अधिकांश उपभोक्ताले टायल खरिद गर्दा टायलको रङ, डिजाइन र मूल्यलाई आधार बनाउँछन्।
तर आर्किटेक्ट, इन्जिनियर र टायल विशेषज्ञहरूले भने टायलको गुणस्तर मापन गर्ने पहिलो आधार वाटर अब्जर्सन अर्थात् टायलको पानी सोस्ने दर भएको बताउँछन्। किनभने विश्वभर गुणस्तरको मापन यही आधारमा हुन्छ।
डिजाइनले टायल कस्तो देखिन्छ भन्ने निर्धारण गर्छ भने पानी शोषण दरले टायलको भित्री संरचना, टिकाउपन र दीर्घकालीन कार्यक्षमताबारे संकेत गर्छ। त्यसैले प्राविधिक दृष्टिले टायलको गुणस्तर मूल्याङ्कन गर्दा पानी शोषण दरलाई अत्यन्त महत्वपूर्ण सूचक मानिन्छ। त्यसबाहेक टायलको संरचना, टिकाउपन, सुरक्षा पनि महत्वपूर्ण सूचक मानिन्छ।
टायलको शरीर जति खदिँलो हुन्छ, त्यसले त्यति कम पानी सोस्छ। कम पानी सोस्ने टायल बलियो, टिकाउ र दीर्घकालीन रूपमा भरपर्दो हुन्छ। यही कारणले अन्तर्राष्ट्रिय टायल उद्योगमा यो विशेषतालाई टायलको आधारभूत गुणस्तर मानिन्छ।
युरोपमा आइएसओ मापदण्ड, भारतमा बीआइएस र नेपालमा एनएएस ६१७:२०८२ ले पनि टायलको वर्गीकरण मुख्य रूपमा वाटर अब्जर्सनका आधारमा गरेका छन्। अर्थात् विश्वभर प्रयोग हुने गुणस्तर मूल्याङ्कनको एउटा साझा आधार यही हो।
कम पानी सोस्ने टायल किन राम्रो हुन्छ?
टायलको संरचनाभित्र जति कम पानी प्रवेश गर्छ, त्यति नै त्यसको आयु बढ्छ। कम वाटर अब्जर्सन भएका टायलमा ओस भित्रसम्म पुग्न सक्दैन। त्यसले दाग बस्ने सम्भावना कम हुन्छ, सफाइ सजिलो हुन्छ र सतह लामो समयसम्म आकर्षक देखिन्छ।
नेपालजस्तो मनसुनी मौसम, चिसो र गर्मीको ठूलो तापक्रम अन्तर भएको देशमा यो विशेष रूपमा महत्वपूर्ण हुन्छ। पटकपटक चिसो र सुक्खा हुने वातावरणमा अत्यधिक पानी सोस्ने टायलको भित्री संरचनामा समयसँगै असर पर्न सक्छ । त्यसैले मौसम परिवर्तनलाई सहन सक्ने डेन्स बडी भएका टायल दीर्घकालीन रूपमा बढी उपयुक्त मानिन्छन्।
बलियो टायलको रहस्य पनि यही हो
वाटर अब्जर्सन कम हुनु केवल पानीसँग सम्बन्धित विषय होइन। टायल कम पानी सोस्छ भने त्यसको संरचना बढी घना हुन्छ। डेन्स संरचना भएका टायल सजिलै टुक्रिदैनन् वा फुट्दैनन्। अर्थात् दैनिक प्रयोग, फर्निचर सार्ने, भारी सामान राख्ने वा धेरै आवतजावत हुने स्थानमा पनि चर्किने वा फुट्ने सम्भावना कम हुन्छ। त्यसैले बढी आवततजावत हुने एयरपोर्ट, होटल, सपिङ मल, अस्पताल र कार्यालय भवनमा प्रयोग हुने अधिकांश उच्च गुणस्तरका टायलहरू अत्यन्त न्यून वाटर अब्जर्सन भएका हुन्छन्। टायलको सतह कति चिप्लिन्छ, कति सजिलै कोरिन्छ, कति घिसिन्छ वा एन्टिब्याक्टेरियलजस्ता विशेष गुण हुन्छन् कि हुँदैनन् भन्ने कुरा भने सतहमा प्रयोग हुने ग्लेज, टेक्स्चर तथा सतह प्रविधिले निर्धारण गर्छ। यही कारण आजका पूर्ण भिट्रिफाइड टायलहरू पनि प्रयोग हुने स्थानको आवश्यकता अनुसार फरक–फरक सतह विशेषतासहित उत्पादन गरिन्छन्।
दाग किन बस्दैन?
