नेपालमा पहिलोपटक आयोजना गरिएको ४० औँ लिबर्टी इन्टरनेसनल विश्व सम्मेलन तीन दिनको अन्तर्राष्ट्रिय बहसपछि आइतबार काठमाडौंमा सम्पन्न भएको छ।
अगस्ट ७ देखि ९ सम्म आयोजना गरिएको सम्मेलनले व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता, उद्यमशीलता, लोकतान्त्रिक शासन, संविधान, सार्वजनिक नीति, खुला बजार, प्रविधि र डिजिटल स्वतन्त्रतामार्फत आर्थिक समृद्धिको सम्भावनाबारे विश्वव्यापी बहसलाई काठमाडौंमा केन्द्रित गरेको थियो।
‘Liberty Rising: Building Freedom in a Changing World’ भन्ने मूल अवधारणामा आयोजित सम्मेलनमा नेपालसहित विभिन्न देशका अर्थशास्त्री, लेखक, उद्यमी, नीति निर्माता, अनुसन्धानकर्ता, स्वतन्त्रता अभियन्ता तथा बौद्धिक व्यक्तित्व सहभागी भएका थिए।
आयोजकका अनुसार सम्मेलनमा करिब १०० जना नेपाली तथा ५० जना अन्तर्राष्ट्रिय सहभागी, वक्ता र प्रतिनिधिहरूको उपस्थिति थियो।
सम्मेलनको औपचारिक कार्यक्रमअघि अगस्ट ६ मा काठमाडौं टुर आयोजना गरिएको थियो भने अगस्ट ८ मा सहभागी तथा विशिष्ट अतिथिका लागि अफसाइट भीआईपी डिनर आयोजना गरिएको थियो।
पहिलो दिन: नेपालको राजनीतिक तथा आर्थिक रूपान्तरणमा बहस
सम्मेलनको पहिलो दिन नेपाल केन्द्रित राजनीतिक तथा आर्थिक विषयबाट बहस सुरू भएको थियो। लिबर्टी इन्टरनेसनलका बोर्ड सदस्य पेर बाइलुन्ड र ग्लेन क्राइपले व्यक्तिगत स्वतन्त्रता, उद्यमशीलता र खुला अर्थतन्त्रको महत्वबारे धारणा राख्दै नयाँ पुस्तामा स्वतन्त्र समाज र उद्यमशीलताको भावना विकास गर्नुपर्नेमा जोड दिए।
पहिलो दिनको प्रमुख सत्रमध्ये नेपाली लेखक तथा उद्यमी सुजीव शाक्यको ‘नेपालः राजनीतिक र आर्थिक रूपान्तरण’ विषयक प्रस्तुति विशेष रह्यो।
उनले नेपाललाई भारत र चीनबीचको भूपरिवेष्ठित मुलुकका रूपमा मात्र नभई दुई ठूला बजारसँग जोडिन सक्ने ‘ल्याण्ड कनेक्ट’ मुलुकका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
त्यसै दिन ‘संविधान कार्यान्वयनः चुनौती र सफलता’ विषयमा पनि छलफल भयो।
संघीयताको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, संस्थागत सुधार, सुशासन र राजनीतिक स्थायित्वबारे सहभागीहरूले धारणा राखे।
दोस्रो दिन : सम्पत्ति सिर्जना, उद्यमशीलता र कर नीतिमा बहस
सम्मेलनको दोस्रो दिन बहस नेपालको राजनीतिक विषयबाट बाहिर निस्किएर विश्वव्यापी आर्थिक स्वतन्त्रता, सम्पत्ति सिर्जना, उद्यमशीलता र बजार अर्थतन्त्रतर्फ केन्द्रित भयो।
विशेषगरी स्टार्टअप र नयाँ उद्यमले आर्थिक वृद्धिमा खेल्न सक्ने भूमिकामाथि वक्ताहरूले आफ्ना अनुभव प्रस्तुत गरे। नेपालमा पनि युवा उद्यमशीलता, लगानीको वातावरण, निजी क्षेत्रको विस्तार र उत्पादन बढाउन अनुकूल नीतिगत वातावरण आवश्यक रहेको विषय उठ्यो।
कर नीति र नवप्रवर्तनबीचको सम्बन्ध पनि सम्मेलनको महत्वपूर्ण विषय बन्यो। वक्ताहरूले अत्यधिक नियमन तथा करको बोझले नवप्रवर्तन र उद्यमशीलतालाई कमजोर बनाउन सक्ने भन्दै आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीतिको आवश्यकता औँल्याए।
तेस्रो दिन : डिजिटल युगमा स्वतन्त्रताको नयाँ बहस
सम्मेलनको अन्तिम दिनको बहस भने प्रविधि, डिजिटल स्वतन्त्रता र आधुनिक उद्यमशीलतामा केन्द्रित भयो।
नेपालको आर्थिक रूपान्तरणसँग जोडियो विश्वव्यापी स्वतन्त्रताको बहस
तीन दिनको सम्मेलनको समग्र बहसलाई हेर्दा आयोजकहरूले आर्थिक रूपान्तरण, उद्यमशीलता र डिजिटल स्वतन्त्रतालाई नेपालको भविष्यसँग जोडेर प्रस्तुत गरेका थिए।
नेपालका लागि लगानी वातावरण सुधार, निजी क्षेत्रको भूमिका विस्तार, युवा उद्यमशीलता, उत्पादन वृद्धि, नीतिगत स्थिरता, संस्थागत सुधार तथा प्रविधिमैत्री अर्थतन्त्र निर्माण महत्वपूर्ण विषयका रूपमा उठे।
विश्वका विभिन्न मुलुकबाट आएका सहभागीहरूले आ–आफ्ना देशका अनुभव प्रस्तुत गर्दा नेपालले आफ्नै आर्थिक र राजनीतिक सन्दर्भअनुसार ती अनुभवबाट सिक्न सक्ने अवसरसमेत सम्मेलनले दिएको आयोजकहरूको भनाइ छ।
सम्मेलनको मूल सन्देश व्यक्तिगत स्वतन्त्रता र आर्थिक स्वतन्त्रतालाई अलग–अलग विषयका रूपमा नभई उद्यमशीलता, नवप्रवर्तन, लोकतान्त्रिक शासन र समृद्धिसँग जोडिएको समग्र अवधारणाका रूपमा अघि बढाउनु रहेको देखिएको छ।
नेपालमा पहिलोपटक लिबर्टी इन्टरनेशनलको विश्व सम्मेलन आयोजना हुनुलाई आयोजकहरूले नेपालको स्वतन्त्रता, बजार अर्थतन्त्र र आर्थिक सुधारसम्बन्धी बहसलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।