अर्थ मन्त्रालयले 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३' सार्वजनिक गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेट ल्याउनु अघि अर्थमन्त्री स्थितिपत्र सार्वजनिक गरेका हुन्।
उनले चैत १३ गते अर्थमन्त्रीको पदभार सम्हाल्ने क्रममा स्थितिपत्र निकाल्ने र सुधारको लागि काम गर्ने भनेका थिए।
त्यसलगत्तै सहसचिव महेश भट्टराईको संयोजकत्वमा स्थितिपत्र तयारी गरिएको थियो।
पदभार सम्हालेको ठिक १ महिना पूरा भएसँगै ३० पेज लामो स्थितिपत्र सार्वजनिक गरिएको हो।
यो स्थितिपत्र निकाल्नुको मुख्य उद्देश्य मुलुकको विद्यमान आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको यथार्थपरक चित्रण गर्नु र आगामी कार्यदिशा निर्धारणमा सहयोग पर्याउनु भएको बताइएको छ।
स्थितिपत्र जारी गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल स्रोत, सम्भावना र सदिच्छामा समृद्ध भए पनि सोच, संकल्प र शासकीय सदाचारको संकटले गर्दा समुन्नत हुन नसकेको बताएका छन्।
'अबको प्राथमिकता नेपाली जनताको सकारात्मक सामाजिक पुँजीलाई सही नियत, नीति र कार्ययोजनाका साथ समुन्नतितर्फ लैजानु हो,' उनले भने।
वर्तमान अर्थतन्त्रमा केही सूचकहरू निकै सकारात्मक देखिएका छन्।
सबैभन्दा उल्लेख्य प्रगति ऊर्जा क्षेत्रमा भएको छ।
२०६८ सम्म जम्मा ६९७ मेगावाट विद्युत जडित क्षमता रहेकोमा २०८२ फागुनसम्म यो बढेर ४,१०५ मेगावाट पुगेको छ र ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ।
बाह्य क्षेत्रको स्थिरता पनि सन्तोषजनक छ।
विप्रेषण (रेमिटेन्स) आप्रवाहमा भएको बढोत्तरीले गर्दा विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रूपैयाँ पुगेको छ। जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
सामाजिक क्षेत्रमा पनि सुधार देखिएको छ।
नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ भने प्रति लाख जीवित जन्ममा मातृ मृत्युदर १५१ मा झरेको छ।
अन्तर्राष्ट्रिय साख मूल्यांकन (क्रेडिट रेटिङ) मा नेपालले 'बिबी माइनस' स्कोर र 'स्थिर' परिदृश्य कायम राख्नुलाई विदेशी लगानीका लागि सकारात्मक मानिएको छ।
सकारात्मक सूचकका बाबजुद अर्थतन्त्रमा संरचनात्मक चुनौतीहरू देखाइएको छ।
आर्थिक वृद्धिदर तुलनात्मक रूपमा न्यून र अस्थिर छ।
आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ।
उत्पादनमूलक उद्योगको अवस्था कमजोर छ र कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान घटेर ५ प्रतिशतमा खुम्चिएको छ।
बेरोजगारीको समस्या भयावह देखाइएको छ। हाल नेपालमा बेरोजगारी दर १२.६ प्रतिशत छ भने १५-२४ वर्ष उमेर समूहका युवाहरूमा यो दर २२.७ प्रतिशत पुगेको उल्लेख छ।
सार्वजनिक ऋणको भार तीव्र रूपमा बढ्दै गएको छ। २०७२ मा ५ खर्ब ४४ अर्ब रहेको सार्वजनिक ऋण २०८२ फागुनसम्म २८ खर्ब ७८ अर्ब रूपैयाँ पुगिसकेको छ।
पुँजीगत खर्च गर्ने क्षमता कमजोर भएको उल्लेख छ।
कुल बजेटको ठूलो हिस्सा ऋणको सावाँ-ब्याज तिर्नमै खर्च हुने गरेको औंल्याइएको छ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्ष पनि कमजोर रहेको विषय औंल्याइएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकमा नेपाल १०० मा ३४ अंकका साथ १०९औँ स्थानमा छ।
स्थितिपत्रले आर्थिक रूपान्तरणका लागि केही योजना अघि सारेको देखिन्छ। आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ।
यसका लागि आगामी ५ वर्षभित्र विद्युत् उत्पादन १५ हजार मेगावाट पुर्याउने र राष्ट्रिय गौरवका आयोजनाहरू दुई वर्षभित्र सम्पन्न गर्ने रणनीति लिइएको छ।
अबको बाटोमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उद्योग र पर्यटनसँग दरिलो आबद्धता गराउने योजना अघि बढाउने भनिएको छ।
सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको विस्तारलाई प्राथमिकता दिइएको छ।
यसअन्तर्गत कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्सको उपयोगमार्फत रोजगारी र निर्यात बढाउने लक्ष्य राखिएको छ।
सामाजिक सुरक्षा कार्यक्रममा रहेको दोहोरोपन हटाउने, पुँजीगत खर्चको गुणस्तर सुधार्ने र सार्वजनिक संस्थानहरूको व्यवस्थापनमा सुधार गर्ने भनिएको छ।
आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने र अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर नजिक पुर्याई नेपाललाई मध्यम-आय भएको मुलुक बनाउने बताइएको छ।
यो स्थितिपत्रले विगतका नीतिगत कमजोरी र कार्यान्वयनको फितलो अवस्थालाई स्वीकार गर्दै अबको यात्रा 'रेन्ट-सिकिङ' बाट उन्नत रोजगारी केन्द्रित दिगो वृद्धितर्फ लैजाने भनिएको छ।