अहिले सुनचाँदी दुवैको मूल्य ऐतिहासिक उचाइमा छ। विगत दुई वर्षमा सुन र चाँदी दुवैको मूल्य शत प्रतिशतभन्दा धेरैले बढेको छ।
२०८० असोज १ मा सुन तोलाको एक लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको थियो। यो बिहीबार दुई लाख ३९ हजार २ सय रूपैयाँ पुगेको छ।
यो भनेको ११२ प्रतिशतको वृद्धि हो।
त्यस्तै २०८० असोज १ गते चाँदीको भाउ तोलाको एक हजार ४ सय ५ रूपैयाँ थियो। बिहीबार तीन हजार २५ रूपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि ११५ प्रतिशतभन्दा धेरैले बढेको हो।
यीभन्दा अघिल्ला वर्षहरूमा सुनको तुलनामा चाँदीको भाउको वृद्धिदर उच्च देखिँदै गएको थियो। पछिल्लो समय भने सुन र चाँदी दुवैको मूल्यमा उस्तै उस्तै दरमा वृद्धि देखिँदै आएको छ।
नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यबाटै निर्धारण हुन्छ। नेपाली बजारको मागले मूल्यमा खासै परिवर्तन हुँदैन।
अन्तर्राष्ट्रिय बजारमा हेर्ने हो भने, विगत पाँच वर्षमा सुनको भाउ ११३ प्रतिशतले बढेको छ।
सन् २०२१ को सुरूमा सुन प्रति औंस एक हजार ८ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको थियो। अहिले चार हजार ३९ डलर हाराहारीमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी प्रतिऔंस २३.९६ डलरमा कारोबार भइरहेकामा अहिले ४९ डलरमा कारोबार भइरहेको छ।
सुन र चाँदीको मूल्य अनुपातले पनि केही समय अघिसम्म सुनको मूल्यको तुलनामा चाँदीको मूल्य बढ्न थालेको देखाएको थियो।
प्रतिऔंस सुन किन्न कति औंस चाँदी चाहिन्छ भन्ने यस्तो अनुपातले देखाउँछ। अहिले यस्तो अनुपात ८३ छ। अर्थात् एक औंस सुन किन्न करिब ८३ औंस चाँदी चाहिन्छ। यसअघि सन् २०२१ मा यस्तो अनुपात ६७ सम्म झरेको थियो।
यो अनुपात जति धेरै भयो सुन किन्न त्यति धेरै चाँदी चाहिन्छ र जति कम भयो, त्यति नै कम चाँदी चाहिन्छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा विभिन्न कारणले काम गरिरहेका छन्। अमेरिकी केन्द्रीय बैंक फेडले गत सेप्टेम्बरमा मात्रै ब्याजदर प्रक्षेपण घटाएको छ। यसअघि ४.२५ देखि ४.५० प्रतिशत ब्याजदर भित्र यस्तो नीतिगत दर सीमित गर्ने लक्ष्य राख्दै आएकोमा अहिले घटाइएको हो। अहिले यस्तो दर ४ प्रतिशतदेखि ४.२५ प्रतिशतमा रहने बताइएको छ।
त्यस्तै, चाँदीको आपूर्तिमा आइरहेको कमी र औद्योगिक उत्पादनमा बढ्दो प्रयोगले मूल्य बढिरहेको टाइम्स अफ इन्डियाले लेखेको छ। चाँदीको कुल मागमध्ये ६० प्रतिशत माग औद्योगिक क्षेत्रबाट आउने गरेको छ।
सन् २०३० सम्म चाँदीको मूल्य प्रतिऔंस ८२ डलर र सुनको मूल्य प्रतिऔंस ५ हजार १ सय ५५ डलरसम्म पुग्ने अनुमान इन्भेस्टिङ हेभन लगायत बजार विश्लेषकहरूले बताएका छन्। यस्तो हुँदा सुनको भाउमा २७ प्रतिशत वृद्धि हुनेछ भने चाँदीमा ६८ प्रतिशत।
यसलाई आधार मान्ने हो भने, आज किनेको सुन वा चाँदीमध्ये पाँच वर्षपछि चाँदीमा बढी फाइदा हुन्छ। तर सुनचाँदीको भाउ तलमाथि पार्ने कारकहरू धेरै नै भएकाले पूर्वानुमानका आधारमा यकिन भन्ने सकिँदैन।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य यसरी उकालो लाग्दा नेपालमा के होला त?
सुनको तौल प्रतिऔंस बराबर ३१.१ ग्राम हुन्छ। सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔंस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ।
नेपालमा सामान्यतया सुनको भाउ तोलामा हिसाब गरिन्छ। एक तोला सुन ११.६६४ ग्राम हुन्छ। त्यस्तै अहिले डलरको विनिमयदर एक सय ४२ रूपैयाँ छ।
यो हिसाबले सन् २०३० सम्म सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा एक औंसको ५ हजार १ सय ५५ डलर पुग्यो भने, नेपाली पैसा करिब सात लाख ३२ हजार रूपैयाँ हुन्छ।
एक तोला सुन (११.६६४ ग्राम) को मूल्य दुई लाख ७४ हजार रूपैयाँ हाराहारी हुनेछ।
सुनचाँदी व्यवसायी तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार यसमा १० प्रतिशत भन्सार शुल्क, दुई प्रतिशत विलासिता कर र वाणिज्य बैंकले सुन व्यवसायीलाई लिने एक प्रतिशत शुल्क सहित १३ प्रतिशत अतिरिक्त शुल्क ग्राहकले तिर्नुपर्छ।
यस आधारमा प्रतितोला सुनको मूल्य तीन लाख दस हजार रूपैयाँ हाराहारी तिर्नुपर्ने हुन्छ।
त्यस्तै, चाँदीमा पनि प्रक्षेपण अनुसार मूल्य बढे तोलाको करिब चार हजार एक सय रूपैयाँ तिनुपर्ने हुन्छ।
चाँदीमा पनि १० प्रतिशत भन्सार शुल्क छ। त्यसबाहेक व्यापारीले चाँदी ल्याउदा प्रतिऔंसको मूलयमा थप १.२५ डलर तिर्नुपर्ने शाक्य बताउँछन्। व्यापारीले प्रतितोला ३५ रूपैयाँ नाफा मार्जिन पनि राखेका हुन्छन्।
यसरी हेर्दा नेपालमा पनि सुनको मूल्य सन् २०३० सम्ममा २९ प्रतिशतले बढेको हुनेछ। चाँदीको मूल्य भने ६२ प्रतिशतले बढ्नेछ।
तर सुनचाँदीको हाम्रो स्थानीय बजार र प्रयोगको प्रकृति बाहिरभन्दा फरक छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी लगानीका रूपमा किन्ने चलन छ। त्यसैले कच्चा सुनचाँदीको ढिक्का/बार/बिस्किट किनबेच हुन्छ।
हामीकहाँ भने सुनचाँदी लगानीका लागि भनेर किन्ने चलन छैन। गरगहना बनाउन प्रयोग गरिन्छ। कच्चा सुन वा सुनका बिस्किट किनबेच गर्न पनि नेपाल राष्ट्र बैंकले रोक लगाएको छ। त्यसैले लगानी नै गर्न चाहे पनि गरगहनाकै रूपमा किनिन्छ।
त्यस्तै राष्ट्र बैंकले सुन आयातमा कोटा तोकेको छ। जसले जति मनलाग्यो त्यति ल्याउन पनि पाइँदैन।
सुनचाँदी व्यवसायी शाक्यका अनुसार गहना किन्दा जर्ती, ज्यालासँगै थप शुल्क जोडिन्छ। त्यसैले सुनचाँदी परिमाण मूल्यमा थप पैसा तिर्नुपर्छ।
तुलनात्मक रूपमा गहनाको साटो सुनचाँदीका सिक्का किन्दा भने धेरै शुल्क कटौती हुँदैन।
'अहिले हामीले सुनचाँदीका गहनामा प्रतिग्राम तीन प्रतिशत शुल्क लिन्छौं,' शाक्यले भने, 'सिक्कामा भने ग्राममा करिब १.५ प्रतिशत शुल्क लाग्छ।'
ग्राहकले सुनचाँदीका गहना बेच्दा भने सबै शुल्क कटाएर परिमाण मूल्य मात्र पाउँछन्।
प्रतिग्राम तीन प्रतिशत शुल्क, जर्ती र ज्यालाको रकम काटिन्छ। सिक्काको हकमा पनि किन्दा जोडिएको १.५ प्रतिशत शुल्क काटेर बाँकी हुने रकम दिइन्छ।
सामान्यतया गहना पसलहरूले सुनका ढिक्का वा सिक्का बिक्री गर्दैनन्। तर पहुँच र पसलसँगको सम्बन्धका आधारमा केहीले यस्तो सुन किन्ने शाक्य बताउँछन्।
राष्ट्र बैंकले भने तिहारमा धनतेरसका दिन सुन र चाँदीका सिक्का बेच्छ जुन सर्वसाधारणले किन्न पाउँछन्।