सुनसरीको इटहरी उपमहानगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरबीच इटहरीका नागरिकलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ।
सम्झौता अनुसार इटहरीका स्वास्थ्य बीमा गरेका सेवाग्राही तथा विपन्न नागरिकले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा शल्यक्रिया सहितका विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीका नागरिकलाई उपचारमा सहज पहुँच र थप छुटको व्यवस्था गर्न नोबेल मेडिकल कलेजसँग सहकार्य गरिएको बताए।
नागरिकले उपचारका क्रममा आर्थिक भार कम महसुस गरून् र सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सम्झौता गरिएको उनको भनाइ छ।
त्यस्तै, इटहरी उपमहानगरपालिकाको सिफारिसमा उपचारका लागि आउने कोशी प्रदेशका बिरामीलाई समेत सम्झौतामा उल्लेखित उपचार सुविधा उपलब्ध गराइने सहमतिमा उल्लेख छ।