अर्थमन्त्री स्वर्णिम वाग्लेलले 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३' सार्वजनिक गरेका छन्।
यो स्थितिपत्रमा आर्थिक रूपान्तरणका ४ वटा प्रमुख संवाहक क्षेत्रहरू पहिचान गरिएको छ।
१. ऊर्जा क्षेत्रको विकास र विस्तार
विद्युत् उत्पादनलाई आर्थिक वृद्धिको प्रमुख आधार मानिएको छ। आगामी ५ वर्षभित्र कुल जडित क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य राखिएको छ।
यसका लागि राष्ट्रिय गौरवका आयोजनाहरू दुई वर्षभित्र सम्पन्न गर्ने र रणनीतिक महत्त्वका नयाँ आयोजनाहरू अघि बढाउने योजना छ। जसले निजी क्षेत्रको लगानीलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।
२. कृषिको आधुनिकीकरण र आबद्धता
परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी यसको आधुनिकीकरण र व्यवसायीकरण गर्ने योजना अघि सारिएको छ।
कृषिलाई केवल उत्पादनमा मात्र सीमित नराखी उद्योग र पर्यटन क्षेत्रसँग दरिलो अन्तरआबद्धता गराउने र त्यसका माध्यमबाट उत्पादनमूलक रोजगारी सिर्जना गर्ने लक्ष्य स्थितिपत्रले लिएको छ।
३. गुणस्तरीय पर्यटन र पूर्वाधार
पर्यटनलाई आय र रोजगारीको दिगो स्रोत बनाउन गुणस्तरीय पूर्वाधारको विकासमा जोड दिइएको छ।
पर्यटकीय सेवा र आवागमनमा सहजता ल्याई नेपाललाई अन्तर्राष्ट्रिय बजारमा आकर्षक गन्तव्यको रूपमा विकास गर्ने र यसबाट विदेशी मुद्रा आर्जन तथा रोजगारी वृद्धि गर्ने रणनीति तय गरिएको छ।
४. डिजिटल अर्थतन्त्र र सूचना प्रविधि
आधुनिक विश्वको माग अनुसार कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्सको उपयोगसहितको सूचना प्रविधिको विस्तारलाई प्राथमिकता दिइएको छ।
डिजिटल अर्थतन्त्रको निर्माणमार्फत उत्पादन, उत्पादकत्व र रोजगारी बढाउने तथा आईटी सेवाको निर्यात गरी अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउने संकल्प गरिएको छ।