सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीबीच गत साता जापानको एक कार्यक्रममा चलेको जुहारी सामाजिक सञ्जालमा भाइरल भयो।
जापानको टोकियोमा आयोजित कार्यक्रममा सहभागी भएका यी दुई सांसदबीच आरोप-प्रत्यारोप भइरहेको उक्त भिडिओ धेरैका लागि हाँसोको विषय बन्यो।
तर ललितपुरको एक परिवारका लागि त्यो हाँसोको विषय थिएन।
किनभने, त्यही भिडिओमा एक जना व्यक्ति पनि थिए, जो बलात्कार आरोपमा फरार छन्। उनीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस समेत जारी भएको छ।
भिडिओमा ज्ञानेन्द्र शाहीको छेवैमा बसेको देखिने ती व्यक्ति विमल न्यौपाने हुन्, जसविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसारपसार कसुर र जबर्जस्ती करणी कसुरमा जाहेरी परेको थियो।
प्रहरीको रेकर्ड अनुसार उनी बर्दिया बाँसगढी घर भई तत्कालीन अवस्थामा ललितपुर महानगरपालिका-२३ धापाखेल बस्थे। उनी पछिल्लो समय टोकियोको चिबामा बस्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।
नाबालिकामाथि बलात्कारका आरोपी सत्तारूढ र प्रतिपक्ष दलकै सांसदबीच देखिएपछि पीडित परिवार त्रासमा र थप पीडामा छन्। उक्त भिडिओ देखेका परिवारका सदस्य अब न्याय पाइने हो कि होइन भन्ने चिन्ता व्यक्त गर्छन्।
'जापान भन्नेबित्तिकै हामी झसंग हुन्छौं। अस्ति सामाजिक सञ्जालमा भिडिओ देखेपछि हामीलाई असाध्यै पीडा भयो,' पीडितका बुबाले भने, 'बलात्कारका आरोपीले सत्तामा रहेका सांसद र प्रतिपक्षी सांसदसँगै बसेर खाइरहेको देखेपछि हामीलाई डर छ। त्यति माथिसम्म पहुँच भएको मान्छे कहिले पक्राउ नै नपर्ने हो कि भन्ने चिन्ता लागेको छ।'
न्यौपानेले एक नाबालिकामाथि २०७० देखि २०७३ सालसम्म पटक पटक जबर्जस्ती करणी गरेको आरोप छ। उनले घरमा आमाबुबा नहुँदा बालिकालाई 'गेम खेलौं' भन्दै फकाएर बलात्कार गरेको आरोप पीडित पक्षले लगाएको छ।
यसबारे कसैलाई खबर गरे आमाबुबालाई पिट्ने डर देखाएको उनीहरूको भनाइ छ।
'छोरीले घटनाबारे हामीलाई सिधै भनेकी होइनन्। त्यो घटनाले उनलाई विक्षिप्त बनाएको थियो। कसैसँग बोल्न पनि छाडिसकेकी थिइन्। स्वास्थ्यमा समस्या आउन थालेपछि हामीले अस्पताल जाऔं भन्यौं,' बुबाले भने, 'सुरूमा त जान मानेकी थिइनन्। पछि तयार भइन्, अनि अस्पतालमा डाक्टरसँग आफूमाथि भएको घटनाबारे जानकारी गराइन्।'
यसरी पीडित बालिकाले उपचारका क्रममा डाक्टरलाई सुनाएपछि उक्त घटना बाहिर आएको थियो।
त्यसपछि आमाबुबा छोरीलाई लिएर जावलाखेलस्थित प्रहरी परिसर पुगेका थिए।
प्रहरीले २०८० चैत २१ गते जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। तर त्यति बेलासम्म ती व्यक्ति विदेश गइसकेका थिए। उनलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउन सकिएको छैन।
त्यति बेला अनुसन्धानमा खटिएका एक प्रहरीसँग हामीले कुराकानी गरेका छौं। उनले उक्त घटनामा बालिकालाई एक ठाउँबाट अर्को ठाउँ लगेर बलात्कार गरेको हुँदा मानव बेचबिखन समेतको कसुर अघि बढाइएको बताए।
'बालिकालाई केही समयसम्म एक ठाउँबाट अर्को ठाउँ पुर्याएर बलात्कार गरेको भनिएको थियो। त्यसपछि हामीले कानुन व्यवसायीसँग सल्लाह गरेर मानव बेचबिखन कसुरमा समेत अनुसन्धान अघि बढाएका थियौं,' ती प्रहरीले भने।
जाहेरी पर्दासम्म ती व्यक्ति जापान गएर व्यवसाय गर्न थालिसकेको उनले बताए।
'जाहेरी आउने बेला घटना भएको केही समय भइसकेको हुँदा आरोपी फरार भइसकेका थिए। जापान गएर व्यवसाय गरिरहेको भन्नेसम्म सुनेको थिएँ। धेरै समय भइसकेकाले अहिले त्यति धेरै याद त आएन, तर हामीले अनुसन्धानका लागि पीडित नाबालिकाको बयान लिएर राखेका थियौं,' उनले भने, 'रेड कर्नर नोटिसका लागि पत्राचार गरेका थियौं। त्यसपछि मेरो सरूवा भएकाले अगाडिको प्रक्रियाबारे म जानकार भइनँ।'
पीडित पक्षले प्रहरीमा जाहेरी दिएको दुई वर्षभन्दा बढी भइसकेको छ। यसबीच नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले २०८१ असोज २१ गते रेड कर्नर नोटिस जारी गरेको हो।
रेड कर्नर नै जारी भइसकेका ती व्यक्ति पक्राउ पर्नु त टाढाको कुरा, बरू सांसदहरूकै आसपास देखिएपछि परिवारमा त्रास फैलिएको हो।
परिवारले यसबीच न्यौपानेलाई पक्राउ गरी नेपाल फर्काउन विभिन्न ठाउँमा गुहार मागेको पनि बताएको छ।
'हामी प्रहरी प्रशासनले आफ्नो तरिकाले काम गर्छ भन्नेमा विश्वस्त थियौं। लामो समयसम्म पक्राउ नपरेपछि हामी गुहार माग्दै गृह मन्त्रालय पुग्यौं,' पीडित परिवारले भन्यो।
गृहले २०८२ जेठ २८ गते न्यौपानेलाई नेपाल फिर्ता ल्याउन कूटनीतिक पहलको निम्ति परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो। पीडित परिवारले तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत भेटेर जानकारी गराएको थियो।
तत्कालीन गृहमन्त्री अर्यालले पनि यसलाई गम्भीरतापूर्वक लिएर प्रक्रियाबारे बुझ्ने बताएको पीडित परिवारको भनाइ छ।
त्यस्तै, परराष्ट्र सचिव अमृत राईलाई पनि आफूहरूले भेटेर घटनाबारे जानकारी गराएको र उनले पनि टोकियोस्थित दूतावासलाई समन्वय गर्न भनेको पीडित बुबाले बताए।
'गृह र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पनि घटनाबारे भनेका थियौं। परराष्ट्र सचिव अमृत राईलाई भेटेर जानकारी गराएका थियौं। उहाँले दूतावासमा समन्वय गरिदिनुभयो। तर हामी आफैले सम्पर्कको प्रयास गर्दा दूतावासका कर्मचारीले बेवास्ता गरे,' पीडित बुबाले भने, 'त्यसपछि हामी निरीह भयौं। व्यवसाय समेत गर्ने गरेको सुनिएकाले ती व्यक्तिले कर्मचारीलाई नै प्रभावमा पारेका हुन् कि भन्ने हाम्रो आशंका थियो। त्यसबीच अहिले सांसदहरूलाई खाजा स्पोन्सर गरेजस्तो देख्यौं।'
अहिले १९ वर्ष पुगेकी बालिकालाई उक्त घटनाले अहिलेसम्म विक्षिप्त बनाएको छ।
'छोरीको जिन्दगी नै बर्बाद बनाएको छ। उनी त्यो घटनाबाट बाहिर निस्किन सकेकी छैनन्। ट्रमा र डिप्रेसनमा छिन्। धेरै ठाउँमा उपचार पनि गरायौं, औषधि पनि खुवायौं तर त्यसबाट निस्किन सकिनन्,' पीडितका बुबाले भने।
सेतोपाटीले विमल न्यौपानेको इन्टरपोलमा भएको विवरण पनि विभिन्न स्रोतमार्फत बुझेको छ। त्यसै क्रममा इन्टरपोलको रेकर्डमा रहेको तस्बिर समेत प्राप्त भएको छ।
हामीले भिडिओमा देखिएका व्यक्ति विमल नै हुन् भनेर जापानस्थित स्रोतमार्फत पुष्टि गरेका छौं।
इन्टरपोलको रेकर्डमा रहेको तस्बिर।