दाङको बाँकी गाउँका ७८ वर्षीय ज्ञानबहादुर पुन आइतबार लौरोको सहारामा बबईमाथि बनेको ११९ मिटर लामो झोलुंगे पुलको उद्घाटन हेर्न आएका थिए।
बाँकी गाउँबाट उत्तरपट्टीको किनारमा पर्ने भोजपुरतर्फको वल्लो भागको पिलरमा उभिएर ताली पिटिरहेका थिए।
'कस्तो ठाउँ, आज कस्तो भयो,' पुनले भने, 'राज्यले चाहे सबै सम्भव हुँदो रहेछ। अब त हाम्रा दुःखका दिन गए।'
बाँकी र भोजपुर जोड्ने झोलुंगे पुल बनेपछि पुन मात्र होइन, बाँकीका अन्य स्थानीयबासी पनि खुसी छन्। पुल निर्माणको खुसियालीमा बाँकीबासीले आइतबार उल्लास मनाए। आपसमा मिठाइ बाँडेर खाए, गाउँमा खसी काटेर भोज खाए, नाचगान गर्दै खुसियाली मनाए।
'पहिलेसम्म हामीलाई भोजपुरतिर बस्नेहरूले तिमीहरूलाई कसले दिन्छ बिजुलीबत्तीको उज्यालो भन्थे,' पुनले भने, 'आज त पुल पनि बन्यो, बिजुलीको उज्यालो पनि छ, डिप बोरिङ गरेपछि घर–घरमै पानीको धारा पुगेको छ।'
बबईपारि चुरे पर्वत शृंखला छ, त्यसको काखमै छ बाँकी गाउँ। यहाँ जम्मा १२ घरपरिवारको बसोबास छ। जनसंख्या एक सय हाराहारी छ। अधिकांश मगर समुदायको बसोबास छ।
पुनको परिवार २०३५ सालमा घोराहीको स्यूजाबाट सस्तो जग्गा खोज्दै बाँकी पुगेको थियो। त्यो बेला पुनलाई परिवार कसरी पाल्ने भन्ने चिन्ता थियो।
'मेरो आर्थिक अवस्था निकै कमजोर थियो,' पुनले भने, 'सस्तो जमिन खोज्ने क्रममा म यहाँ आइपुगेको हुँ।'
उनले १५ हजारमा डेढ बिघा जग्गा किनेर बाँकी गाउँमा बस्न थालेको बताए।
त्यो जग्गाको उब्जनीले खान पुग्थ्यो। तर बबई नदीमा पुल थिएन। वर्षा लागेपछि ज्यानको बाजी लगाएर बबई तर्नुपर्ने बाध्यता थियो। नत्र खेतीपाती र कामको माया मार्नुपर्थ्यो। कोही बिरामी परे बबई तर्न सक्ने भए मात्रै भाटामा चार जनाले बोकेर लैजान्थे। नत्र रोएर–तड्पिँदै बिरामी बस्नुपर्ने विकल्प थिएन।

चार वर्षअघि, साउनको महिनामा स्थानीय शिला केसीलाई विषालु सर्पले डसेको थियो। बबई उर्लिएको थियो, तर्न सकिने अवस्था थिएन। ३४ वर्षीया बेलमती घर्तीका अनुसार शिलालाई उपचारका लागि अस्पताल लैजाने अवस्था थिएन। उपचार नपाएरै छट्पटाउँदै प्राण त्यागेकी थिइन्।
वर्षामा सुत्केरी हुने महिलाले त्यही हालत बेहोर्नुपर्थ्यो। जम्मा १२ घरपरिवार रहेको बाँकी गाउँमा स्कुल पनि छैन। पढ्न बबई तरेर भोजपुर माविमा जानुपर्छ। तर, वर्षाभरि विद्यार्थी बबई तर्न सक्दैनन्। बेलमतीका अनुसार साना बालबालिका असारदेखि असोजसम्म पढ्न जान पाउँदैनथे। ठूला विद्यार्थी पनि तर्न सक्ने अवस्था भए मात्रै जान सक्थे। जसले गर्दा पढाइ बिग्रिन्थ्यो र बालबालकाले पढाइ बीचमै छोड्न बाध्य हुन्थे।
वर्षामा पानीको भर हुन्न थियो। बिहान हिँडेर गएका बालबालिका बेलुकी फर्किँदा बबईमा ठूलो बाढी आइसकेको हुन्थ्यो। त्यस्तो बेला बेलमती लगायत आमाहरू बाँकीतर्फको डिलमा बसेर कराउँथे।
'छोराछोरीले बबईपारिबाट आमा भनेर कराउँथे। हामीले यताबाट बाढीमा नपस, बरू उतै साथीकोमा गई बस भन्नुपर्थ्यो,' बेलमतीले भनिन्, 'आज आएर झोलुंगे बन्यो, अब त हाम्रा बालबालिका वर्षामा पनि ढुक्कले विद्यालय जान पाउने भए।'
६२ वर्षीया कमारी घर्तीले वर्षाको समयमा कुनै आपत् आइपरे वनै वन, एक घन्टा पैदल हिँडेर अकमी मटेराको पुल जानुपर्ने बाध्यता अबदेखि हटेको बताइन्।
कुनै आपतविपद पर्दा बाँकीबासीले वर्षामा बबई तर्न नसकेर रूँदै गुहार गर्नुपर्ने अवस्था पुल बनेपछि अन्त्य भएको उनले बताइन्। पुल बनेसँगै बाँकीबासीका दुःखका दिन सकिएको बताइन्।
'यति विकास आफ्नै पालामा देख्न पाइएला भन्ने लागेको थिएन,' उनले भनिन्, 'अब त ढुक्कले यहाँको उत्पादन पनि तुलसीपुर बजारमा बेच्न जान पाइने भयो।'
भोजपुरको छिमेकी गाउँ तुलसीपुर–१५, गबदवाका ६० वर्षीय जुठीलाल चौधरीले झोलुंगे पुल निर्माणले बाँकी गाउँबासीका लागि मात्रै नभई बबई वारिपारिका सबै गाउँबासीलाई लाभ पुगेको बताए।


