प्रधानमन्त्री बालेन शाहले गत चैत १३ गते सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि दिएका थिए।
सुरूका चार दिन शिक्षा मन्त्रालयमा केन्द्रित पोखरेलले चैत १७ गते नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको निरीक्षण भ्रमण गरेका थिए। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको परिषदले ८० प्रतिशतभन्दा बढी काम गर्छ।
नेपाली खेलकुदका अधिकांश काम गर्ने यति महत्त्वपूर्ण निकायमा मन्त्री पोखरेल निरीक्षणमा आउँदा अंग्रपंक्तिमा देखिएका थिए, सिद्धि व्यञ्जनकार।
त्यसयता उनी लगातार खेलकुदका कार्यक्रमहरूमा सक्रिय रहँदै आएका छन्।
यसरी नयाँ सरकार गठन भएयता खेलकुद कार्यक्रमहरूमा सक्रिय देखिएका व्यञ्जनकारको भूमिका र जिम्मेवारी के हो भन्ने प्रस्ट छैन। उनलाई खेलकुद मन्त्रालयले कुनै भूमिकामा औपचारिक रूपले नियुक्त पनि गरेको छैन।
मन्त्री पोखरेलको सचिवालयले व्यञ्जनकारलाई सल्लाहकार नियुक्त गरिएको पुष्टि गरेको छ।
व्यञ्जनकारलाई कुनै सुविधा नलिने गरी मन्त्रालयको सल्लाहकार नियुक्त गरिएको सचिवालयको भनाइ छ।
सिद्धि व्यञ्जनकार (कोटभित्र कालो टिसर्ट)
हामीले खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव रामचरित्र मेहतासँग पनि यसबारे कुरा गरेका छौं।
हामीले उनलाई सोध्यौं, 'सिद्धि व्यञ्जनकार खेलकुद परिषदका कार्यक्रममा सहभागी भइरहनुभएको छ, उहाँको भूमिका के हो?'
मेहताले जबाफ दिए, 'यो विषयमा उहाँलाई नै सोध्नुहोस्।'
हामीले प्रतिप्रश्न गर्यौं, 'उहाँ सम्पर्कमा आउन चाहनुभएन। खेलकुदको कार्यकारी भूमिकामा रहनुभएकाले तपाईंलाई थाहा हुन्छ होला नि?'
मेहताले त्यसपछि भने, 'मैले बुझेसम्म उहाँ खेलकुद मन्त्रालयको एउटा जिम्मेवारीमा हुनुहुन्छ।'
उनले अगाडि थपे, 'खेलकुद मन्त्रालयको ८० प्रतिशत काम खेलकुद परिषदमै छ। उहाँ यता आउनुहुन्छ, छलफल गर्नुहुन्छ। उहाँ सल्लाहकार भएको हिसाबले परिषदमा आउनुहुन्छ। तर हाम्रो कानुनी दायरा छ। सल्लाह दिनेले दिनुहुन्छ। हामी कानुनको परिधिभित्र बसेर काम गर्छौं। त्यस्तो हस्तक्षेप छैन।'
हामीले यसबारे कुरा गर्न सिद्धि व्यञ्जनकारलाई पटक पटक टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्। त्यसपछि हामीले उनलाई तीन वटा प्रश्नसहित मेसेज पठायौं —
- तपाईं खेलकुद मन्त्रालयमा सक्रिय भूमिकामा हुनुहुन्छ भन्ने परिषदकै अधिकारीहरूले बताएका छन्। यसबारे तपाईं के भन्नुहुन्छ?
- के तपाईंले सल्लाहकार वा अरू कुनै पदमा नियुक्ति लिनुभएको हो?
- प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनको दाइ भएकाले यो जिम्मेवारी पाउनुभएको हो?
व्यञ्जनकारले जबाफ पठाएका छैनन्।
प्रधानमन्त्री बालेन शाहका राजनीतिका सल्लाहकार कुमार बेन (व्यञ्जनकार) का आफ्नै दाइ सिद्धि खेलाडी हुँदै प्रशिक्षक भएका व्यक्ति हुन्। उनले खेलाडी जीवनपछि कुपण्डोलको ए डिभिजन क्लब फ्रेन्ड्स क्लबको प्रशिक्षक भएर काम गरेका थिए।
राष्ट्रिय खेलकुद परिषदले यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो निर्देशन विपरीत निर्वाचन गर्न लागेको भन्दै तीन महिनाका लागि निलम्बन गरेको थियो।
त्यसपछि विवाद मिलाउन व्यञ्जनकारले भूमिका खेलेको बताइन्छ। साथै, उनलाई एन्फा निलम्बन भएपछि सरकारले गठन गर्ने समितिको जिम्मेवारी दिने चर्चा पनि चलेको थियो।
उनी मन्त्रीसँगै पहिलो दिन त्रिपेरश्वरस्थित कार्यालय, सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसर भ्रमणमा देखिएका थिए। त्यसपछि एसियली बीच गेम्समा सहभागी हुने कुस्ती र कबड्डी टोलीको एक कार्यक्रममा पनि देखिएका थिए।
उनले खेलाडीहरूलाई खादा लागाइदिएको तस्बिर राष्ट्रिय खेलकुद परिषदले सार्वजनिक गरेको थियो।
व्यञ्जनकारको सक्रियतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खेलकुद विभाग भने खुसी छैन। विभागका एक सदस्यले खेलकुदको विषयमा मन्त्रीले कुनै समन्वय नगरेको सेतोपाटीलाई बताए।