चुनाव सकिएको झन्डै दुई महिनामा नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मतिले संसदीय दल नेता चयन गरेको छ।
सोमबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले आङ्देम्बेलाई संसदीय दल नेता चयन गरेको हो। त्यही बैठकमा सभापति गगन थापाले संसदीय दल नेता आङ्देम्बेलाई प्रमाणपत्र दिएका थिए।
समानुपातिक तर्फबाट प्रतिनिधिसभा सांसद रहेका उनी कांग्रेसका निवर्तमान सहमहामन्त्री हुन्।
उनले २०७८ मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा भएको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका थिए।
कांग्रेसमा ६१ वर्षीय आङ्देम्बेको इतिहास लामो छ।
उनी पाँचथरको राजनीतिक परिवारमा जन्मे-हुर्केका हुन्।
उनको परिवार सम्भ्रान्त भए पनि सुखसयल छाडेर बहुदलवादी राजनीति र त्यसका लागि नेपाली कांग्रेसको संगठनमा होमिएको पाँचथरका जिल्ला सभापति रूपनारायण जवेगु बताउँछन्।
उनका अनुसार आङ्देम्बे परिवारलाई पूर्वी नेपाल खासगरी पाँचथर क्षेत्रमा प्रभावशाली मानिन्छ। त्यस भेगका धेरै अग्रणी व्यक्तित्वहरू यो परिवारका सदस्य छन्।
भीष्मका माहिला बुबा प्रेमराज आङ्देम्बे नेपाली कांग्रेसका अग्रणी नेता र बिपी कोइरालाका निकट सहयोगी थिए।
२०१६ सालमा बिपी कोइरालाको नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकारमा प्रेमराज सुरूमा ग्रामीण विकास मन्त्री र पछि खाद्य तथा कृषि राज्यमन्त्री भएका थिए।
भीष्मका जेठा बुबा देउमान आङ्देम्बे २०१२ सालमा टंकप्रसाद आचार्य नेतृत्वको सरकारमा नेपालकै पहिलो लिम्बू मन्त्री भएका थिए।
त्यस्तै, भीष्मका बुबा घनेन्द्रराज आङ्देम्बे स्थानीय तहमा प्रभावशाली नेता थिए। उनी तत्कालीन नवमी डाँडा गाविसका अध्यक्ष तथा अम्लाबुङ गाउँ पञ्चायतका प्रधानपञ्च थिए। उनको ८४ वर्ष उमेरमा गत चैतमा निधन भयो।
घनेन्द्रका दुवै छोरा भीष्मराज र रामराज राजनीतिमा सक्रिय छन्। रामराज जिल्ला समन्वय समिति पाँचथरका प्रमुख छन्।
आङ्देम्बे परिवारको त्यही राजनीतिक विरासतलाई भीष्मराजले कांग्रेसमा निरन्तरता दिइरहेका छन्।
जिल्ला सभापति रूपनारायणका अनुसार उनको जिउडाल मात्र होइन, हुँकार पनि संसदमा प्रतिपक्षी दल नेता हुन लायक छ।
'हाम्रो सभापति गगन थापाज्यूलाई मैले भनेको थिएँ — पूर्वका नेतालाई संसदीय दल नेतामा समेट्न सके पार्टीलाई धेरै राम्रो हुन्छ। आखिरमा उहाँले सर्वसहमतिमा भीष्म दाइलाई नै संसदीय दल नेता बनाउनुभएछ। भीष्म दाइको जिउडाल र हुँकार हेर्दा प्रतिपक्षी दल नेता सुहाउँछ,' उनले सेतोपाटीसँग भने।
भीष्मराज नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। २०३६ सालमा जनमत संग्रह हुँदा उनी बहुदलका पक्षमा सक्रिय थिए। उनले २०४२ सालमा नेविसंघ सदस्यता लिएका थिए।
त्यसपछि २०४६ सालको जनआन्दोलन बेला उनी आन्दोलनमा सक्रिय भए। दुईपटक नेविसंघ केन्द्रीय सदस्य भएपछि उनले तरूण दलको राजनीति सुरू गरे। तरूण दलमा उनी केन्द्रीय उपाध्यक्षसम्म भएका थिए।
उनी २०५६, २०७०, २०७४ र २०७९ मा प्रत्यक्षतर्फ चुनाव लडे पनि २०७० को दोस्रो संविधानसभा निर्वाचन मात्र जितेका थिए। यसपालि भने उनी समानुपातिकतर्फ बसे।
कांग्रेस पाँचथरका सभापति जवेगु नेता आङ्देम्बेलाई पार्टीले सर्वसम्मत संसदीय दल नेता बनाएर सम्मान दिएको बताउँछन्।
'भीष्म दाइ बहुदलवादी र प्रखर युवा नेताका रूपमा चिनिनुहुन्थ्यो। २०४६ सालताका उहाँ पाँचथरका पहाडमा उकालीओराली गरेर नेविसंघ, तरूण दलको संगठन गर्नुहुन्थ्यो,' जवेगुले भने।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको थियो।चुनाव जितेका सांसदहरू सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका छन्।
समानुपातिक सूचीमा नाम बुझाउँदा देउवा सभापति थिए। प्रत्यक्ष चुनाव टिकट बाँड्ने बेला विशेष महाधिवेशनबाट थापा सभापति भएका थिए।
विशेष महाधिवेशनमा सभापति देउवा पक्ष सहभागी थिएन। तर देउवा सभापति हुँदा नै विशेष महाधिवेशन पक्षधरलाई समेट्नुपर्छ भनेर आङ्देम्बेले भन्दै आएका थिए, तर देउवाले सुनेका थिएनन्।
विशेष महाधिवेशनविरूद्ध तत्कालीन सभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च गए पनि रिट खारेज भएको थियो।
कांग्रेसभित्रको विवादबीच संसदीय दल नेता चयनमा समेत ढिलाइ भएको थियो। सुरूदेखि नै कांग्रेसले प्रतिस्पर्धाभन्दा पनि सहमतिबाट दल नेता चयन गर्न प्रयास गर्दै आएको थियो।
पछिल्लो समय केन्द्रीय कार्यसम्पादन समितिले उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा उपसभापति र दुई महामन्त्री रहेको एक समिति गठन गरेको थियो। उक्त समितिले नै सर्वसहमतिमा संसदीय दल नेता चयनको वातावरण तय गरेको थियो।
संसदीय दल नेतामा पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे, सांसद मोहन आचार्य, बासना थापा, योगेश गौचन थकाली, निश्कल राईलगायत आकांक्षी थिए। तीमध्ये केसी, आङ्देम्बे र आचार्यसँग समितिले एक्लाएक्लै छलफल गरेको थियो भने अरू सांसदहरूको पनि मत बुझेको थियो।
शर्मा नेतृत्वको समितिले संसदीय दल नेतामा भीष्मराज आङ्देम्बेको नाम दिएपछि सभापति गगन थापाले सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उक्त नाम प्रस्ताव गरेका थिए। पार्टीको बृहत्तर हित र एकताका लागि भन्दै आङ्देम्बेको नाम अघि सारिएको नेताहरूको भनाइ छ।
आङ्देम्बेलाई संसदीय दल नेताका रूपमा सभापति गगन थापाले प्रस्ताव अघि बढाउँदा तत्कालीन सभापति देउवा, नेता पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले पनि असहमति जनाएन। र, आङ्देम्बे सर्वसम्मत रूपमा संसदीय दल नेता बनेका छन्।