धेरैजसो घरमा केही वर्षपछि चिया, कफी, तेल वा अन्य दागहरू टायलमै स्थायी देखिन थाल्छन्। यसको एउटा कारण टायलमा भएको छिद्रयुक्त संरचना हो। यदि टायलले धेरै पानी सोस्छ भने त्यही सूक्ष्म छिद्रमार्फत दाग पनि भित्र प्रवेश गर्न सक्छ। तर अत्यन्त कम वाटर अब्जर्सन र डेन्स भिट्रिफाइड टायल्समा यस्तो सम्भावना निकै कम हुन्छ। त्यसैले आधुनिक भान्सा, भोजन कक्ष, क्याफे, रेष्टुरेन्ट तथा प्रयोगशालामा कम छिद्रयुक्त टायल बढी प्रयोग गरिन्छ।
नेपालमा गुणस्तर कसरी छुट्याउने?
नेपाल गुणस्तर एनएस ६१७:२०८२ ले प्रेस्ड सेरामिक टायललाई वाटर अब्जर्सनका आधारमा विभिन्न समूहमा वर्गीकरण गरेको छ। यसमा अत्यन्त न्यून पानी शोषण भएका पूर्ण भिट्रिफाइड टायलदेखि १० प्रतिशतभन्दा बढी पानी शोषण गर्ने सेरामिक वाल टायलसम्मका वर्ग समावेश छन्। त्यसैले उपभोक्ताले टायल खरिद गर्दा बक्समा उल्लेख गरिएको समूह र प्राविधिक विवरण पनि हेर्नु उपयुक्त हुन्छ।
उदाहरणका रूपमा नेपालमै उत्पादित लामिनारका पूर्ण भिट्रिफाइड टायलको वाटर अब्जर्सन क्षमता ०.०८ प्रतिशत वा सोभन्दा कम रहेको कम्पनीले जनाएको छ। यस्तो स्तरको न्यून वाटर अब्जर्सन भएका टायलमा डेन्स बडी, उच्च बलियोपन, कम दाग बस्ने सम्भावना र लामो आयु अपेक्षा गरिन्छ।
विश्वको अभ्यास के छ?
आज विश्वभर टायलको विशेषताका आधारमा टायल छनोटको अभ्यास बढ्दो छ। आर्किटेक्ट र इन्जिनियरहरूले टायल छनोट गर्दा पहिले प्रयोग हुने स्थान निर्धारण गर्छन्, त्यसपछि पानी सोस्ने दर, स्लि रेसिस्टेन्ट, घर्षणलगायतका प्राविधिक सूचक हेर्छन्। त्यसपछि मात्र डिजाइन र रंग छनोट गरिन्छ। यही कारणले अहिले धेरै अन्तर्राष्ट्रिय परियोजनामा सस्तो टायल भन्दा गुणस्तरीय र उपयुक्त टायल भन्ने अवधारणाले स्थान पाएको छ। प्रारम्भिक लागत केही बढी भए पनि मर्मत खर्च कम हुने र प्रतिस्थापन गर्न ढिलो पर्ने भएकाले यस्तो छनोट दीर्घकालीन रूपमा किफायती मानिन्छ।