यो वर्ष सरकारले रासायनिक मल आयात प्रक्रिया छिटो गरेकाले समग्र आर्थिक वृद्धि, मूल्य नियन्त्रण तथा कृषि उत्पादनमा सहयोग पुगेको देखिएको छ।
फागुन मध्यपछि भएको इरान युद्ध र मध्यपूर्वको तनावको कारण अहिले विश्वभर रासायनिक मलको अत्यधिक मूल्य वृद्धिको साथै धेरै देशहरूमा अधिक अभाव देखिएको छ।
नेपालमा भने अहिले मलको संकट नभएको र अन्यको तुलनामा कम मूल्यवृद्धि रहेको सरकारी कम्पनीहरूले बताएका छन्।
एसियाली विकास बैंकको एसिया आउटलुक र विश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्ने क्रममा पनि उनीहरूले यो वर्ष छिटो मल आयात भएकाले सहयोग पुगेको बताएका थिए।
यद्यपि खाडी तनाव र इन्धको मूल्य वृद्धिको प्रभाव नेपाली अर्थतन्त्रमा देखिएकाले आर्थिक वृद्धिदरमा संकुचन आउने प्रक्षेपण गरेका छन्।
एसियाली विकास बैंकले २.७ र विश्व बैंकले २.३ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरेका छन्।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा डिएपी मलको परिमाणात्मक आयात दोब्बर बढी, १२० प्रतिशतले बढेको छ।
चैतसम्म ९ करोड ३१ लाख किलो डिएपी आयात भएकामा अहिले २० करोड ५८ लाख किलो आयात भएको छ।
गत वर्ष ९ करोड ३१ लाख किलो आयात गर्न ९ अर्ब ९ करोड रूपैयाँ लागेको थियो। यो पटक २० करोड ५८ लाख किलो आयात गर्न २४ अर्ब ८ करोड रूपैयाँ खर्च भएको छ।
योमध्ये १८ करोड किलो अत्यधिक रूपमा मूल्य बढ्नु र मल अभाव देखिनु अगावै लिइएको हो। बाँकी २ करोड किलो पनि त्यसअघि नै प्रक्रिया थालिएको हो।
त्यस्तै, ठूलो संकट र मूल्य वृद्धि हुनु अगावै नेपालले युरिया मल आयात पनि गत वर्षको तुलनामा ८१ प्रतिशत बढी गरेको छ।
गत वर्ष १६ करोड ६० लाख किलो युरिया आयात भएको थियो। यो वर्ष ३० करोड १२ लाख किलो आयात भएको छ।
फागुनसम्म विश्व बजारमा रासायनिक मलको मूल्य बढ्ने क्रम देखिए पनि अवस्था नियन्त्रणमै थियो। त्यस समयमा युरिया करिब ५०० देखि ६०० अमेरिकी डलर प्रति टनको हाराहारीमा कारोबार भइरहेको थियो। डिएपी करिब ६०० देखि ७०० डलर आसपासमा थियो।
बजारमा माग–आपूर्तिको सन्तुलन पूर्ण रूपमा बिग्रिएको थिएन। मूल्य वृद्धि क्रमिक तथा पूर्वानुमानयोग्य मानिन्थ्यो।
फागुन अन्त्यतिर मध्यपूर्वमा तनाव बढ्दै गएपछि स्थिति अचानक फेरियो।
विशेषगरी हर्मुज जलडमरू आसपासको अवरोधले विश्व मल आपूर्तिमा ठूलो असर पारेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले उल्लेख गरेका छन्।
अहिले युरियाको मूल्य बढेर ७०० डलर नाघेको छ। सञ्चार संस्था रोयटर्सले ९ सयदेखि हजार डलरसम्म पुगेको उल्लेख गरेको छ।
यसको अर्थ फागुनको तुलनामा युरियाको मूल्य करिब ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म बढेको देखिन्छ।
त्यस्तै, डिएपीको मूल्य पनि ७२० देखि ८६० डलर प्रति टनसम्म पुगेको छ। जसले छोटो अवधिमै करिब १० देखि २५ प्रतिशत वृद्धि भएको संकेत गर्छ।
विभिन्न देशहरूमा मलको अभाव भएको छ। नेपालमा भने अहिले अभाव नभएको कृषि सामग्री कम्पनी लिमिटेडका कायम मुकायम प्रबन्धक पुण्यप्रसाद उपाध्यायले बताए।
चालु आर्थिक वर्षका लागि आवश्यक मल आयात भइसकेको उनले जानकारी दिए।
'हामीले हरेक महिना टेन्डर खुलाइरहेका हुन्छौं। तर यो वर्षको लागि आवश्यक मल आयात गरिसकेका छौं। अहिले मलको समस्या पनि छैन,' उनले भने, 'अहिले अत्यधिक मूल्य बढेको छ। तर धेरै मल मूल्य बढ्नु अगावै आयात गरियो।'
आगामी वर्ष भने यसको प्रभाव देखिने उनी बताउँछन्।
एसियाली विकास बैंकले प्रकाशन गरेको एसियन आउटलुकमा पनि आगामी वर्ष मलको उच्च मूल्य र आपूर्तिमा अवरोध नेपालको कृषिका लागि एउटा प्रमुख जोखिम हुन सक्ने उल्लेख छ।
विशेषगरी मध्यपूर्वको द्वन्द्वका कारण मल र इन्धनको मूल्य बढ्न सक्ने अनुमान छ।