प्रतिपक्षी सांसदहरूले सुनसरीको देवानगन्जमा भएको घटनाबारे सरकार जबाफदेही हुनुपर्छ भन्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टी लगायत सबै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थिति माग गरेका हुन्।
देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको यति ठूलो घटनामा प्रधानमन्त्री र गृहमन्त्री दुवै उपस्थित भएर संसदलाई जानकारी गराउनुपर्नेमा १४ दिनपछि बसेको बैठकमा उनीहरू दुवै गयल भएकोमा प्रतिपक्षी सांसदहरूले आपत्ति जनाए।
विगतमा भएका यस्तै घटनामा प्रधानमन्त्री र गृहमन्त्रीलाई जबाफदेही बनाउँदै राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले अहिलेको घटनामा राजीनामा दिनुपर्छ कि पर्दैन भनेर सांसदहरूले प्रश्न पनि गरे।
सुनसरी लगायत पूर्वी नेपालका जिल्लाहरूमा शान्ति सुव्यवस्था, अमन चैन र सामाजिक सद्भाव कायम गर्न ठोस योजना ल्याउनुपर्नेमा त्यसमा पनि सरकार चुकेको उनीहरूले बताए। एकता र सद्भावको सन्देश प्रवाह गरेर समाधान खोज्नुपर्ने यो मुद्दालाई सरकारले सुरक्षाकर्मी परिचालन गरेर मात्र समाधान गर्न खोजेको भन्दै उनीहरूले खेद प्रकट गरे।
अहिलेको संवेदनशील घडीमा प्रधानमन्त्री शाहले संसदमा उपस्थित भएर आगामी योजनाबारे छलफल गर्ने र प्रतिपक्षी दलहरूलाई विश्वासमा लिने हो भने सरकारलाई साथ दिन सबै तयार रहेको पनि सांसदहरूले बताए।
नेकपा एमाले सांसद पद्मा अर्यालले विगतमा भएका आन्दोलन र प्रदर्शनमा प्रहरीको गोली चलेर ज्यान जाँदा प्रधानमन्त्री र गृहमन्त्रीको जबाफदेहिता खोज्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री आफैले भने जबाफदेहिता र नैतिक जिम्मेवारी नदेखाएको भन्दै प्रश्न गरिन्।
सुनसरी घटनाले विगतमा भएका यस्तै घटना स्मरण गराएको उल्लेख गर्दै सांसद अर्यालले भनिन्, 'काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जबाफदेहिता लिनुपर्छ, थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भने सुनसरीमा गोली चल्दा, मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन? थुनामा बस्न पर्छ कि पर्दैन?'
विगतमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि फौजदारी अभियोगको दायित्व थुपार्नेहरूलाई अहिले फौजदारी अभियोग लगाइनुपर्छ कि पर्दैन, नैतिक जिम्मेवारी लिन तयार हुनुपर्छ कि पर्दैन भनेर उनले प्रश्न गरिन्।
सांसद अर्यालले सुनसरी लगायतका पूर्वी जिल्लामा बढ्दो तनाव अन्त्य गरी शान्ति सुव्यवस्था कायम गर्न र त्यहाँका जनतामा विश्वास जगाउन सरकारले कुनै कदम नचालेको भन्दै आपत्ति जनाइन्। देशमा यति ठूलो दंगा भड्किँदा पनि देशका प्रधानमन्त्रीले मौनता साधेकोमा उनले प्रश्न उठाइन्।
'हामी सबैका प्रयत्नले शान्ति कायम गर्ने हो, विश्वास जगाउने हो। हामी यसका लागि गम्भीर छौं, जिम्मेवार छौं। सरकारले चाल्ने हरेक कदममा साथ पनि तयार छौं। तर देशमा यति ठूलो दंगा भइरहँदा प्रधानमन्त्री कहाँ हुनुहुन्छ?' उनले भनिन्, 'प्रधानमनत्री पद सिंहदरबारमा सजाउनका लागि बनाइएको होइन, देशमा संकट पर्दा प्रधानमन्त्रीले जनताको बीचमा देखिनुपर्छ, संवाद गर्नुपर्छ। तर प्रधानमन्त्रीज्यू आफ्नो यो जिम्मेवारीबाट पन्छिनुभएको छ।'
विगतमा पनि बेलाबखत यस्तो घटना हुँदा सरकार र सबै राजनीतिक दल मिलेर एकताको सन्देश फैलाउँदै घटना साम्य पारेको उनले स्मरण गरिन्।
'हिमाल, पहाड, तराई कोही छैन पराई- यही सूत्रले हामीले सबैलाई एकतामा जोड्यौ। अहिले खोई सरकारले शान्ति कायम गराउने योजना ल्याएको?' सांसद अर्यालले भनिन्, 'सरकारले निराश बन्दै गएको पंक्तिलाई आशा जगाउने अभियान ल्याउनुपर्छ। सरकारले शान्ति सुव्यवस्था कायम गर्ने, अमनचैन र सद्भाव फैलाउने योजना ल्यायो भने हामी त्यसमा हातेमालो गर्दै हिँड्न तयार छौं।'
दंगा नियन्त्रण गर्न संवाद, योजना र विश्वास सिर्जना गर्नुको साटो राज्य आफै त्रास उत्पन्न गरेको र यसले घटनालाई झन् उत्तेजित बनाउने काम गरेको उनले उल्लेख गरिन्।
'उत्तेजना, आवेग र प्रतिशोधले हामी ठिक ठाउँमा पुग्न सक्दैनौं। त्यसले झन् बढी नोक्सान पुर्याउँछ,' सांसद अर्यालले भनिन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापले सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङ मौन बसेको भन्दै प्रश्न गरिन्।
'आज कप्तानगन्जमा नेपाली युवाले ज्यान गुमाएका छन्। दर्जनौं युवालाई गोली लागेर एउटा परिवारले आफ्नो छोरा गुमाएको छ। एउटी आमाले आफ्नो कोख रित्याएकी छन्। एउटा बाबुले आफ्नो सहारा गुमाएको छ। तर यो घटना पछि सरकार मौन छ,' उनले भनिन्।
यस्तै घटनामा हिजो आक्रोश पोख्ने प्रधानमन्त्री र सदनमा आँसु बगाउने गृहमन्त्रीको मौनताले न्यायप्रतिको नागरिकको विश्वास र राज्यप्रतिको भरोसा कमजोर बनाएको प्रमुख सचेतक थापाको भनाइ थियो।
प्रधानमन्त्री बालेनले काठमाडौं महानगरका मेयर हुँदा भदौ २३ को घटनाबारे लेखेको स्ट्याटस पनि उनले स्मरण गराइन्। प्रधानमन्त्रीमा त्यतिबेलाको भावना र आज पदमा हुँदाको व्यवहार बदलिएको उनको आशंका थियो।
'एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो? त्यो आवाज आज किन सुनिदैन? तपाईंले लगाएको कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक-फरक देखिन्छ र?' उनले भनिन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले पनि संसदमा प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन्।
'सुनसरीको कप्तानगन्जमा भएको घटनाले सिंगो देशलाई तरंगित र स्तब्ध बनाएको छ। यस्तो संवेदनशील बेला त हाम्रा प्रधानमन्त्रीले संसदमा आएर देशभरीलाई त्यहाँको विषयवस्तु, त्यहाँको घटना र त्यहाँको समग्र अवस्थाबारे जानकारी दिनुपर्थ्यो,' उनले भने, 'तर विडम्बना हाम्रो प्रधानमन्त्री कहाँ हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? न संसदलाई जानकारी छ न कसैलाई जानकारी छ।'
उनले गृहमन्त्री सुधन गुरूङले आफ्नो पद जसलाई चाहिएको छ उसैलाई दिन्छु भन्दै गरेको भिडियो पोस्टमा समेत प्रश्न उठाए।
'गृहमन्त्रीज्यू भन्दै हुनुहुन्छ- यो गृहमन्त्री पद कसलाई चाहिएको छ लैजाओ। उहाँ यस्तो कुरा सार्वजनिक रूपले भन्न र यति अराजक अभिव्यक्ति दिन भ्याउनुहुन्छ, तर सुनसरी जान भ्याउनुहुन्न?' उनले भने, 'यो घटनापछि राज्य कहाँ छ? सरकार अभिभावक बन्नुपर्छ कि पर्दैन?'
