चालु आर्थिक वर्षको ५ महिनामा सरकारले तिर्ने ऋणको दायित्व एक खर्ब १५ अर्ब रूपैयाँले बढेको छ।
असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब रूपैयाँ रहेको यस्तो ऋण मंसिर मसान्तमा आइपुग्दा २७ खर्ब ८८ अर्ब पुगेको छ।
देशको कुल अर्थतन्त्रसँग तुलना गर्ने हो भने सरकारले तिर्ने ऋणको अनुपात ४५ प्रतिशत पुगेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार पाँच महिनाको अवधिमा देशभित्रबाट सरकारले एक खर्ब ४७ अर्ब रूपैयाँ ऋण उठाएको छ।
तर, यही अवधिमा एक खर्ब १४ अर्ब रूपैयाँ आन्तरिक ऋण तिरिएको छ। जसको कारण यो अवधिमा आन्तरिक ऋणको भार ३३ अर्ब रूपैयाँले बढेपछि आन्तरिक ऋणको मात्रै १३ खर्ब एक अर्ब पुगेको छ।
त्यस्तै, अन्तर्राष्ट्रिय दातृ निकायबाट सरकारले पाँच महिनामा २७ अर्ब ४५ करोड ऋण लिएको छ।
यही अवधिमा २४ अर्ब ४ करोड बाह्य ऋण भुक्तानी भएको छ। यो अवधिमा तिरेको ऋणको अनुपातमा लिएको ऋण तीन अर्ब मात्रै बढी भए पनि दायित्व भने ८१ अर्ब रूपैयाँले बढेको छ।
सरकारले अधिकांश बाह्य ऋण एक प्रतिशत तल (सहुलियत ऋण) ब्याजदरमा प्राप्त गरेको छ। तर, अन्तर्राष्ट्रिय मुद्रासँग नेपाली मुद्रा कमजोर भएको कारण ऋणको भार भने निरन्तर बढेको छ।
नेपाली रूपैयाँसँगको तुलनामा चालु वर्षमा बढेको अन्तर्राष्ट्रिय ऋणको दायित्वमध्ये ३ अर्ब मात्रै थपिएको ऋण हो भने बाँकी ७७ अर्ब रूपैयाँ भने विनिमयदर घाटा हो।
समग्रमा चालु वर्षमा आन्तरिक र बाह्य ऋण जम्मा ३६ अर्ब रूपैयाँ थपिए पनि दायित्व भने एक खर्ब १५ अर्ब रूपैयाँले बढेको छ।
सरकारले लिएको वास्तविक ऋणभन्दा दुई गुणा बढी विनिमय दर घाटा देखिएको छ।
नेपालले ठूलो मात्रामा अमेरिकी डलर र स्पेसल ड्रइङ राइट (एसडिआर) मा ऋण लिएको छ। डलर र एसडिआर दुवैको मूल्य बढेका कारण यस्तो दायित्व बढी थपिएको हो।
एसडिआर पाँच देशका मुद्रा (अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र बेलायती पाउन्ड) को औसत मूल्यमा आधारित कृत्रिम मुद्रा हो, जसमा डलरको हिस्सा ४१ प्रतिशत छ।
नेपाली मुद्रासँगको हिसाबमा कुल वैदेशिक ऋणको ७३ प्रतिशत एसडिआरमा र १९ प्रतिशत अमेरिकी डलरमा छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार एसडिआरको मूल्यवृद्धिका कारण ५७ अर्ब रूपैयाँ वैदेशिक ऋणको भार बढेको छ।
असारमा एक एसडसिआर बराबर १८७ रूपैयाँ ७३ पैसा मूल्य थियो। अहिले बढेर एक सय ९८ रूपैयाँ ३९ पैसा पुगेको छ।
डलरको मूल्यवृद्धिले १४ अर्ब रूपैयाँ थप भार परेको छ।
असारमा एक डलर बराबर १३७ रूपैयाँ ६० पैसा थियो। मंसिर मसान्तमा आउदा १४४.९७ रूपैयाँ पुगेको छ।
यस बाहेक अन्य मुद्रामा लिइएको ऋणको विनिमयदरको कारण ५ अर्ब घाटा देखिएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हरेक महिना ऋणको हिसाब निकाल्छ।
महिनाको अन्तिम दिन सम्बन्धित मुद्रामा लिइएको ऋण र नेपाली मुद्राको विनिमयदरको उतारचढावलाई आधार मानेर हिसाब गरिन्छ।
यद्यपि, सार्वजनिक ऋण सम्बन्धित मुद्रामै भुक्तानी हुन्छ र एकैचोटी सबै ऋण तिरिँदैन। यो विभिन्न किस्तामा भुक्तानी हुन्छ।
ब्याजमा लाभ
सरकारले पाँच महिनाको अवधिमा सरकारले लिएको ऋणको सेवा खर्च अन्तर्गत २८ अर्ब ७० करोड ब्याज तिरेको छ।
जसमध्ये १३ खर्ब आन्तरिक ऋणको ब्याज २३ अर्ब ४२ करोड रूपैयाँ भुक्तानी गरिएको छ।
नेपाली रूपैयाँसँग तुलना गर्दा १४ खर्ब ८६ अर्ब दायित्व पुगेको बाह्य ऋणको ब्याज भने ५ अर्ब २८ करोड रूपैयाँ मात्रै तिरेको छ।
सरकारले तालिका बनाएर समयमा नै ब्याज भुक्तानी गरेको हुन्छ।
पछिल्लो करिब २ वर्षदेखि आन्तरिक बजारमा ब्याजदर न्यून छ। यसकारणले पनि अहिले उठाएको आन्तरिक ऋणको सेवा खर्च न्यून छ।
तर पनि आन्तरिक ऋणको ब्याजसँगको अनुपातमा बाह्य ऋणको ब्याज नगन्य मात्रै छ।
तर विनिमयदर कमजोर हुँदा भने सरकारले व्यहोर्ने दायित्व भने उस्तै देखिन थालेको छ।
नेपाली मुद्रासँगको आधारमा ब्याज र विनिमयदरको कारण अन्तर्राष्ट्रिय ऋणको दायित्वभार पनि ५/६ प्रतिशत माथि पुग्न थालेको छ।