नेपाल राष्ट्र बैंकका गर्भनर विश्वराज पौडेलले नेपालका आइटी कम्पनीलाई विदेशमा लगानी गर्न सहज बनाउन लागेको बताएका छन्।
अनुभवी आइटी व्यवसायीले बाहिरका देशमा लगानी गर्छु भनेर आउँदा राष्ट्र बैंकले सहजीकरण गर्ने उनको भनाइ छ।
वीरगञ्ज उद्योण वाणिज्य संघको ५० औं वार्षिक साधारण सभामा बोल्दै उनले विदेशी मुद्राको सञ्चिती राम्रो रहेकोले पनि त्यसो गर्न लागिएको बताए।
‘यहाँ आइटीमा लगानी गरेको छ, १०/२० जनालाई रोजगारी दिनुभाछ, भोलि अमेरिकामा लगानी गर्छु भन्ने योजना बन्यो भने सहज बनाउने तयारी गर्दैछौं,’ उनले भने, ‘किनकी हामीसँग विदेशी मुद्रा छ, त्यसका लागि विदेशमै बस्नुपर्छ भन्ने छैन, मसँग क्षमता छ। मैले यहाँ आइटी कम्पनी खोलेको थिएँ। माल्दिभ्समा १ लाख डलरको लगानी गर्छु अथवा अमेरिकामा ५ लाख डलरको लगानी गर्छु, भनेर कोही आए भने हामी त्यसलाई सकारात्मक रूपमा लिन्छौं।’
व्यवसाय गर्ने मानिसहरूलाई उदार भएर हेरेर नीति नियमहरू बनाउनुपर्ने उनको धारणा छ।
‘कलेजमा पढाएर व्यवसायी बनाउन सकिँदैन, व्यवसायी भनेको हण्डर खाँदै, ठक्कर खाँदै बन्छन्, कोही बाउ हजुर बाउको पालादेखि शिक्षा सिकेर पनि आउँछन्,’ गर्भनर पौडेलले भने, ‘हामीलाई व्यवसायीहरू चाहिन्छ, किनकी व्यवसायीहरूले कर तिर्छन्, अरूलाई जागिर दिन्छन्। सरकारले गर्नुपर्ने काम उनीहरूले गरिरहेका हुन्छन्। मानिसहरू व्यवसायीलाई किन गाली गर्छन् थाहा छैन, व्यवसायी नभई देश अगाडि बढ्दैन।’
कसैलाई जबर्जस्ती व्यवसायी बनाउन खोज्दा सफल नहुने बताउँदै उनले व्यवसाय बन्न गएको मानिसले एउटा गल्ती गर्दैमा थुन्ने, उठ्नै नदिने गर्न नहुने बताए।
‘व्यवसाय गर्नेहरूलाई अवसर दिनुपर्छ, कोही मान्छे सफल हुँदा ढुंगा हान्ने गर्न पनि हुँदैन, कसैले काम गर्दैगर्दा गल्ती हुन सक्छ, १० हजार, १५ हजार मानिसलाई काम दिने मान्छेले एउटा दुई वटा गल्ती गर्दा लिबरल हुुनुपर्छ,’ उनले भने।
उधारो कानुनका बारेमा गम्भीर रूपमा सोच्ने र कमभन्दा कम व्यवसायीलाई कालो सूचीमा रोक्ने उनको भनाइ छ।
‘चेक बाउन्सबाट, ऋण नतिरेकाले ब्ल्याक लिष्टमा पर्ने धेरै छन्, ब्ल्याक लिष्टमा राख्नै पर्ने कति हुन भनेर छोट्याउँदै छु, ब्ल्याक लिष्ट छोटो बनाउ भन्ने छ,’ उनले भने, ‘धेरै कडा गरेर, व्यवसायीलाई दुःख मात्रै दिएर वा थुनेर देश चल्दैन।’
देशको परिस्थितिका कारण एक पटक व्यवसायमा असफल भएका व्यक्तिलाई पुनः मौका दिँदा सफल हुन सक्ने उनको तर्क छ।
गर्भनर विश्वराजका अनुसार पर्सामा ८३ अर्बको बचत र ऋण प्रवाह ७७ अर्बको र मधेशमा ३९७ अर्ब बचत रहँदा ४ सय ८३ अर्ब ऋण प्रवाह भएको छ।