'अब बबई उत्तरतर्फका गाउँका सर्वसाधारण हिउँद र वर्षा जहिले पनि घाँस, दाउरा गर्न वन–जंगल ढुक्कले जान सक्ने भए,' उनले भने, 'विकास भनेको यस्तै खालको जनताको सजिलोका लागि हुनुपर्छ।'
सबै विकास ठूला सहर बजारमा मात्रै थुपार्नेभन्दा राज्यले कम्तीमा मानिसको जीवनयापन सहज बनाउने नीति लिनुपर्ने बताए।
उनले यसअघि पुल नहुँदा रनियापुरमा पढाउने एक शिक्षकले वर्षा लागेपछि कहिल्यै घर फर्किन नसकेको गुनासो गरेका थिए। तर अब ती शिक्षक पनि सहजै घर आउन सक्ने बताए।
एक सय उन्नाइस मिटर लामो झोलुंगे पुलको लागत अनुमान एक करोड ११ लाख ५६ हजार रूपैयाँ भए पनि एक करोड दुई लाख ५९ हजार रूपैयाँमा निर्माण पूरा भएको इञ्जिनियर नारायण डाँगीले बताए। यो पुल ८३ प्रतिशत संघीय सरकार, १३ प्रतिशत स्थानीय पालिका र २ प्रतिशत उपभोक्ताको लागतमा निर्माण भएको हो।
पुल निर्माणको काम २०७९ जेठ १७ गते सुरू भएको थियो। २०८० साल अन्त्यसम्म सम्पन्न हुनुपर्ने काम डेढ वर्ष ढिला भई २०८१ चैत २४ मा मात्रै पूरा भएको हो। सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सन्तोष केसीका अनुसार तुलसीपुर उपमहानगरपालिकाले समयमा बजेट उपलब्ध गराउन नसकेपछि पुल निर्माण ढिलो भएको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका–१४ को भोजपुर र बाँकी गाउँ जोड्ने झोलुंगे पुल आइतबार उद्घाटन गरिएको हो। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यसको उद्घाटन गरेका हुन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका चौधरीले विगतमा आफू सामाजिक क्षेत्रमा सक्रिय रहँदा वर्षामा ग्वार खोला र बबई नदीमा आउने बाढीका कारण हालको तुलसीपुर–१४, १५, १६, १७ वडामा पुग्न निकै सास्ती हुने अवस्था देखेपछि ती ठाउँहरूमा धमाधम पुल निर्माणमा पहल गरेको बताएका थिए।


वर्षाको समयमा आउजाउ नै बन्द हुने र खोला–नदीले घेर्दा टापूजस्ता बन्ने ती क्षेत्रको विकास पुलबिना सम्भव छैन भन्ठानेर ग्वार खोला लगायत बबईका विभिन्न ठाउँमा पुल निर्माण गरेपछि अहिले आवागमन सहज भएको पनि उनले बताए।
गाउँबाट बिहानै तरकारी तथा दूध बेच्न बजार जानुपर्ने दिदीबहिनी र विद्यालय जाने विद्यार्थीका लागि पुल निर्माणले सजिलो भएको तुलसीपुर–१४ का वडाध्यक्ष शंकर खड्काले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. नहकुल केसीले यो पुल अब बाँकीको विकासमा महत्वपूर्ण खुड्किलो बन्ने आशा व्यक्त गरे।
स्थानीय बासी चुर्णबहादुर चौधरीले विकासको महत्वपूर्ण खुड्किलो मानिने पुल निर्माण भएपछि वर्षामा बाँकीबासीले बबईमा आउने बाढीका कारण झेल्नुपर्ने सास्ती अन्त्य भएको बताए।
झोलुंगे पुल निर्माण समितिका अध्यक्ष बमबहादुर गिरीले पुल बनेपछि स्थानीयको जीवनयापनमा धेरै सहजता थपिएको बताए।