पछिल्लो आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार १५.८ प्रतिशतले बढेको छ। यो विगतका वर्षको जस्तै औसत वृद्धिदर हो।
तर भन्सार तथ्यांक अनुसार परिमाणतः व्यापार धेरै बढ्न सकेको छैन।
अत्यधिक आयात हुने वस्तुको धेरै मूल्य वृद्धिको कारण समग्र अन्तर्राष्ट्रिय व्यापार वृद्धिमा योगदान पुर्याएको देखिन्छ।
मूल्य वृद्धिको प्रभाव र मागमा आएको सुधारको कारण पनि कतिपय वस्तुको आयात निर्यात उल्लेखनीय बढेको छ। केहीको भने घटेको छ।
आर्थिक वर्ष २०८१/८२ को तुलनामा समग्र आयात १६.२० प्रतिशतले बढेर करिब २१ खर्ब पुगेको छ।
भन्सार तथ्यांक अनुसार समीक्षा वर्षमा आयातसँगै निर्यातमा पनि १३.८१ प्रतिशतको सुधार आएको छ।
आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ७७ अर्ब बराबरको वस्तु निर्यात भएकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर ३ खर्ब १५ अर्ब पुगेको छ।
तर, आयातको आकार निकै ठूलो भएकाले देशको कुल व्यापार घाटा १६.६३ प्रतिशतले फराकिलो भई १७ खर्ब ८१ अर्ब पुगेको छ।
भन्सार तथ्यांक अनुसार समग्र वैदेशिक व्यापारको आकार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब पुगेको छ। कुल व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा घटेर १३.०७ प्रतिशतमा सीमित भएको छ।
यसले गर्दा अघिल्लो वर्ष १ रुपैयाँको निर्यात गर्दा ६.५१ रुपैयाँको आयात हुने गरेकोमा अहिले १ रुपैयाँ बराबरको निर्यात गर्दा ६.६५ रुपैयाँको आयात हुने गरेको छ।
वस्तुगत आयातको प्रवृत्ति हेर्दा १० अर्ब रुपैयाँभन्दा बढी मूल्यमा आयात हुने मुख्य वस्तुहरूमा इन्धन, मेसिनरी, र सवारी साधनको वर्चस्व छ। ३७ वस्तु समूहको १० अर्ब भन्दा बढीको आयात भएको छ।
भन्सार तथ्यांक अनुसार डिजेल तथा पेट्रोल जस्ता खनिज इन्धनको आयात १८.३५ प्रतिशतले बढेर ३ खर्ब ८६ अर्ब पुगेको छ।
अर्धप्रशोधित वनस्पति तेलको आयात १५.०४ प्रतिशतले बढेर १ खर्ब ७९ अर्ब पुगेको छ।
मेसिनरी तथा यान्त्रिक उपकरणको आयात २५.८३ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब पुगेको छ।
फलाम तथा स्टिलको आयात ३.७० प्रतिशतको सामान्य वृद्धिसहित १ खर्ब ४१ अर्ब पुगेको छ। परिणामत यस्तो वस्तुको आयात भने घटेको छ।
विद्युतीय सामग्रीको आयात २०.८६ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब पुगेको छ।
भन्सार तथ्यांक अनुसार सवारी साधन तथा यसका पार्ट्सको आयात १३.८४ प्रतिशतले बढेर १ खर्ब २४ अर्ब पुगेको छ।
प्लास्टिकका वस्तुको आयात १०.०२ प्रतिशतले बढेर ७४ अर्ब ५ करोड पुगेको छ।
आयात वा निर्यात मूल्यको आधारमा आर्थिक वर्ष २०८२/८३ मा सुनचाँदी तथा बहुमूल्य गरगहनाको आयात करिब दोब्बरले बढेको छ।
बहुमूल्य धातु तथा गहनाको आयात ९८.५५ प्रतिशतको उच्च वृद्धि भई ६४ अर्ब ६७ करोड पुगेको छ। सुन र चाँदी दुबैको मूल्य वृद्धिको प्रभाव र भन्सार राजस्व घटाएर भारतीय बजारसँग प्रतिस्पर्धी बनाइएको कारण बहुमूल्य धातुको व्यापार बढेको देखिन्छ।
अन्न तथा खाद्यान्नको आयात भने १.८४ प्रतिशतले घटेर ५९ अर्ब ६६ करोडमा झरेको छ।
यस्तै, रसायनिक मलको आयात ६०.२८ प्रतिशतले बढेर ५० अर्ब १ करोड पुगेको छ। रासायनिक मलमा पनि परिमाणतः यो तहको वृद्धि छैन तर अत्यधिक मूल्य बढ्दा समग्र आयात उल्लेखनीय देखिएको हो।
औषधिको आयात २.३७ प्रतिशतले बढेर ४३ अर्ब ४७ करोड पुगेको छ।
तरकारी तथा कन्दमूलको आयात १.६४ प्रतिशतले बढेर ३८ अर्ब ३५ करोड पुगेको छ।
फलफूल तथा बदामको आयात ३४.२३ प्रतिशतले बढेर ३४ अर्ब ७३ करोड पुगेको छ। तामाका सामानको आयात ३४.०१ प्रतिशतले बढेर १३ अर्ब ३३ करोड पुगेको छ।
निर्यातमा विगतका वर्षमा जस्तै यो वर्ष पनि अर्धप्रशोधित वनस्पति तेलको हिस्सा सर्वाधिक छ। यस्तो वस्तुको निर्यात आयातमा नै केन्द्रित देखिन्छ।
भन्सार तथ्यांक अनुसार प्रशोधित वनस्पति तेल तथा बोसोको निर्यात २१.४८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब पुगेको छ, जसले कुल निर्यातको करिब आधा हिस्सा ओगटेको छ। स्वादेशी मौलिक उत्पादन चिया, कफी र अलैँची/मसलाको निर्यात ३९.८४ प्रतिशतले बढेर १८ अर्ब ७५ करोड पुगेको छ।
धागो तथा फाइबरको निर्यात ८.३२ प्रतिशतले बढेर १५ अर्ब ५१ करोड पुगेको छ। तर, परम्परागत गलैँचा तथा कार्पेटको निर्यात ३.७६ प्रतिशतले घटेर ११ अर्ब ७९ करोडमा सीमित भएको छ।
भन्सार तथ्यांक अनुसार दाना उद्योगका अवशेषको निर्यात २१.७० प्रतिशतले बढेर १० अर्ब २६ करोड पुगेको छ।
तयारी पोसाकको निर्यात १२ प्रतिशतले बढेर ८ अर्ब ७३ करोड पुगेको छ। चाउचाउ, बिस्कुट तथा मैदाका परिकारको निर्यात ६४.४५ प्रतिशतले बढेर ४ अर्ब ७८ करोड पुगेको छ। एल्युमिनियमका सामानको निर्यातमा ठुलो छलाङ छ। १३ गुणाले बढेर ३ अर्ब ६९ करोड पुगेको छ।
जुत्ताचप्पलको निर्यात ५६.१९ प्रतिशतले बढेर ३ अर्ब १९ करोड पुगेको छ। तर, फलाम तथा स्टिलको निर्यात भने ७७.७७ प्रतिशतको भारी गिरावटसहित ३ अर्ब १८ करोडमा झरेको छ।
सिमेन्ट तथा खनिज पनि २.३४ प्रतिशतले घटेर २ अर्ब ९३ करोडमा सीमित भएको छ।
बजारमा इन्धन, मेसिनरी, गाडी र सुनको उच्च आयातले उपभोग र निर्माण गतिविधि बढेको संकेत गर्छ। तर इन्धन र मेसिनरीको वृद्धि मूल्य अत्याधिक बढ्नुको प्रभाव देखिन्छ।
फलाम तथा स्टिलजस्ता उत्पादनको निर्यातमा आएको भारी गिरावट र आयातको तुलनामा सुस्त निर्यात वृद्धिका कारण देशको व्यापार असन्तुलन भने अझ चुलिँदै गएको छ।