राष्ट्रिय सुरक्षा परिषदको बैठक सम्पन्न भएको छ।
बिहीबार मध्याह्न प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो।
परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार यो ४३औं बैठक सम्पन्न भएको हो।
उक्त बैठकमा सुनसरीको घटनाका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको बारेमा समेत विश्लेषण र समीक्षा गरेको उनले बताए।
‘यस बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थितिको विश्लेषण गर्दै समीक्षा गर्यो। देशका घटनाबारे पनि विश्लेषण र समीक्षा गरेको छ,’ उनले भने।
यस्तै सुनसरीको घटना दोहोरिन नदिनका लागि सबै सरोकारवाला निकायलाई सक्रिय भूमिका खेल्नका लागि निर्देशन दिने निर्णय पनि भएको उनले बताए।
‘यस किसिमका राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय परिवेशमा घटना हुन नदिनका लागि सरकारले सरोकारवाला निकायहरू प्रदेश सरकार, स्थानीय सरकारको समन्वयमा आगामी दिनहरूमा यस्ता घटनाहरू हुन नदिनका लागि प्रोएक्टिभरूपमा काम गर्नका लागि निर्देशन दिने निर्णय भएको छ,’ उनले भने।
त्यसैगरी विपद प्रतिकार्यका लागि पनि सक्रिय भूमिका लेखि निर्णय गर्नका लागि पनि निर्णय गरेको उनले बताए।
‘विपद् प्रतिकार्यको लागि विगतमा नभएका कुराहरू समयमै खोज उद्धार र राहतका कुराहरू सम्पन्न गरेर नागरिकलाई सेवा सुविधा दिने सन्दर्भमा निर्णय भएको छ,’ उनले भने।