समथर भूभागबाट एकैचोटि हिमाली भेगमा पुग्ने सबै यात्री सुरक्षित घर फर्किँदैनन्।
गत वर्ष मुस्ताङ पुगेका नौ विदेशी र दुई नेपालीसहित करिब एक दर्जन मानिस जीवित फर्किएनन्। लेक लागेर बिरामी भएपछि मृत्युवरण गर्न पुगे।
माउन्टेनियरिङ अर्थात् पर्वतारोहण क्रममा ८ हजार मिटरभन्दा अझै माथि पुग्दा ज्यान गुमाउनेको कथा फरक हुने नै भयो। तर करिब ३८०० मिटर उचाइमा रहेको मुक्तिनाथ यात्रा क्रममा समेत लेक लागेर बिरामी परेका यात्रीको ज्यान जाने क्रम निरन्तर छ।
हिमालयन उद्धार संघ नेपालका अनुसार यो वर्ष पनि उच्च हिमाली क्षेत्रमा तीर्थ वा पदयात्रा गर्न गएका करिब १२ जनाको मृत्यु भइसकेको छ।
अझै स्तब्ध पार्ने कुरा के छ भने, लेक लागेर बिरामी भएर मृत्यु हुनेमा एक जना नेपाली चिकित्सक पनि छन्।
गत चैतको अन्तिम साता संखुवासभाको मकालु आधार शिविर पदयात्रा गएका तनहुँको भिमाद वडा नम्बर २ का २७ वर्षीय डाक्टर आशिष सिग्देललाई करिब ४२०० मिटर उचाइ पुगेपछि लेक लाग्यो। उपचारका लागि तल झार्दै गर्दा उनको मृत्यु भयो।
के ती चिकित्सकलाई लेक लागेर बिरामी हुने जोखिम लक्षण र उपचारबारे जानकारी थिएन होला? तैपनि उनले आफ्ना मकालु आधार शिविर यात्रा किन जारी राखे?
उत्तर कसैलाई थाहा छैन।
'धर्मकर्म र रमाइलोका लागि धेरै नेपालीहरू छिटो छिटो हिमाली भेगमा जाने क्रम बढेको छ। तर हाम्रो बुझाइमा धेरै नेपालीहरूमा लेक लागेर गम्भीर बिरामी हुने जोखिमबारे जागृतिको एकदमै धेरै कमी छ,' हिमालयन उद्धार संघ नेपालका मेडिकल डाइरेक्टर डाक्टर बुद्ध बस्नेत भन्छन्, 'मोटरबाटोले गर्दा उचाइमा पुग्न सहज भएको छ। तर सामान्य मानिसको के कुरा, हाम्रा कैयौं डाक्टर साहेबहरूमा समेत लेक लाग्ने जोखिम वा उपचारबारे ज्ञानको कमी भएको देखियो।'
हालै मनाङको तिलिचो ताल (४९०० मिटर) पुग्दा उनी नेपाली ट्रेकरहरूको छिटो छिटो उचाइ चढाइ देखेर अचम्मित भएका थिए।
'नेपाली ट्रेकरहरू अत्यन्तै जोखिम लिएर माथि माथि गइरहेकाले त्यहाँ बेला बेलामा लेक लागेर मानिसको ज्यान जाने गरेको छ। बरू विदेशी ट्रेकरहरू लेक लाग्ने जोखिमबारे निकै जानकार र सावधान रहेको पाएँ,' उनले भने।
हिमाली यात्रामा लेक लाग्नबाट कसरी बच्ने?
