बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि बुटवल र भैरहवामा खुला रूपमा ग्यास वितरण गरिएको छ।
नेपाल आयल निगम, ग्यास विक्रेता संघ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा मंगलबार बुटवल र भैरहवामा खुला रूपमा ग्यास वितरण गरिएको हो।
मंगलबार स्वस्तिक, त्रिशूल, बुटवल, सिद्धार्थ, जानकी, सिद्धनाथ, लुम्बिनी, आरती लगायत ८ वटा कम्पनीका ८ सय सिलिन्डर बुटवलमा र ८ सय सिलिन्डर भैरहवामा वितरण गरिएको छ।
ग्यास विक्रेता संघ रूपन्देहीका महासचिव सूर्य खनालले बुटवलको बाल मन्दिर र भैरहवाको खाद्य संस्थानमा गरी मङ्गलबार १६ सय सिलिन्डर ग्यास वितरण गरिने बताए।
उपभोक्ताबाट ग्यास नपाएको गुनासो बढेपछि सहज बनाउन खुला रूपमा बिक्री वितरण गरिएको उनले बताए।
‘घरमा लगेर ग्यास स्टक गर्नेलाई होइन, जसको घरमा एउटा मात्र सिलिन्डर छ त्यस्ता उपभोक्ताहरू, विद्यार्थी, मजदुर, अशक्त, बिरामी, वृद्ध वृद्धालाई प्राथमिकता दिएर ग्यास वितरण गरिएको छ,’ उनले भने।
महासचिव खनालले ग्यास उद्योगहरूले पहिलेकै तुलनामा बजारमा ग्यास पठाइरहे पनि कतिपय उपभोक्ताहरूले घरमा स्टक गरेर राखेकोले ग्यासको अभाव देखिएको हुन सक्ने दाबी गरे।
‘यहाँका ग्यास उद्योगहरूको क्षमता र बजारको पहिलेको माग अनुसार अहिले पनि ग्यास उत्पादन भएर बजारमा गइरहेका छन्, यहाँको बजार माग ६५ प्रतिशत हो, त्यो अनुसार उत्पादन भइरहेको छ तर, यसरी किन अभाव भइरहेको छ बुझ्न सकिएको छैन,’ उनले भने।
खनालले ग्यास लगेर घरमा स्टक नराखून् भनेर वितरण स्थलमा खाली सिलिन्डर लिएर आउने उपभोक्ताको नागरिकता वा कुनै परिचय पत्र राखेर मात्र सिलिन्डर उपलब्ध गराएको बताए।
स्वस्तिक ग्यास उद्योगका सञ्चालक महेश पोखरेलले पनि उद्योगहरूमा पहिलेकै अनुपातमा उत्पादन भइरहे पनि ग्यासका बिक्री केन्द्रहरूमा उपभोक्ताको लाइन लागेको देख्दा बुझ्न नसकिएको बताए।
‘बजारमा सिलिन्डर बोकेर उभिनेहरूको लाइन हेर्दा चरम अभाव भएजस्तो देखिए पनि पहिले र अहिलेको आपूर्तिमा भने धेरै अन्तर छैन,’ उनी भन्छन्।
पोखरेलले विगत ३/४ महिनादेखि आधा भरिएका सिलिन्डर वितरण गर्दै आएकोमा एक महिनादेखि पूरै भरिएका सिलिन्डर वितरण सुरू गरिएपछि बजारमा झनै ग्यासको समस्या सिर्जना भएको बताए।
ग्यासका बिक्री केन्द्रहरूमा उपभोक्ताको लाइन लागेको देख्दा चरम अभाव भएजस्तो देखिए पनि पहिले र अहिलेको आपूर्तिमा धेरै अन्तर छैन।
‘अहिले बजारमा ग्यासको माग अत्यधिक बढेको देखिएको छ, किन यसरी माग बढ्यो भन्ने अध्ययनको पाटो होला उपभोक्तालाई यसरी अभाव हुन दिनु हुँदैन भनेर सरोकारवाला सबै क्षेत्रको समन्वयमा ग्यास वितरण थालिएको हो,’ पोखरेलले भने।
आयल निगमको समन्वयमा ग्यास वितरण गर्ने भनिएपछि बुटवल उपमहानगरपालिका अगाडि रहेको बाल मन्दिर र भैरहवाको खाद्य संस्थानमा मंगलबार बिहानैदेखि उपभोक्ताहरूको भीड लागेको थियो।
बुटवलको चर्को गर्मीको प्रवाह नगरी उपभोक्ताहरू छाता ओढेर भए पनि बिहानैदेखि खाली सिलिन्डर बोकेर लाइन लाग्न पुगेका थिए।
-1786432346.jpg)
-1786432345.jpg)
-1786432345.jpg)
-1786432345.jpg)
-1786432345.jpg)
-1786432346.jpg)
-1786432346.jpg)