अर्थमन्त्रालयले मुलुकको आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ। तथ्यांकीय रूपमा पछिल्लो दशकमा के कति परिवर्तन आएको छ त?
आर्थिक स्थितिपत्रका आधारमा नेपालको अर्थतन्त्रमा विगत एक दशक (विशेषगरी २०७२ सालको भूकम्प र त्यसपछिको अवस्था) देखि हाल २०८२/८३ सम्म आएका परिवर्तनहरूलाई तथ्यांकमार्फत देखाइएको छ।
कुल गार्हस्थ्य उत्पादन
आर्थिक वर्ष २०७२/७३ मा प्रचलित मूल्यमा नेपालको अर्थतन्त्रको आकार २६ खर्ब ८ अर्ब रूपैयाँ रहेकोमा २०८१/८२ मा यो बढेर ६१ खर्ब ७ अर्ब रूपैयाँ पुगेको छ।
आर्थिक वृद्धिदर
२०७२/७३ मा भूकम्प र नाकाबन्दीका कारण आर्थिक वृद्धिदर मात्र ०.४३ प्रतिशत रहेकोमा २०८१/८२ मा ४.६१ प्रतिशत पुगेको छ र चालु वर्ष २०८२/८३ मा ३.५ प्रतिशत रहने प्रक्षेपण छ।
संरचनात्मक परिवर्तन
अर्थतन्त्रमा कृषिको हिस्सा २८.४ प्रतिशतबाट घटेर २५.२ प्रतिशतमा झरेको छ भने सेवा क्षेत्रको हिस्सा ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको छ।
उद्योगको अवस्था
उत्पादनमूलक उद्योगको योगदान कुल गार्हस्थ्य उत्पादनमा ५.४५ प्रतिशतबाट खुम्चिएर ५ प्रतिशतमा झरेको छ।
प्रतिव्यक्ति आय
प्रतिव्यक्ति कुल राष्ट्रिय आय ८९९ अमेरिकी डलर (२०७२/७३) बाट बढेर १,५१७ अमेरिकी डलर (२०८१/८२) पुगेको छ।
पूर्वाधार, ऊर्जा र सञ्चार ठूलो तथ्यांकीय परिवर्तन देखिएको छ।
विद्युत जडित क्षमता
२०६८ सालसम्म ६९७ मेगावाट मात्र विद्युत जडित क्षमता रहेकोमा २०८२ फागुनसम्म यो करिब ६ गुणाले बढेर ४,१०५ मेगावाट पुगेको छ।
विद्युत पहुँच पुगेको जनसंख्या ९९ प्रतिशत पुगेको छ, जुन एक दशकअघि निकै कम थियो।
सडक सञ्जाल
संघअन्तर्गतको कालोपत्रे सडक ११,७९८ किलोमिटर (२०७२ साल) बाट बढेर २०,२०२ किलोमिटर (२०८२ फागुन) पुगेको छ।
डिजिटल पहुँच
इन्टरनेट घनत्व ५२.०३ प्रतिशत (२०७२/७३) बाट उल्लेख्य बढेर १४४.२३ प्रतिशत पुगेको छ।
सार्वजनिक वित्तको भार निकै बढेको देखिन्छ।
सार्वजनिक ऋण
२०७२ असारमा ५ खर्ब ४४ अर्ब (जिडिपीको २२.५ प्रतिशत) रहेको ऋण २०८२ फागुनसम्म २८ खर्ब ७८ अर्ब (जिडिपीको ४३.८) पुगेको छ।
राजस्व संकलन
वार्षिक राजस्व संकलन ४ खर्ब ५ अर्ब (२०७१/७२) बाट बढेर ११ खर्ब ७९ अर्ब (२०८१/८२) पुगेको छ।
विदेशी विनिमय सञ्चिति
२०७२/७३ मा १० खर्ब ३९ अर्ब रूपैयाँ रहेको सञ्चिति २०८२ फागुनसम्म ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ, जसले १८.५ महिनाको आयात धान्न सक्छ।
विप्रेषण (रेमिटेन्स)
वार्षिक विप्रेषण आप्रवाह ६ खर्ब ६५ अर्बबाट बढेर १७ खर्ब २३ अर्ब रूपैयाँ (२०८०/८१) पुगेको छ।
निर्यात/आयात
वस्तु निर्यात ७० अर्बबाट २७७ अर्बसम्म पुगेको छ भने आयात ७ खर्ब ७३ अर्बबाट १८ खर्ब ४ अर्बसम्म पुगेको छ।
सामाजिक क्षेत्र र मानव विकास क्षेत्रमा पनि ठूलो तथ्यांकीय परिवर्तन देखिएको छ।
साक्षरता
६ वर्ष माथिको साक्षरता दर ५८ प्रतिशत (२०७८ अघि) बाट बढेर ७६.३ प्रतिशत पुगेको छ।
स्वास्थ्य
मातृ मृत्युदर (प्रति लाख) १९० बाट घटेर १५१ मा झरेको छ। त्यस्तै शिशु मृत्युदर (प्रति हजार) ३२ बाट २८ मा झरेको छ।
गरिबी
गरिबीको रेखामुनि रहेको जनसंख्या २५.१६ प्रतिशत (२०६६/६७) बाट घटेर २०.२७ प्रतिशतमा झरेको छ।