सगरमाथा क्षेत्रको आमादब्लम हिमाल अगाडि देखिएका केही ट्रेकर। सगरमाथा आधार शिविर पुग्न लेकसँग अभ्यस्त हुन नाम्चे र दिङबोचे क्षेत्रमा केही दिन आराम गर्नुपर्छ। तस्बिरः सुरेन्द्र फुयाल
विज्ञहरूका अनुसार समुद्र सतह नजिकै बस्ने मानिसलाई काठमाडौंको १३०० मिटरदेखि नै हल्का लेक लाग्न सक्छ। करिब २५०० मिटर उचाइबाट चाहिँ लेक लाग्ने समस्या गम्भीर हुन सक्छ।
त्यसैले डाक्टर बस्नेत भन्छन्, 'तपाईं माथि माथि उकालो लाग्दै हुनुहुन्छ भने २७०० मिटर (करिब शिवपुरी शिखरको उचाइ) देखि माथि पुगेपछि दिनमा करिब ५०० मिटरभन्दा माथि गएर सुत्नु हुँदैन।'
तल्लो भेगबाट मोटरमा वा विमानमा एकैचोटि मनाङ (३५०० मिटर) वा नाम्चे बजार (३४०० मिटर) पुग्नुभएको छ भने लेक लाग्ने जोखिम ह्वात्तै बढ्छ। ती उचाइबाट अझै माथि जाने ट्रेकरलाई विज्ञहरूले त्यस क्षेत्रमा एक वा दुई रात बिताएर मात्र अझै माथिल्ला भूभागमा जाने सल्लाह दिने गरेका छन्।
करिब ३५०० मिटर वा त्यसमाथिको उचाइमा मदिरा वा धेरै बियर पिएका कैयौं बलिया ट्रेकरलाई लेक लागेर उद्धार गर्नुपरेका उदाहरण धेरै छन्।
डाक्टर बस्नेत भन्छन्, 'माथि जाँदा फोक्सोले अक्सिजन तान्ने क्षमता कम हुँदै जान्छ। त्यसैले आरामले सास फेर्दै र पर्याप्त पानी पिउँदै अघि बढ्नु उत्तम हुन्छ। धेरै माथि लेकमा पुगेपछि केही तल झरेर सुत्नु अझै सुरक्षित हुन्छ।'
लेक लाग्दा हुने बिमारीहरू
अन्नपूर्ण आधार शिविर पुग्दा धेरै ट्रेकरलाई 'एएमएस' जस्तो लेक लाग्ने बिमारीका लक्षण देखिइसकेका हुन्छन्। तस्बिरः सुरेन्द्र फुयाल
तराई–मधेस वा बेँसीबाट एकैचोटि माथिल्लो भूभागमा पुग्दा मानिसलाई मुख्य गरी तीन किसिमका शारीरिक समस्या देखा पर्छन्।
पहिलो समस्या हो छोटकरीमा 'एएमएस' भनिने एक्युट माउन्टेन सिकनेस (Acute Mountain Sickness – AMS) अर्थात् लेकमा हुने बिमारी। उचाइ चढ्दै जाँदा अक्सिजनको चाप घट्न थाल्छ र फोक्सोमार्फत रगतमा अक्सिजको कम हुन थाल्छ।
अग्लो उचाइमा पुगेको केही घन्टापछि हल्का टाउको दुख्ने, लामो सास तान्नुपर्ने, धेरै थकान हुने र निद्रा कमजोर हुने लक्षण देखिन थाल्छन्।
'यस्तो बेला बिरामीलाई धेरै टाउको दुख्यो वा बान्ता भयो भने तत्काल तल झारिहाल्नुपर्छ,' डाक्टर बस्नेत भन्छन्, 'नटेरेर साथीभाइको दबाबमा परेर अझै माथि चढ्दा जोखिम झनै बढ्न जान्छ। बिरामीको अवस्था झनै चिन्ताजनक हुन सक्छ।'
दोस्रो हो छोटकरीमा 'हेस' भनिने हाई अल्टिच्युड सेरिब्रल इडिमा (High Altitude Cerebral Edema–HACE) अर्थात् गिदीमा पानी जम्ने अवस्था।
विज्ञहरूका अनुसार एएमएसबाट पीडित भइसकेको बिरामी टाउको दुखाइ र बान्ताको निदान नगरी अटेर गरेर अझै माथिल्लो उचाइमा गएको अवस्थामा हालत झनै बिग्रिन थाल्छ र हेसका लक्षण देखिन थाल्छन्।
हेस हुँदा चरम थकानबाट पीडित बिरामी हिँड्दा लड्बडाउन थाल्छ र दिमागले राम्रोसँग काम गर्न छोड्छ। यति बेला बिरामीको गिदीका कोशिकाहरुमा पानी जम्न थाल्छ र बेहोस भएर कोमामा पनि जान सक्छ।
हिमालयन उद्धार संघका विज्ञहरू भन्छन् — यस्तो भएका बिरामीलाई तत्कालै जतिसक्दो तल झार्नुपर्छ वा हेलिकप्टरमार्फत उद्धार गरिहाल्नु पर्छ।
तेस्रो हो 'हेप' भनिने हाई अल्टिच्युड पल्मोनरी इडिमा (High Altitude Pulmonary Edema –HAPE) अर्थात् फोक्सोमा रगत वा पानी उत्पन्न हुने जटिल अवस्था। विज्ञहरूका अनुसार लेक लाग्ने बिमारीमा एएमएस हुँदा टाउको दुख्ने र बान्ता हुने लक्षण नदेखिएका मानिसमा पनि हेप देखिन सक्छ।
उकालो चढ्न धेरै गाह्रो हुनु, धेरै थकान र कमजोरी हुनु र लगातार सर्दीको जस्तो खोकी लागिरहनु हेपका लक्षण हुन्। यस्तो अवस्थामा अझै माथि उकालो चढ्दा बिरामीले आराम गर्दा पनि सास फेर्न गाह्रो हुने अवस्था आउँछ। अवस्था बिग्रिएपछि खकारमा पानी रगतका छिटा पनि देखिन सक्छन्।
यस्ता बिरामीलाई छिटोभन्दा छिटो तल झारिहाल्नुपर्छ।
लेकसँग कसरी अभ्यस्त हुने?
अन्नपूर्ण दक्षिण अगाडि देखिएका दुई ट्रेकरहरू। तस्बिरः सुरेन्द्र फुयाल
विज्ञहरू प्रस्ट छन् — यदि तपाईं उच्च हिमाली भूभाग जाँदै हुनुहुन्छ भने सबभन्दा पहिले उचाइसँग अभ्यस्त (Acclimatised) हुँदै बिस्तारै उकालो लाग्नुपर्छ। सगरमाथा आधार शिविर (५३०० मिटर) जाँदै हुनुहुन्छ भने तपाईंले नाम्चे बजारमा दुई रात र दिङ्बोचे (४४०० मिटर) मा दुई रात बिताएर मात्रै माथिल्लो भूभागको यात्रा थाल्नुपर्छ।
लेक लाग्ने समस्या तल लुक्ला (२८०० मिटर) बाटै सुरू हुन सक्छ।
मनाङबाट मुस्ताङ पुग्न थोरांग्ला पास (५४०० मिटर) जाँदै हुनुहुन्छ भने मनाङ र माथिका लेकमा पूरै अभ्यस्त हुँदै अघि बढ्नुपर्छ।
त्यसो गर्दा पनि थोरै राति टाउको दुख्ने र निद्रा पातलो हुने सम्भावना कायमै रहन्छ। बाहिरबाट हावा आउने झ्याल ढोका बन्द हुँदा र कोठाभित्र धुँवा भएमा अवस्था झनै गम्भीर बन्न सक्छ। त्यसैले कोठाभित्र स्वच्छ हावा आउने सुनिश्चित गर्नुपर्छ।
राति सुत्ने स्थानको उचाइ दिउँसो उकालो चढेर आरोहण गरिएको उचाइभन्दा केही सय मिटर कम हुनुपर्छ।
यदि गोसाइँकुण्ड (४३०० मिटर) उक्लँदै हुनुहुन्छ भने लौरीबिना (४००० मिटर) वा त्योभन्दा तल रात बिताउनु उत्तम हुन्छ।
मेलाका बेला हुलका हुल मानिस छिटो छिटो गोसाइँकुण्ड पुग्ने हुँदा त्यहाँ लेक लागेका वा हेस भएका तीर्थारूलाई उपचार गर्न बर्सेनि त्यहाँ स्वास्थ्य शिविर नै खडा गरिन्छ।
डाक्टर बुद्ध बस्नेत भन्छन्, 'गोसाइँकुण्ड पुगेर मानिस प्रायः एक रात बस्छन्। तर कसैले त्यहाँ दुई रात बिताए भने गम्भीर बिरामी पर्नेको संख्या अझै बढ्न सक्छ।'
लेक लागिहालेमा के, कस्तो उपचार गर्ने?
