ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जलविद्युत क्षेत्रमा स्थिर ब्याजदरमा कर्जा प्रवाहको व्यवस्था गरिने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्।
उनले ग्रिन हाइड्रोजन पाइलट आयोजना मार्फत भविष्यको स्वच्छ ऊर्जा अर्थतन्त्रको आधार निर्माण गर्ने र स्वच्छ ऊर्जा बन्ड र डायस्पोरा बण्डमार्फत हरित तथा गैरआवासीय नेपालीको लगानी ऊर्जा क्षेत्रमा आकर्षित गरिने समेत बताएका छन्।
उनले हाल प्रतिव्यक्ति प्रतिघण्टा करिब ४५० किलोवाटको दरमा भइरहेको ऊर्जा खपत आगामी १० वर्षभित्र प्रतिघण्टा १,५०० किलोवाटमा पुर्याउने लक्ष्य रहेको उल्लेख गरे।
उनले अन्तर्देशीय विद्युत व्यापार विस्तारका लागि बुटवल–गोरखपुर, इनरुवा–पूर्णिया, ढल्केवर–मुजफ्फरपुर–सितामढी लगायतका प्रसारण लाइनलाई उच्च प्राथमिकतामा राखिएको समेत जानकारी दिए।
निर्माणमा नजाने र आयोजना ओगटेर बस्ने प्रवृत्तिविरुद्ध सरकार कठोर बन्ने चेतावनी दिँदै उनले वास्तविक लगानीकर्तालाई प्रोत्साहन गरिने बताए।
उनका अनुसार आगामी संसद् अधिवेशनमा विद्युत विधेयक तथा सिँचाइ विकाससम्बन्धी विधेयक पेश गर्ने तयारी भइरहेको छ।