सुनसरीको देवानगन्जमा ओमप्रकाश मेहताको हत्या घटनाबारे गृहमन्त्रीले त्यहाँको स्थानीय तहलाई जिम्मेवारी दिएको हो कि नेपाल सरकार आफूले लिने हो, त्यसको जानकारी सदनलाई चाहिएको सांसद शर्माले बताए।
'प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूले विगतमा भएका घटनामा राज्य संवेदनशील हुनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। प्रधानमन्त्री यो सदनमा आएर यस्ता घटनाको जानकारी गराउन म अनुरोध गर्छु,' उनले भने।
राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले सुनसरीको कप्तानगन्जमा गोली लागेर युवाको ज्यान गएको घटना स्वीकार गर्दै प्रधानमन्त्री शाहले फेसबुकमा स्टाटस राखेको भन्दै गोली चलाउन कसले आदेश दियो भन्ने प्रश्न गरेकी छन्।
घटनाबारे छानबिन नै नगरी प्रधानमन्त्रीले स्टाटस राखेको पनि उनले बताइन्।
'यो समयमा के देशले प्रधानमन्त्रीको अभिभावकत्व खोजिरहेको छैन? यही हो जिम्मेवारी? योभन्दा डरलाग्दा घटना हुँदा विगतमा प्रधानमन्त्री र राष्ट्राध्यक्षले सम्बोधन गर्थे तर आज उहाँ कुन खोपीमा बस्नुभएको छ? प्रधानमन्त्रीले फेसबुकबाट गोली प्रहारले ज्यान गएको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको भए त्यसको आदेश कसले दियो?' उनले प्रश्न गरिन्, 'प्रहरीको गोलीले मरेको हो कि होइन भनेर छानबिनबिना उहाँले फेसबुकमा कसरी भन्न सक्नुहुन्छ, यही हो परिपक्वता प्रधानमन्त्रीको? गोली कसले चलायो हामीले जान्न पाउनुपर्छ।'
रास्वपा सभापतिले बुधबार सिंहदरबारमा सर्वदलीय बैठक राख्दा पनि त्यहाँ प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नभएकोमा पनि सांसद ओलीले आपत्ति जनाइन्।
'मेयरले बिजुली लाइन काटेपछि गोली चलेको भन्छन्, सिडिओले गोली चलाउने आदेश दिएको छैन भन्छन्, नेपाल प्रहरीले हवाई फायर मात्रै गरेको भनेको छ, त्यसो भए गोली कसरी चल्यो?,' उनले भनिन्, 'सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्छ।'
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकार अन्धकारमा कोठाभित्र बसेर लाइभ हेरिरहेको र संकट बेलामा बेखबर भएको बताए।
'देशमा आज जताततै हिंसा हुने अवस्था छ। तर सरकार बेखबर छ। सरकार कहाँ छ भनेर म सोध्न चाहन्छु। सायद यो लाइभ हेरिरहनुभएको छ भने हात हल्लाएर सोध्न चाहन्छु,' उनले भने, 'सरकार अब तपाईं निस्किनुपर्छ। भित्र अन्धकारमा बसेर, दुरबिन लगाएर हेरेको देश ठिक छ भनेर भन्न पाउनुहुन्न। किनभने दिनदहाडै गोली चलेको छ, हत्या हिंसा बढेको छ। देशमा संकट हुने अवस्था छ तर सरकार बेखबर छ।'
उनले प्रधानमन्त्री बालेन शाहले देश चलाउन नसक्ने भए हात ठड्याउन पनि अनुरोध गरे।
'यो दुनियामा काम बिगार्नुको सट्टामा म सक्दिनँ भन्न पाइन्छ। यदि प्रधानमन्त्रीज्यूले अहिलेको सरकारले देश चलाउन नसक्ने हो भने हात ठड्याए हुन्छ। त्यो पाइन्छ,' उनले भने, 'रास्वपा दुईतिहाइको नजिक छ। कोही न कोहीले देश लिड गरेर जाला। तर अभिभावकविहीन भएर बस्न पाइन्न। टुहुरो बनाउन पाइन्न। कि त निस्किन पर्यो कि त हात ठड्याउनुपर्यो भन्ने माग छ।'
उनले रास्वपाका सभापति रवि लामिछानेलाई सर्वदलीय बैठक बोलाएर पहलकदमी लिएकोमा धन्यवाद समेत दिए। तर त्यतिले नपुग्ने सांसद राईको भनाइ छ।
'रास्वपाका सभापतिलाई धन्यवाद दिन चाहन्छु। तपाईंको तर्फबाट जुन पहलकदमी गर्नुभयो, त्यो ठिक छ। तर त्यतिले मात्र पुग्दैन। यस्तो बेला सत्ता पक्ष र प्रतिपक्ष नभनेर हामी सबै सांसदहरू र पार्टीहरू एक ठाउँमा उभिनुपर्छ,' उनले भने, 'सरकारले पहल गर्नुपर्ने बेला सरकार आफै कालो कोठाभित्र लुकेर चियाएर हेरेको जस्तो महसुस भइरहेको छ। त्यसै कारण बाहिर निस्किन अनुरोध गर्न चाहन्छु। बल प्रयोग गरेर समस्या समाधान हुँदैन। विभिन्न राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने बल प्रयोग गरेपछिको परिणाम के हुन्छ भन्ने यहाँहरूलाई थाहै छ।'
यसैगरी राईले देशबासीहरूलाई पनि संयमता अपनाउन अनुरोध गरेका छन्।
'म सबै देशबासीलाई अनुरोध गर्न चाहन्छु। हामी सयौं थुंगा फुलका हामी एउटै माला नेपाली, हिमाल पहाड तराईं कोही छैनौं पराई। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै धार्मिक संघ-संस्थालाई अनुरोध पनि गर्न चाहन्छु। सरकार बेखबर भयो भन्दैमा हामी मूर्ख हुनुहुँदैन। हामी मूर्ख भयौं भने, हामी हामी लड्यौं भने हाम्रै दाजुभाइ दिदीबहिनीहरू, हाम्रै भाइभतिजाहरू मर्ने हो। हामी संयमित हौं,' उनले भने।