सगरमाथा आधार शिविर ट्रेकिङ गर्न बर्सेनि दसौं हजार देशी–विदेशी पदयात्रीको धुइरो लाग्छ। तस्बिर: सुरेन्द्र फुयाल
हिमाली उद्धारबारे जानकार डाक्टरहरूले उच्च हिमाली क्षेत्रमा जाने मानिसलाई लेक बिमारी देखिए जति सक्दो तल झार्ने सुझाव दिने गर्छन्। रोकथाम वा उपचार गर्नुपरे दुई प्रकारका औषधि सिफारिस गर्ने गरेका छन् – Diamox (Actazolamide) (डायमोक्स वा जोलामाइड) र Dexamethasone (डेक्समेथासोन)।
तल्लो भेगबाट उद्धारका लागि माथि खटिने मानिसलाई पनि डायमोक्स सिफारिस गरिएको छ।
लेक लाग्ने बिमारी रोकथाम र उपचारका लागि डायमोक्स निकै प्रभावकारी पाइएको छ। हिमालयन उद्धार संघ नेपालको वेबसाइट अनुसार दिनमा दुई पटक १२५ मिलिग्राम डायमोक्स चक्की खाएमा पिसाबमा अल्कलाइ बढ्छ र रगतमा अम्लियपन बढ्न जान्छ। त्यसले गर्दा सास फेर्न सहज हुन्छ।
तर डाएमोक्सले औषधिजन्य एलर्जी भएकालाई थप असर गर्न सक्ने चेतावनी दिइएको छ। धेरै पिसाब लाग्नु र हातका औंला थोरै झमझम हुनु यसको सामान्य असर हुन्।
डेक्समेथासोन चाहिँ निकै दुर्गम भूभागमा जाने ट्रेकरलाई सिफारिस गरिन्छ। यसले हेसको असरका कारण गिदीमा पानी जम्मा हुन थालेर बोल्न र सिधा हिँड्न कठिन हुने अवस्थामा पुगेका गम्भीर बिरामीको जीवन बचाउन सहयोग गरेको पाइएको डाक्टर बस्नेतको भनाइ छ।
हेसका कारण कोमामा पुगिसकेका बिरामीलाई यो औषधिको ८ मिलिग्राम ट्याब्लेट वा इन्जेक्सन दिँदा फाइदा पुग्ने गरेको छ।
पर्वतारोहीले समेत प्रयोग गर्ने डेक्समेथासोन एएमएस वा हेस रोकथामका लागि समेत प्रयोग गरिन्छ। त्यसका लागि दिनको दुई पटक ४ मिलिग्राम तीन दिनसम्म खानु पर्याप्त हुनसक्ने पाइएको छ।
तिलोचो, थोरांग्ला पास वा सगरमाथा आधार शिविर क्षेत्रमा हेस वा हेपका कारण कोही बिरामी ढलिहाल्यो भने के गर्ने?
डाक्टर बुद्ध बस्नेतका अनुसार यस्तो बेला औषधि सेवनका अतिरिक्त 'हाइपरब्यारिक ब्याग' (Hyperbaric (Gamow) Bag) भनिने हावा नछिर्ने नाइलनको ब्याग हेस वा हेपका बिरामीको जीवन बचाउन अति नै सहयोगी पाइएको छ।
सात फिट लामो यो ब्याग हेर्दा डफल ब्याग जस्तै देखिन्छ। यसमा खुट्टे पम्पले हावा भरेपछि यो ससेज आकारको बेलुन जस्तै देखिन्छ। भित्र कार्बनडाइअक्साइड थुप्रिन नदिन भल्भ जडान गरिएको यो ब्यागमा केही पारदर्शी भाग हुन्छ जहाँबाट बिरामीसँग इशाराले कुराकानी गर्न सकिन्छ।
यो ब्यागभित्र बिरामीलाई हाल्ने बित्तिकै केही हजार मिटर तल झारिएको अवस्थामा जस्तै सहज रूपमा सास फेर्न सम्भव हुन्छ।
डाक्टर बस्नेत भन्छन्, 'डेक्समेथासोनले जस्तै हाइपरब्यारिक ब्यागले पनि गम्भीर बिरामी बचाउन नाटकीय परिणाम देखाउने गरेको छ। केही घन्टा ब्यागभित्र बसेपछि धेरै फाइदा हुन्छ। तर बिरामीलाई पूरै निको तुल्याउने हो भने तल्लो भूभागमा झारेर थप उपचार थालिहाल्नु पर्छ।'
विज्ञहरू भन्छन् — उच्च हिमाली भेगमा मानिस बिरामी हुने प्रमुख कारण हो हतार हतार उकालो चढाइ र खानपानमा चरम लापरबाही।
अनि त्यस क्रममा केहीको ज्यानै जाने अवस्था उत्पन्न हुनुको प्रमुख कारण हो— नेपालका उच्च हिमाली भेग प्रायः दुर्गम क्षेत्रमा रहनु। ती स्थानमा आवश्यक स्वास्थ्य पूर्वाधार र अक्सिजन सिलिन्डर जडित बास बस्ने स्थान अभाव, भनेका बेला एम्बुलेन्स वा एयर–एम्बुलेन्स सेवा सम्भव नहुनु।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal