अविरल वर्षापछिको पहिरोका कारण विभिन्न राजमार्ग अवरूद्ध छन्।
नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेसम्म ५ वटा मुख्य राजमार्ग ७ ठाउँमा अवरूद्ध छ।
ललितपुरको बागमती गाउँपालिका-३ पाङ्दुरमा पहिरोका कारण कान्ति लोकपथ पूर्ण अवरूद्ध छ।
यही लोकपथको हेटौंडा-ठिंगन-बागमती-ललितपुर खण्ड असार २९ गतेदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहँदै आएको छ।
सम्भावित पहिरोका कारण उक्त खण्डमा रातको समयमा गाडी चलाउन रोक लगाइएको हो।
भोजपुर नगरपालिका-१ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरूद्ध छ। यो सडक अहिले एकतर्फी सञ्चालनमा रहेको र वैकल्पिक बाटो समेत सञ्चालनमा छ।
मेची राजमार्ग इलाममा पूर्ण अवरूद्ध छ। अविरल वर्षाका कारण इलाम नगरपालिका-९ राजदुवालीमा झापा-ताप्लेजुङ सडक वैशाख २३ गतेदेखि पूर्ण अवरूद्ध छ। त्यहाँ वैकल्पिक बाटो सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
काभ्रेमा विपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेसी चल्ने सम्पूर्ण सवारी साधनहरू जेठ २२ गतेदेखि रातिको समयमा बन्द रहँदै आएको छ।
उक्त खण्डमा सम्भावित बाढीका कारण बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
अरनिको राजमार्ग दुई ठाउँमा पूर्ण रूपमा अवरूद्ध छ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलोस्थित तातोपानी जाने बाटो असार ३१ गतेदेखि अवरूद्ध छ।
भोटेकोशी-२ कोदारीमा पहिरोका कारण साउन १ गतेदेखि उक्त खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ।