नेपाल उद्योग परिसंघ (सिएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जबाट सुरू भएको घटनापछि पूर्वी नेपालका केही जिल्लामा देखिएको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ।
परिसंघले सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको छ।
'नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक हो। सामाजिक, धार्मिक तथा साम्प्रदायिक सहिष्णुता जोगाउन सबैले संयमता अपनाउनुपर्छ,' परिसंघले भनेको छ।
परिसंघले एक विज्ञप्ति जारी गर्दै कुनैपनि समस्या वा विवादको समाधान वार्ताबाट सम्भव हुने बताएको हो। आन्दोलन, हिंसा वा मुठभेड समाधानको उपाय नभएको बताइएको छ। शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न आग्रह गरिएको छ।
मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरिएको छ। रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन स्थिर वातावरण आवश्यक रहेको बताइएको छ। यस्ता घटनाले अर्थतन्त्रमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ।
आन्दोलनका क्रममा जनधनको क्षति भएको उल्लेख छ। सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, बजार र पसल बन्द तथा लुटपाटका घटनाप्रति दुःख व्यक्त गरिएको छ। नागरिक र उद्योग–व्यवसायको सुरक्षाको प्रत्याभूति दिन सरकारसँग आग्रह गरिएको छ।
'समाजमा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न सबै प्रदेश तथा जिल्ला संघ र निजी क्षेत्रका संस्थाले सहकार्य गर्नुपर्छ,' परिसंघले भनेको छ। सद्भाव र्यालीसहित शान्ति स्थापना गर्ने गतिविधिमा सहभागी हुन पनि आग्रह गरिएको छ।