बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमाथिको आफ्नो नियन्त्रण बलियो नबनाएसम्म बाह्य सफ्टवेयर प्रदायकमाथिको निर्भरता अन्त्य हुन नसक्ने भन्दै एपिआई बैंकिङका निर्देशक तथा रणनीतिक सल्लाहकार अनुप पुरोहितले 'आईटी माफिया'बाट मुक्त हुनुपर्ने बताएका छन्।
सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभ २०२६ मा बोल्दै उनले सामान्य परिवर्तन वा सुधारका लागि समेत बाह्य सफ्टवेयर कम्पनीहरूमा निर्भर रहँदा बैंकहरूले अनावश्यक खर्च र ढिलासुस्ती बेहोर्नुपरेको बताए।
उनले बैंकहरूले आफ्नै प्रणालीबीच अन्तरसम्बन्ध कायम गर्ने संरचना विकास गर्नुपर्ने र प्रयोग भइरहेका सफ्टवेयरको मूल स्रोतमा समेत पर्याप्त नियन्त्रण राख्नुपर्ने धारणा राखे।
त्यसो गर्न सके प्रविधि विकासको गति बढ्नुका साथै नयाँ सेवा विस्तार गर्न सहज हुने उनले बताए।
पुरोहितका अनुसार बैंक र वित्तीय प्रविधि कम्पनीहरू प्रतिस्पर्धीभन्दा पनि सहयात्री हुन्।
बैंकहरूले वित्तीय स्रोत, नियामकीय दायित्व र उत्पादन व्यवस्थापनको जिम्मेवारी लिने हुँदा वित्तीय प्रविधि कम्पनीहरूले ग्राहकमैत्री सेवा विकास र अनुभव सुधारमा योगदान गर्न सक्छन्।
उनले व्यवसायिक सहकार्य विस्तार भए पनि धेरै बैंकको प्रविधि संरचना अझै पुरानो रहेको बताए।
विभिन्न प्रणालीहरू एकअर्कासँग जोडिन नसक्दा नयाँ सेवा विकास र विस्तारमा कठिनाइ भइरहेको उनको भनाइ थियो।
भविष्यको बैंकिङ कृत्रिम बौद्धिकतामा आधारित हुने उल्लेख गर्दै उनले कर्जा मूल्यांकन, जोखिम विश्लेषण तथा ग्राहक सेवा जस्ता क्षेत्रमा यसको प्रयोग तीव्र रूपमा बढ्ने बताए।
कृत्रिम बौद्धिकताको प्रयोगले निर्णय प्रक्रियालाई थप छिटो र प्रभावकारी बनाउन सक्ने उनको धारणा थियो।
बैंकहरूले अत्यधिक जटिल र भारी प्रविधि संरचनाभन्दा सरल, लचिलो र भविष्यका आवश्यकताअनुसार रूपान्तरण हुन सक्ने प्रणाली निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
नेपालसँग पुराना प्रविधिको लामो यात्रा दोहोर्याउनुपर्ने बाध्यता नभएको उल्लेख गर्दै उनले सिधै आधुनिक प्रविधितर्फ फड्को मार्ने अवसर रहेको बताए।
पुरोहितले भविष्यमा बैंकिङ सेवा परम्परागत शाखामा मात्र सीमित नरहने पनि बताए।
वित्तीय प्रविधि कम्पनी तथा अन्य व्यावसायिक संस्थाहरू बैंकका सेवा तथा उत्पादन ग्राहकसम्म पुर्याउने महत्वपूर्ण माध्यम बन्ने उनको भनाइ थियो।
डिजिटल बैंकिङ विस्तारसँगै ठूलो सङ्ख्यामा हुने कारोबार व्यवस्थापन गर्न सक्ने पूर्वाधार आवश्यक रहेको उल्लेख गर्दै उनले उच्च क्षमतायुक्त भुक्तानी व्यवस्थापन प्रणाली विकासमा जोड दिए।
उनले यी सबै परिवर्तन सफल बनाउन बैंक सञ्चालक समिति र उच्च व्यवस्थापनको स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताए।
प्रविधिलाई खर्चको विषयका रूपमा मात्र नभई व्यवसाय विस्तार र प्रतिस्पर्धात्मक क्षमताको मुख्य आधारका रूपमा हेर्नुपर्ने उनको धारणा थियो।
साथै बैंक पहिचान प्रणाली र अन्तरसम्बन्धित बैंकिङ संरचनालाई राष्ट्रिय डिजिटल पूर्वाधारसँग एकीकृत गर्न सके बैंक, वित्तीय प्रविधि क्षेत्र र समग्र अर्थतन्त्रले लाभ लिन सक्ने उनले बताए।