी एकताका लागि सबैलाई सँगसँगै लैजान यस्ता प्रस्ताव गर्दै आए पनि 'पार्टी एकताका लागि केही प्रयास गरिएन' भन्ने अभिव्यक्ति सुन्नुपरेको बताए।
'पार्टीलाई मिलाउन खुलामञ्चबाट सबैलाई सँगसँगै लिएर जाने भनिरहेको छु भने बन्द कोठामा यही कुरा भनेँ होला नि, अझ योभन्दा बढी निहुरिएर भने होला, हातै जोडेर भनेँ होला मेरा अग्रज नेताहरूलाई। मिलाउन प्रयास नै भएन भनेर कुरा आएको सुन्छु। मलाई भनिदिनुस् के गर्यो भने प्रयास हुने हो, अहिले के गर्नुपर्ने हो? दुइटा पार्टी त छैन,' सभापति थापाले भने।
सभापति थापाले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा स्थान दिने कुरा पनि गरेका छन्। यसै अनुसार उनले १९ जनालाई त केन्द्रीय सदस्य बनाइसके।
साथै, संस्थापन इतर पक्षले एकलौटी गठन गरेका निर्वाचन समिति, अनुशासन समिति र सदस्यता व्यवस्थापन समितिका निर्णयको निष्पक्षतामा प्रश्न उठाइरहेको अवस्था छ। सभापति थापाले यी समितिमा पनि विशेष महाधिवेशनमा भाग नलिएका पक्षलाई समेट्न तयार रहेको बताएका छन्।
'कुन समितिमा को-को बस्दा त्यसको निष्पक्षता हुने हो, नाम दिनुस् राख्छौं,' सभापति थापाले भनेका छन्।
तर संस्थापन इतर पक्षले प्याकेजमै सहमति चाहेको देखिन्छ। विगतमा पार्टीभित्र हुने गरेको अभ्यासलाई निरन्तरता दिने गरी संस्थापन इतर पक्षले ६०-४० को आँकडा अनुसार पार्टीभित्रका हरेक गतिविधिमा प्रतिनिधित्व खोजेको छ। यो कुरा संस्थापन इतर पक्षका नेताहरूले सिधा सिधा नभने पनि भित्री चाहना यही हो भन्ने उनीहरूसँग गरिएको कुराकानीले देखाउँछ।
संस्थापन पक्षले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट प्रदेशगत भेला गरिराख्दा निवर्तमान सभापति देउवा पक्षले पनि प्रदेश भेला गरिराखेको अवस्था छ। पार्टीमा प्याकेजमै सहमति नभएसम्म समानान्तर गतिविधि गर्ने संस्थापन इतरको गतिविधिले देखाउँछ।
संस्थापन इतर पक्षका युवाहरूको शनिबार काठमाडौंस्थित सुकेधारामा भेला भयो। भेलाका निर्णयबारे जानकारी दिँदै निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीको बृहत्तर एकताका लागि युवा नेताहरूको भेला आयोजना गरेको बताए।
तर निर्णय उनको दाबीभन्दा भिन्न छ।
निर्णयमा भनिएको छ — विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिले नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ र नेपाल तरूण दल लगायतका भ्रातृ संस्थालाई अलोकतान्त्रिक तवरले विघटन गर्दा पार्टीको बृहतर एकतामा आघात पुगेका हुनाले यी संस्थाहरू सम्बद्ध नेता-कार्यकर्ताको भेला गरी नयाँ केन्द्रीय समितिहरू गठन गर्ने। यसको अर्थ समानान्तर गतिविधि गर्ने भन्ने हो।
तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समिति स्वत: भंग भएको कांग्रेसको घोषणा थियो। त्यसपछि नेपाल महिला संघको अध्यक्षमा वैशाख २५ गते चितवनकी मीनाकुमारी खरेल मनोनीत भएकी थिइन्, अरू भ्रातृ संस्थामा अध्यक्ष तोकिएको छैन। अध्यक्ष तोक्ने जिम्मा केन्द्रीय कार्यसम्पादनले सभापति थापालाई दिएको छ।
संस्थापन इतर पक्षका युवाहरूको भेलाले १५औं महाधिवेशनका लागि पार्टी विधान अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी क्रियाशील सदस्यहरूले सदस्यता नवीकरण गरिसकेकाले क्रियाशील सदस्यहरूले पुन: अद्यावधिक गर्नु नपर्ने पनि निष्कर्ष निकालेको छ।
'अद्यावधिकको नाममा पार्टी विधान विपरीत पुनः सदस्यता नवीकरण गर्न दबाब दिने, धम्क्याउने, तर्साउने लगायतका कार्य बदनियतपूर्ण देखिएकाले देशैभरका क्रियाशील सदस्यलाई सदस्यता अधावधिक नगर्न आह्वान गर्ने,' उनीहरूको निर्णय छ।
सभापति थापाले वडा सभापतिले क्रियाशील अद्यावधिक नगरे अर्को व्यक्तिलाई जिम्मेवारी दिएर भए पनि पार्टीले काम गर्ने बताउँदै आएका छन्। यो कुरालाई नेता पूर्णबहादुर खड्का र संस्थापन इतरका युवा नेताहरूको भेलाले पनि 'धम्क्याएको' रूपमा व्याख्या गरेका छन्।
संस्थापन इतरका युवा नेताहरूले पार्टीका नेताहरूमाथि अनुशासनका नाममा कारबाही भएकाले यस्ता गतिविधि रोक्न देशव्यापी जागरण अभियान चलाउने पनि निर्णय गरेका छन्।
यसबीच कांग्रेस फुट्ने पनि चर्चा छ। तर नेता पूर्णबहादुर र शेखर पार्टी फुटाउने पक्षमा देखिएका छैनन्। कतिपय नेताहरूले कार्यालय राख्न घर भाडामा लिन खोजिएको बताउने गरेका छन्।
वैशाख २९ गते जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनबाट आएको कार्यसमितिले आफूहरूसँग संवाद नगरेको प्रतिक्रिया दिएका थिए।
उनले १५औं महाधिवेशन तयारीका लागि प्रदेशगत भेलाहरू गरिएको र कार्यालय पनि राख्ने तयारी रहेको बताए।
निवर्तमान सभापति देउवा निकट कतिपय नेताहरू खड्का कार्यवाहक हुँदा १५औं महाधिवेशन कार्यतालिका ल्याइएको र विशेष महाधिवेशनबाट आएको कार्यसमितिले संवाद गरेर समाधान नखोजे सोही अनुसार छुट्टै महाधिवेशन गर्न सकिने पनि बताउने गरेका छन्।
पुसभित्रै नियमित महाधिवेशन गर्ने कि नगर्ने, विशेष महाधिवेशन गर्ने कि नगर्नेजस्ता विवादबीच कांग्रेसले गत पुसमा विशेष महाधिवेशन गरेको पाँच महिनासम्म पनि पार्टीभित्र विवाद ज्युँका त्युँ छ। निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिए पनि कतिपय राजनीतिक एजेन्डा नमिल्दा कांग्रेसीको मन मिल्न सकेको छैन।