दिलीप कुमार चौधरीले रूपन्देहीको लुम्बिनीमा नर्सरी व्यवसाय सञ्चालन गरेको ९ वर्ष भयो। लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मुगलाहमा खोलेको नर्सरीमा उनलाई बुबा मागेन र श्रीमती प्रेमदेवी चौधरीले सघाउँदै आएका छन्।
सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० जिरो माइलका दिलीप नर्सरी व्यवसायमा लागेको ३० वर्षभन्दा बढी भयो। पहिले उनका बुवा मागेनले गाउँमै विभिन्न फलफूलका बिरूवा तयार गरेर बेच्थे।
उनीहरूले गाउँमा ९ कट्ठा जमिनमा आँपको बगैंचा बनाएका थिए। आँपको व्यावसायिक खेती गर्ने गाउँका किसानको चाहना बुझेर मागेनले आफ्नै बगैंचाका माउ बोटबाट कलमी, ग्राफ्टिङ गरेर बिरूवा बनाएर बेच्न थालेका थिए।
बुबाले यसरी नयाँ बिरूवा तयार गरेको हेर्दै हुर्किए दिलीप। पछि बुबालाई सघाउँदै जाँदा उनले पनि बिरूवा तयार गर्न सिके।
'आँपको व्यावसायिक खेती फस्टाइरहँदा हामीलाई कलमी बिरूवा तयार गर्न भ्याइनभ्याइ हुन्थ्यो,' दिलीपले सम्झिए, 'असार–साउनमा रोप्ने बिरूवा तयार गर्न वर्षभरि खटिन्थ्यौं।'
वर्षमा १२/१५ हजार वटासम्म कलमी बिरूवा तयार गरे पनि त्यति बेला अहिले जस्तो बिरूवाको मूल्य थिएन। आफ्नो मेहनत अनुसार लागत रकम जोडेर गाउँकै किसान र नर्सरी व्यवसायीलाई ३०/४० रूपैयाँमा बेच्थे।
बाबुछोरा नै एउटै काममा लागेर जीविकोपार्जन नहुने देखेपछि २०६३ सालतिर दिलीप मलेसिया हानिए। मागेनले त्यही व्यवसायलाई निरन्तरता दिए।
दिलीपले पाँच वर्ष बेकरीमा र चार वर्ष स्पिकर कम्पनीमा काम गरेर मलेसियामा ९ वर्ष बिताए। दैनिक १२–१३ घन्टा खटिँदा पनि मेहनत अनुसारको आम्दानी थिएन।
२०७२ सालमा उनी विदेश नजाने गरी फर्किए। बुबाले चलाइरहेको नर्सरीलाई नै बढाउने निधो गरे।
'गाउँमा धेरैजसो किसानले आँप बगैंचा बनाइसकेका थिए। सिराहामा तयार गरेको बिरूवा बेच्न आफैले बाहिरी जिल्ला पठाउन सजिलो थिएन। लागत रकम पनि उठ्दैन थियो,' दिलीपले भने।
त्यही क्रममा २०७३ सालतिर उनी लुम्बिनी घुम्न गएका थिए। त्यहाँ उनले किसानहरूले खेतबारीमा दुई–चार बोट आँपका बोट लगाएको देखे। बिरूवा बेच्ने नर्सरी भने भेटेनन्।
दिलीपलाई लुम्बिनीमै नर्सरी खोल्ने रहर जाग्यो।

'लुम्बिनीमा मेरा केही आफन्त हुनुहुन्थ्यो। सोध्दा–बुझ्दा किसानले भारतबाट आँपका बिरूवा ल्याएर रोप्ने रहेछन्। त्यस्तो बोट धेरै वर्षसम्म फल नलाग्ने, लागे पनि सानो र कम गुणस्तरको हुने समस्या देखेँ। गाउँमै नर्सरी भए एउटा–दुइटा आँप, अम्बाका बिरूवा ल्याउन पनि ३०–४० किलोमिटर टाढा भारत जानु पर्दैन भन्ने सोचेँ,' उनले भने।
अहिले उनको नर्सरी १० कट्ठा जमिनमा फैलिएको छ। जग्गा वर्षको ७२ हजार रूपैयाँ भाडा तिर्ने गरी भाडामा लिएका हुन्।
नर्सरीमा तराई क्षेत्रमा हुने १५ प्रजातिका २० हजारभन्दा बढी आँपका र ५ हजारभन्दा बढी लिचीका तयारी बिरूवा छन्। सँगै अम्बा, कागती, अञ्जीर, अमला, कटहर, अनार, सपाटो, जामुन, मेवा लगायत तराई क्षेत्रमा हुने अधिकांश फलफूलका बिरूवा पाइन्छ।
बुटवल, भैरहवा, खैरेनी, परासी, कपिलवस्तुको चन्द्रौटा लगायतका स्थानमा रहेका उद्योग, होटल तथा आवासीय घरहरूबाट फलफूलका बिरूवाको माग हुन्छ।
'यस वर्ष सियारी गाउँपालिकाबाट मात्रै ७०० आँप र २०० लिचीका बिरूवाको माग आइसकेको छ। भदौसम्ममा धेरै संख्यामा बिरूवा लगाउन सकिने भएकाले अन्यत्रबाट माग आउने समय अझै बाँकी छ,' दिलीप भन्छन्।
उनी डिजाइन अनुसारको बगैंचा पनि बनाइदिन्छन्।
'म जम्मा ८ कक्षा मात्रै पढेको हुँ। बगैंचा सम्बन्धी नपढे पनि काम गर्दै जाँदा कति जग्गामा कति बिरूवा लगाउने, कस्ता बिरूवा लगाउने भन्नेबारे अलिअलि ज्ञान र अनुभव छ,' उनले भने।
उनले बिरूवाको प्रजाति र आकार अनुसार मूल्य निर्धारण गर्छन्।

आँप, लिचीको २०० देखि ५०० रूपैयाँसम्म पर्छ। जति ठूलो बिरूवा छ, मूल्य पनि त्यहीअनुसार धेरै पर्ने उनी बताउँछन्।
धेरै संख्यामा खेती गर्न चाहनेलाई हुर्किएको बिरूवा लगाउन उनी सुझाव दिन्छन्। थोरै बिरूवा स्याहार्न सहज भए पनि धेरै क्षेत्रमा लगाउँदा ४–५ फुटको बिरूवा लगाउँदा सजिलै हुर्किन्छ। उनको नर्सरीमा ७–८ फिटसम्मको बिरूवाको माग आउँछ।
उनले विभिन्न सजावट बिरूवा पनि बेच्न राखेका छन्। कलमी गर्न मिल्ने फूलका बिरूवा आफै तयार गर्छन्।
आँपका बिरूवा भने अचेल तयार गर्दैनन्। हाइब्रिड बिरूवा भारतबाट ल्याउँछन्। स्थानीय जातका बिरूवा नेपालमै बनाइएका उनले बताए।
'बिरूवा आफैले तयार गर्न र नर्सरी पनि चलाउन भ्याइँदैन। तीन–चार जना दैनिक खटिँदा पनि भ्याइनभ्याइ हुन्छ। गोडमेल, बिरूवा सार्ने समयमा ज्यालादारीमा कामदार लगाउँछौं,' उनले भने।
पहिल्यैदेखि बिरूवा र नर्सरीसँग अभ्यस्त भएकाले यो व्यवसायबाट सन्तुष्ट रहेको उनले बताए।
'अहिलेसम्मको उमेर यसैमा बित्यो। सन्तुष्ट छु,' दिलीपले भने, 'वर्षमा ३० लाख रूपैयाँ बराबरको बिरूवा बिक्री हुन्छ। नौ वर्षपहिले १० लाखमा सुरू गरेको नर्सरी अहिले ७०/८० लाख रूपैयाँका बिरूवाले भरिएको छ। यसैको आम्दानीले घरपरिवारको खर्च चलाएर लुम्बिनीमै घडेरी किनिसकेँ।'
